काठमाडौं - चिकित्सा शिक्षाका बेथिती विरुद्ध इलाममा सत्याग्रह गरिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपछि रातारात काठमाडौं ल्याईएको छ । इलामबाट झापाको भद्रपुर सम्म एम्बुलेन्समा र त्यहाँबाट सेनाको हेलिकोप्टरमा राखेर उनलाई विहान ४ बजेतिर काठमाडौं ल्याईएको हो । अहिले उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालको सघन कक्षमा उपचार भईरहेको उनका सहयोगीहरुले बताएका छन् ।
राज्यले आफूसँग गरेको पूर्व सहमती कार्यान्वयन नगरी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको विरोधमा उनले १६ औं सत्याग्रह शुरु गरेका थिए । सत्याग्रहको ९ दिन सम्म पनि राज्यले कुनै चासो नदिए पछि सामाजिक क्षेत्रका अगुवाहरुले बिहीबार केसीलाई भेटेर 'स्वास्थ्यको ख्याल गर्न सुविधा सम्पन्न ठाउँमा जानु पर्ने' सुझाव दिएका थिए । चिकित्सकहरुको टोलीले उनलाई जतिखेर जे पनि हुन सक्ने अवस्थामा रहेको भन्दै पहिल्यै देखि ध्यानार्कषण गराएका थिए । तर केसीको काठमाडौं नजाने अडान र राज्यको वेवास्ताका बीचमा अवस्था अन्यौलपूर्ण रहेको थियो ।
उनलाई भेट्न बिहबिार इलाम पुगेका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी सहितका सामाजिक क्षेत्रका अगुवाहरुले आफ्नो स्वास्थ्यको ख्याल जरुरी रहेको भन्दै केसीलाई सम्झाएका थिए । उनीहरुकै पहलमा केसीलाई काठमाडौं ल्याइएको हो ।
आफूसँग राज्यले गरेको सहमती विपरित स्वास्थ्य तथा शिक्षा समितिले चिकित्सा शिक्षा विधेयक पास गरी संसदमा पेस गरेको विरोधमा केसीको सत्याग्रह शुरु भएको हो ।
उनको सत्याग्रहलाई सत्ताधारी दलका नेता र कार्यकर्ताले दल विशेषसँग जोडेर ब्याख्या गर्ने क्रम जारी राखेका छन् । जब की यस अधि उनको १५ औं सत्याग्रहको बेला केपी ओली नै प्रधानमन्त्री थिए । उनकै अगुवाइमा सहमती भएको थियो र त्यसपछि ओलीले 'अब अनसन बस्नु नपर्ने अवस्थाको निर्माण गर्छु' भन्दै सार्वजनिक अभिब्यक्ति दिदैं आएका थिए ।
उनको उक्त प्रतिवद्धता चिकित्सा शिक्षा क्षेत्रमा लगानी गरेका केही स्वार्थी समूह सहित उनकै कार्यकर्ताहरुको प्रभावमा विथोलिएको भन्दै आलोचना हुँदैँ आएको छ ।
तस्बिर : केसीका सहयोगी डा. अभिषेक सिंह, डा. केसीलाई हेलिकोप्टरमा हालेर काठमाडौं ल्याईदैं गर्दाको अवस्था ।
यो पनि पढ्नुहोस् : प्रधानमन्त्रीलाई पूर्व मन्त्रीको प्रश्न : स्वार्थका विरुद्ध उभिनेलाई नै ढाल्दिन चाहेको हो ?
प्रतिक्रिया