काठमाडौं २३ पुस / विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । नयाँ पत्रिकाका अनुसार पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । विद्यार्थी खोजी र रकमको बार्गेनिङ भाटले गर्थे । उत्तरपुस्तिकाको सिम्बल नम्बरसहित संकलन भएको रकम भाटले शाहीलाई बुझाउने गर्थे । कपी परीक्षण गर्दा केही नम्बर थप गरेरै विद्यार्थी उत्तीर्ण हुनेजस्तो देखिए सबै काम शाही आफैँ गर्थे । उत्तरपुस्तिका नै अर्को लेख्नुपर्ने स्थिति देखिए प्रश्नपत्र हेरेर लेख्ने काम भाटले गर्थे । यसका लागि विश्वविद्यालयको होलोग्राम, सम्बन्धित अधिकारीको हस्ताक्षरदेखि दुरुस्तै देखिने कपीको व्यवस्था शाहीले गरिदिन्थे ।
प्रहरीका अनुसार शाहीले तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले ललितपुरको लिटिल एन्जल्स एकेडेमी, सीतापाइलाको भ्याली कलेज र एसियन कलेजमा प्राध्यापन गर्ने गर्छन् । भाटले भ्याली कलेजमै प्राध्यापन गर्दै आएका छन् । प्रहरीका अनुसार उनीहरूले विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । ‘हामीले विद्यार्थीको सक्कल उत्तरपुस्तिकाको हेन्डराइटिङ र पछि तयार गरिएको उत्तरपुस्तिकाको हेन्डराइटिङ हे-यौँ । परीक्षण पनि ग-यौँ । त्यो एक–अर्कासँग मेल खाएन,’ डिएसपी बोगटीले भने ।
प्रहरीका अनुसार विशेषज्ञ शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ‘ब्याचलर इन पब्लिक हेल्थ’ चौथो सेमेस्टरको कपी परीक्षण गर्दा विद्यार्थीबाट रकम असुलेका थिए । उनले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए । एक महिनाअघि मात्रै उनले विश्वविद्यालयबाट कपी परीक्षण गर्न ल्याएका थिए । यस क्रममा उनले १० भन्दा बढी विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेर सम्बन्धित निकायलाई बुझाइसकेका थिए ।
पक्राउ परेकामध्ये शाहीलाई प्रहरीले थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । उनीसँगै पक्राउ परेका भाटलाई भने काठमाडौं परिसरकै हिरासत कक्षमा राखिएको छ । ‘सेटिङमा कपी परीक्षण गरिएको पुष्टि भएको छ । यस क्रममा फरेन्सिक टेस्ट पनि गरिएको छ । थप अनुसन्धानका लागि शाहीलाई अख्तियारको जिम्मा लगाएका छौँ,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।
नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।
प्रतिक्रिया