शिक्षक कक्षा कोठामा प्रवेश गर्दछन् । पाठको शीर्षक बोर्डमा लेख्छन् ।
तत्कालै विद्यार्थीको एउटा प्रश्न जोडले आउछ – सर, यो जाँचमा आउछ ? आउँदैन भने यो नपढौं । आउने मात्र छानेर पढौं !
अनि शिक्षकको जवाफ हुन्छ– यो कहिलेकाँही सोध्छ, त्यति इम्पोर्टेण्ट छैन !
कक्षा कोठाको एकदिनको कुनै पाठमा आधारित सवाल जवाफ हो यो । हामी कस्तो शिक्षा दिन्छौं ? विद्यार्थीले के खोजेका छन् ? पाँच वर्ष भित्रको प्रश्नको संगालो (कोइस्चन बैंक) हेर्ने हो भने उही दोहोरिएको धेरै पाइन्छ । त्यहि पुरानै प्रश्न सोधिरहने हो भने उही प्रश्न बैंक मात्र छलफल गरे हुन्छ । किन पाठ्यक्रम वा पुस्तकबाट जाने भन्ने सवाल दह्रैरुपमा उठेको छ ।
एकथरी भन्ने गर्छन् । उही पाठ्यक्रम, उही पाठ्यपुस्तक, उही ग्रिड, उस्तै मोडल अनि एउटै प्रश्न किन नहुने । यस्ता विषयले समय लिने गरेको छ, हाम्रो शिक्षामा । शैक्षिक उपलब्धीतर्फ ध्यान कम गएकै हो । सीपमा सुधार पटक्कै छैन । निश्चित प्रश्नको लेखाएको, घोकाएको निश्चित जवाफ बाहेक शिक्षा अरु नबन्ने दिन टाढा छैन ।
अर्कोतर्फ अब फेल कोही हुन्न । कुनै न कुनै विषयमा विद्यार्थीले राम्रो गर्न सक्छ । जुनमा राम्रो गर्छ, त्यही विषय मात्र विद्यार्थीले सिके पुगिहाल्छ । सबै विषयको ठेक्का किन लिने वा दिने भन्ने अर्को विषय बनेको छ । हालको फेल नगरिने लेटर ग्रेडिङ्ले झनै पढाई भताभुङ्ग बनायो, हिजोकै प्रतिशत र डिभिजन राम्रो, त्यो त कामै भएन भन्ने पनि हामीले भेटेका छौं ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षालाई थप मर्यादित, व्यवस्थित र प्रभावकारी नतिजा दिनमा गम्भीर रहेको बताउँछ । हालै बोर्डले देशका सातै प्रदेशमा परीक्षा केन्द्रित गोष्ठी सञ्चालन गरेको छ । गत पौष २७ गते शुक्रबार काठमाडांैमा यिनै विषयमा केन्द्रित रहेर एकदिने गोष्ठी सम्पन्न भयो । गोष्ठीमा मोफसललाई झिनो सहभागी गराइए पनि उपत्यकाका नाम चलेका ठूला कलेज र कलेज सञ्चालकहरुको संगठनका नेताहरुको उल्लेख्य सहभागिता थियो । विषयवस्तु राम्रा थिए । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले उद्देश्य, योजना र कार्यक्रमबारे सटिक धारणा राख्नुभयो । अर्का प्रा.डा. गणेश बहादुर सिह सरले कार्यक्रम प्रस्तुति गरी विषयवस्तुको प्रवेश गराउनु भयो । छ वटा शीर्षकमा छ वटै समूहबाट छलफल र धारणा राख्ने अवसर दिइएको उक्त कार्यक्रममा विद्यमान परीक्षा पद्धति, सर्टिफिकेशन, कटअफ स्कोर तथा टेस्टिङ र मूल्याड्ढन जस्ता सान्दर्भिक विषयको उठानले मात्र पनि एकदिने गोष्ठी सार्थक नै रह्यो भन्न सकिने थियो ।
१. विद्यमान प्रश्न निर्माण शैली बदल्नु पर्छ । पाँच बर्षे प्रश्न बैंकबाटै प्रश्न निकालेर परीक्षा लिने प्रणाली फेर्नै पर्ने निष्कर्षमा परीक्षा बोर्ड पुग्दैछ । तोकिएको पाठ्यक्रमको पाठ्यपुस्तकमा आधारित रही विद्यार्थीको सिर्जनात्मक मौलिकपन तर्क र तथ्यमा आधारित जवाफबाट उच्च मूल्यांकन गर्ने परीक्षा सञ्चालन गर्न सुझाव लिने दिने काम भएको देखियो ।
२. पाठ्यपुस्तक तथा नोटबुकको निश्चित जवाफ सार्ने प्रणालीको अन्त्य गरी प्रश्नले परीक्षार्थीको दिमागमा खोतलेर गहिराइबाट जवाफ टिप्ने विधिमा जानुपर्ने अवस्था महसुस भएको छ ।
३. ‘कटअफ स्कोर’को जरुरी छ । यो बोर्डर लाइन हो । विद्यार्थीको स्तर प्रदर्शन गर्न निश्चित अंक तोक्नैपर्छ । अझ सैद्धान्तिक र प्रयोगात्मक जोडेर ग्रेडिङ होइन, अलग अलग ग्रेडिङ गर्नु राम्रो हुन्छ । अहिलेको अभ्यासले कक्षा १० वा १२ को विद्यार्थीको नतिजामा सैद्धान्तिकमा ‘ई’ ग्रेड र प्रयोगात्मकमा ‘ए प्लस’ हुनु कदापि राम्रो होइन । यो सन्तुलित बन्नुपर्छ, बनाउनु पर्छ ।
४. वस्तुगत सवालमा मार्किङ गर्न सरल हुन्छ । तर, विषयगत जवाफमा भने अधिकांश हचुवामा मार्किङ भएका छन् । उत्तर पढेर कुन कुरामा अंक दिनुपर्ने वा नपर्नेमा परीक्षकको ध्यान छैन । सकेसम्म छिटो कपी संख्या धेरै परीक्षण गर्ने प्रतिस्पर्धा व्यवहारमा देखाइएको छ । यो विधिमा सुधार नहुने हो भने धेरै विद्यार्थी पीडामा पर्न सक्छन् । कक्षा १० को मार्किङ स्किम बनाएर परीक्षण गर्न पठाउँदा पनि समस्या छ भने, कक्षा ११ र १२ को हकमा मार्किङ स्किमको अभावमा ज्यादा हचुवामा मार्किङ भएकाले थप समस्या देखिएको छ । उत्तरपुस्तिकाको परीक्षण स्थलको बसाई र परीक्षकको अवस्थाबारे थप गम्भीर बन्नुपर्ने वर्तमानले सावित गरेको छ ।
५. कक्षा ९ र १० को हकमा विद्यार्थीले जस्तो ग्रेड हासिल गरेको छ सो बमोजिमको प्रमाणपत्र दिइने गरेको छ । तर, कक्षा ११ र १२ को हकमा डी प्लस भन्दा तलका ग्रेड ल्याउने विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको छैन । यो प्रणालीमा परिवर्तन गरी विद्यार्थीको जे जस्तो अवस्थाको उपलब्धी छ सो को प्रमाणपत्र उपलब्ध गराउनु राम्रो हुन्छ । पाँच विषयमध्ये कुनै तीनमा डी वा ई र बाँकी दुईमा बी वा ए पनि हुनसक्छ । यस्तो परीक्षार्थीले आफ्नो दख्खल राम्रो रहेको विषयमा अगाडि बढ्ने बाटो खोल्नुपर्छ । सबै विषयको राम्रो ग्रेड त आधारभूत ज्ञान हो, त्यही तहमा मात्र मापन गरिनुपर्छ ।
६. मौका परीक्षाको शीर्षकलाई बढी मजाक बनाएर जति विषय पनि दिन पाउने, ग्रेड बढाउन सकिने नाममा यस्तो परीक्षाकै उपहास गरिने हालको अवस्था अविलम्ब अन्त्य हुनुपर्छ । मौकाको अर्थ अनुसार नै सबै परीक्षा राम्रो भएको तर, कुनै एउटा विषय शारीरिक अस्वस्थता, दुर्घटना वा घरमा कसैको मृत्युको कारण जस्ता घटनाले गर्दा परीक्षामा सहभागी हुन नसकेको वा भएर पनि कारणबश लेख्न नसकेको अवस्थामा एउटा मात्र विषय अरु विषयमा राम्रो गरेको शर्तमा स्पष्ट कारण खुलाएर मौका परीक्षाको अवसर दिन सकिन्छ । हालको मौका परीक्षाको गाईजात्राले परीक्षाकै उपहास भएको छ ।
७. समयमा नतिजा दिनु अर्को महत्वपूर्ण पक्ष हो । विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन, परीक्षा कार्यक्रम र नतिजा प्रकाशनको तिथिमिति शैक्षिक सत्रको प्रारम्भमा नै तोक्नुपर्छ । जसले गर्दा तोकिएको सेड्युल अनुसार सम्बन्धित शिक्षक विद्यार्थी समयमा नै एलर्ट हुने बानि नै बस्छ । अनावश्यक झमेला आई परीक्षार्थीले दुःख पाउनु हुदैँन भन्नेमा परीक्षा बोर्ड सजग बन्नैपर्छ । क्यालेण्डर निर्माण मात्र ठूलो कुरा होइन, उक्त क्यालेण्डर अुनसार चल्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो ।
८. लेटर गे्रडिङ वैज्ञानिक प्रणाली हो भन्नेमा विमति छैन । विकसित राष्ट्रले लेटर ग्रेडिङ नै अपनाएका छन् । हाम्रो सन्दर्भमा यस प्रतिको धारणा कमजोर छ । शिक्षक नै लेटर ग्रेडिङलाई हतारमा प्रतिशतमा लाने र डिभिजनको प्रस्तुति गरि हाल्ने प्रतिस्पर्धामा देखिन्छन्, जुन त्रुटीपूर्ण छ । सामान्यतया जीपीएलाई पच्चीसले गुणा गरी प्रतिशत र डिभिजन भन्नु सबै अवस्थामा सही छैन र उपयुक्त होइन । यो लेटर ग्रेडिङबारे शिक्षकमै अन्यौल देखिन्छ । सर्वप्रथम त शिक्षक स्पष्ट बने पछि मात्र विद्यार्थी, अभिभावक र अन्य सरोकारवर्ग प्रष्ट हुन्छन् । यो पद्दतिबारे जाँगर लाएर बुझाउन जरुरी छ । हाल धेरै अन्यौल छरपष्ट भएका छन् । यो तत्काल समाधान गर्ने विषय बनेको छ । यो सँगै शैक्षिक स्तरीयता र विद्यार्थीले चाहेको रोजेको विषय पढ्न ए वा ए प्लस अर्थात् तीनभन्दा माथिको जीपीए जरुरी छ भन्ने सन्देश दिन सक्नुपर्छ । कट अफ स्कोरको अनिवार्यताको कारण पनि यही स्तरीयतासँग जोडिएको छ । यी तथ्यहरु सर्वप्रथम सबै शिक्षकमा स्पष्ट हुनैपर्छ ।
९. परीक्षाको समग्र प्रणाली प्रविधिसँग जोडिनु पर्दछ । गोपनियता कायम गर्नुपर्ने भागलाई निश्चित पासवर्ड राखेर परीक्षा बोर्डले स्वयम् गोप्य गर्न सक्छ । बाँकी सामग्री र विधिबारे आफ्नो वेबसाइटमा राखेर सुसूचित गराउनु जरुरी छ ।
१०. विद्यार्थीको मूल्यांकनलाई हलुका कदापि मान्नु हुदैन । हाल एक वर्ष सिकेका कुराको बढीमा तीन घण्टाको औजारबाट परीक्षण गरिन्छ । त्यो पनि व्यवहारमा होइन, पेपर पेन्सिल टेष्टबाट । यो मूल्यांकनको मूल औजार परीक्षा प्रणालीमा राम्रो खिया लागेकाले यसलाई उज्यालो र धारिलो बनाउन बोर्ड सक्रीय बन्नैपर्छ । प्राथमिक तहमा लागू गरिएको निरन्तर विद्यार्थी मूल्यांकन (क्यास) प्रणाली झनै नाम मात्रको भएको छ । यस्तो प्रयोगात्मक भनिएको परीक्षा मात्र कागजमा सिमित छ, व्यवहारमा यो पनि मूल्यांकनको सही दायरामा आएको छैन । क्यास तथा प्रयोगात्मक परीक्षाको व्यवहारिक पक्ष र मूल्यांकन विधिमा व्यापक परिवर्तन जरुरी छ र यी भिन्न विषय बनाएर अलग विश्लेषण सहित चिन्तन गरिनु पर्दछ ।
११. कुनै पनि परीक्षार्थीको परीक्षा स्वयम् उसले हासिल गरेको सम्बन्धित तह र कक्षाको सिकाइ उपलब्धीको परीक्षण हो । तसर्थ विद्यार्थी मूल्यांकन वर्तमान युगानुकूल प्रविधिसँग जोडेर अन्तर्राष्ट्रिय अभ्याससँग मेल खानेगरी निर्माण गरिनु पर्दछ । मूल्यांकनको औजार कमजोर र परम्परागत रहेमा सिकाइ कमजोर हुने र प्रतिष्पर्धात्मक दुनियामा हाम्रा विद्यार्थी पछाडि पर्ने तथ्य स्पष्ट छ ।
परीक्षा बोर्डको भावना, मर्म र उद्देश्य राम्रा छन् । तर कार्यान्वयन विना ती उद्देश्यको अर्थ छैन । मुख्य सवाल कागजमा र गोष्ठीमा भन्दा पनि व्यवहारमा सहज देखिनु पर्छ । शैक्षिक स्तरीयता, प्रतिष्पर्धा, प्रविधियुक्त मूल्यांकन प्रणालीलाई समयानुकुल बनाउँदै विश्वसनीय र वैधताको कसीमा अब्बल बनाउने तर्फ सजग हुनु जरुरी छ ।
प्रतिक्रिया