Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी हुनु त सुशिलाजस्तो

आइतबार, २२ पुस २०७५

काठमाडौं २२ पुस / हिजोआजका मानिसहरू ४०÷४५ वर्ष पुग्न नपाउँदै टाउको कन्याएर भन्छन्–‘बुढेसकाल लाग्यो । के गर्न सकिएला र !’

जोश, जाँगर आँट मरेको जस्तो देखिन्छ तिनीहरूमा तर यसको अपवाद बन्नुभएको छ ६२ वर्षीय सुशिला खनाल । अहिले उहाँ ११ कक्षामा पढ्दै हुनुुहन्छ । बिहानै झोला बोकेर काठमाडौँ तीनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पस पुग्दा अन्य धेरै विद्यार्थी, शिक्षकको आँखा उहाँतिरै पर्छन् । उहाँको कक्षाको अनुशासन र लगनशीलता देख्दा सबै छक्क मात्र पर्ने होइन, कम उमेरका अरु विद्यार्थी उत्साहित नै हुन्छन् ।

सुशिलामा सानो उमेरमै पढ्ने इच्छा नभएको होइन । तर घरायसी आर्थिक लगायत विभिन्न समस्याका कारण उहाँको त्यो इच्छा पूरा हुन पाएन ।

त्यहीँमाथि बाह्र बर्षकै उमेरमा गोरखा मिरकोटका कक्षा १० मा अध्ययरत नारायणप्रसाद खनालसँग विवाह सम्बन्ध जोडिएपछि उहाँको त्यो सपना झन् पर स¥यो । छोरीलाई समेत पढ्न नपठाउने त्यतिबेलाको संकीर्ण र रुढीवादी समाजले बुहारीलाई कहाँ पढ्न पठाउँथ्यो र ! रहँदै बस्दै गर्दा एक छोरी र २ छोरा भए । उहाँको दिनचर्या खेती–किसानी र ३ छोराछोरीको पालनपोषण, हुर्काइ, पढाइमै बित्यो ।

आफूले समयमै पढ्न नपाए पनि श्रीमान्लाई मात्र इञ्जिनियर बनाउन सफल हुनुभएन सुशिला, जेठा छोरा नबिनलाई सिभिल इन्जिनियर (अमेरिका), कान्छो छोरा सुरजलाई डाक्टर (लन्डन) र छोरी सुष्मालाई ट्रेकिङ व्यावसायी (नेपाल) बनाउन सक्षम हुनुभयो ।

चक्रपाणि चालिसे मार्ग, नयाँ बानेश्वरमा व्यवस्थित बसोबास गर्ने सुशिलालाई खासै भन्ने हो भने नपुग्ने केही छैन । उहाँ आफैँ सरकारी स्वास्थ्य स्वयम्सेविका हुनुहुन्छ भने श्रीमान् र छोराछोरीको कमाईले बसी बसी खान पुग्छ । तर पनि उहाँलाई ज्ञानको भोकले सधैँ सताइरह्यो अहिलेसम्म । भनिन्छ नि मान्छे सम्पत्ति र सुखमा मात्रै रमाउन सक्दैन र त यो संसार बुझ्न चाहन्छ । यस्तै आफूलाई समाजका अगाडि शिक्षित भएको देख्न खोज्छ । सुशिला स्वयम् थप्नुहुन्छ, पढ्न आउनुको मुख्य उद्देश्य त ज्ञान हासिल गर्न नै हो । इच्छाशक्ति नै मानिसको लक्ष्य हासिल गर्ने मूल आधार हो भन्ने कुरा उहाँको जीवनमा यथार्थ बनेको छ ।

त्यही ज्ञानको भोकले २०६६ साल जेठ १२ गते उहाँलाई उत्प्रेरणा महिला माध्यमिक विद्यालयको कक्षा ३ मा पु¥यायो । २०७४ सालमा एसईई दिएकी उहाँ २÷३ जिपिए ल्याएर पास हुनुभयो । त्यति मात्र हो र उहाँले विषय पनि पत्रकारिता र आमसञ्चार छान्नुभएको छ । जुन विषयलाई संसारकै राम्रो विषय मानिन्छ । यही विषय छान्ने उहाँको लक्ष्य पत्रकातिा र आमसञ्चार पढेर बुझेर झन् धेरै ज्ञान हासिल गर्ने नै हो ।

एसईई उतिर्ण गरेको खुशीमा उहाँ आफ्ना ९२ वर्षका बालाई भेट्न लड्डु लिएर गोरखा पुग्नुभयो । आफूले पढाउन नसके पनि छोरी आफैँले पढेको खबर सुन्दा बा कम गद्गद् हुनुभएन । ८४ वर्षीया सासुआमाले पनि खुशी हुँदै भन्नुभयो–अरु चारजना बुहारीले पढेका थिए, तिमी मात्रै बाँकी थियौ, पढिछौ, राम्रो भयो । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै विहान घरधन्दा सकाएर क्याम्पस पुग्नुहुन्छ उहाँ ।

आफूजस्ता अन्य महिलालाई पढ्न उत्साहित गर्ने गरेको बताउने सुशिला कक्षा ‘जंक’ गर्ने विद्यार्थीलाई भन्नुहुन्छ– म त बुढेसकालमा पढ्दैछु , तपाईँहरू झन् पढाइ नछाड्नुस् ।’ आफूलाई यो ठाउँमा पु¥याउन उहाँको श्रीमान्को पनि ठूलो हात छ । इच्छाशक्ति त सुशिलाकै हो तर त्यो इच्छाशक्तिमा उर्जा भर्ने र सहयोग थप्ने काम उहाँको श्रीमान्कै ।

नेपाल समाचारपत्रमा प्रशिक्षार्थी पत्रकार बबिता थापाले लेखेको खबर ।

प्रतिक्रिया