काठमाडौं २८ पुस / ‘शान्त हुनुस्,’ कक्षाकोठामा माइकबाट निर्देशन आउँछ, ‘अब योग सुरु हुँदै छ ।’ नियन्त्रण कक्षबाट शिक्षकले सीसी क्यामराले २३ वटै कक्षाकोठा नियाल्छन् । विद्यार्थी र शिक्षक जब ध्यानपूर्वक शान्त भएर बस्छन्, कन्ट्रोल कक्षबाट मधुरो संगीत पठाइन्छ ।
लगातार ५ मिनेट सबै कक्षाकोठाका विद्यार्थी र शिक्षक आँखा चिम्लिएर ध्यानमा बस्छन् । ‘मेडिटेसन पिरियड’ सकिएपछि शिक्षकले माइकबाट शुभकामना दिन्छन्, ‘आजको दिन सबैको सुखमय रहोस्, राम्रोसँग अध्ययन गर्नुहोला ।’
मध्याह्नको छुट्टीपछि पनि योग दोहोरिन्छ । घण्टी लाग्नेबित्तिकै त्यसैगरी शिक्षकले सबै कक्षामा ध्वनि पठाउँछन् र भन्छन्, ‘शान्त हुनुहोला ।’ अनि मधुरो संगीत बजाएर ५ मिनेट ध्यान गराउँछन् ।
रामेछापको सदरमुकामस्थित मन्थली माविमा ध्यान हुन थालेको एक वर्ष भएको छ । ‘यसले अनुशासन र नैतिक शिक्षामा वृद्धि गराएको छ,’ शिक्षक चन्द्रसिं धामीले भने, ‘ध्यानले विद्यालय प्रशासनको काम धेरै घटाएको र विद्यार्थीलाई नियमित विद्यालयमा आउने दरमा सुधार ल्याएको छ ।’
धामीका अनुसार पहिले विद्यार्थीबीच दैनिक दुई चार झगडा मिलाउनुपथ्र्यो । ध्यान गराउन थालेपछि झैझगडा स्वात्तै घटेको उनको अनुभव छ । ‘अहिले वर्षको एकाधभन्दा बढी झगडाका विषय विद्यालय प्रशासनले मिलाउनुपरेको छैन ।’
विद्यार्थीलाई अध्ययनशील बनाउन र समयको पालना गराउन पनि ध्यानले बल पुर्याएको शिक्षकहरू ठान्छन् । ‘पहिले प्रार्थना सकेर कक्षाकोठामा पसेपछि हामी धेरैबेर कल्याङमल्याङ गथ्र्यौँ,’ कक्षा १० का एक छात्र भन्छन्, ‘आँखा चिम्लिएर ध्यानमा बसेपछि वातावरणै फरक हुन्छ, एकाग्रता आउँछ ।’
२०७४ मंसिरमा उक्त विद्यालयका केही शिक्षक ओमशान्तिमार्फत भारतको मधुवनी जाँदा यही सिकेर आए । सीसी क्यामेराका साथै सबै कक्षामा माइकको व्यवस्था गरेपछि राजयोग सहज भयो ।
प्रधानाध्यापक टंकप्रसाद दाहाल बालअधिकार र मानवअधिकारका दृष्टिले कक्षाकोठामा जडित सीसी क्यामेराप्रति सधैंै संवेदनशील भएको बताउँछन् । उनले ध्यान गराउन र महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्न विद्यालयको नियन्त्रण कक्ष प्रयोग हुने बताए । ‘यो कक्ष हामीले विद्यार्थीलाई मनोरन्जन र नैतिक आचरणमा सुधारका लागि प्रयोग गरेका हौँ,’ उनले भने ।
मन्थली मावि जिल्लामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने सामुदायिक विद्यालय हो । यसमा कक्षा १ देखि १२ सम्म १ हजार ९ सय ९३ जना विद्यार्थी छन् जसमध्ये छात्रा बढी छन् ।
कान्तिपुरमा टीकाप्रसाद भट्टले लेखेका छन् ।
प्रतिक्रिया