काठमाडौं २३ पुस/ संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । आइतबार अबेरसम्म बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो ।
उपसमितिका संयोजक भैरबबहादुर सिंहले डा.गोविन्द केसीसँगको सम्झौताअनुसार विधेयक पारित गरिएको जानकारी दिनुभयो ।
विधेयकमा सांसद गगन थापाको फरक मत आएको जानकारी दिँदै उहाँले ठूलो विषयमा फरक मत नरहेको बताउनुभयो । उहाँले विधेयकको प्रस्तावनामा २०७२ राख्नुपर्छ भन्ने मत थियो, संयोजक सिंहले भन्नुभयो, “कानुनअनुसार नमिल्ने भएकोले उहाँले भने अनुसार राख्न सम्भव भएन ।”
उहाँले विधेयकको दफा १३ को उपदफा ६ मा काठमाडौभित्र मेडिकल कलेज खोल्न नदिने र काठमाडौ बाहिर मेडिकल कलेज खोल्न दिने भन्ने विषय उल्लेख गरेको हुनाले उपसमितिले त्यहिअनुसार विधेयक परित गरेको जानकारी दिनुभयो ।
उपसमितिले आसयपत्र लिएका प्रस्तावित मेडिकल कलेजहरुले उपत्यकाबाहिर हाल भइरहेका विश्वविद्यालयबाट नै सम्बन्धन पाउन सक्ने बाटो खुला गरेको छ ।
सांसद अन्जना विसंखेले सरकार र डा. गोविन्द केसीसँगको सम्झौताअनुसार नै विधेयक पारित भएको बताउँदै उपत्यका बाहिर मेडिकल कलेज खोल्ने विषयमा डा केसी पनि सहमत रहेको दावी गर्नुभयो । समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक सोमबार समिति समक्ष बुझाइने छ ।
गोरखापत्रबाट
प्रतिक्रिया