नुवाकोट - तादी गाउँपालिका - २ स्थित रालुका माध्यमिक विद्यालयले एसईईको तयारी भन्दै कक्षा १० का विद्यार्थीलाई वर्षै भरी ट्युसन पढाएको छ । प्रति विद्यार्थी एक हजार रुपैंया उठाएर विद्यालयले गत जेठ १० गतेबाट भदौ सम्म पहिलो चरणको ट्युसन कक्षा सञ्चालन गरेको थियो । दोश्रो चरणमा यही पुस ८ गतेबाट ट्युसन कक्षा सञ्चालन गरिएको छ । एसईईको नतिजामा राम्रो गर्न ट्युसन कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक तिलक पण्डितले दावी गरे ।
विज्ञान, गणित र अँग्रेजीमा ट्युसन कक्षा हुँदै आएको छ । कक्षा १० मा ३६ जना विद्यार्थी छन् । तर ती सबै विद्यार्थीले शुल्क तिर्न नसक्ने अवस्था भएकोले सहयोगका लागि पालिकासँग गरिएको अनुरोध अनुसार गाउँपालिकाले ५० हजार रुपैंया उपलब्ध गराएको उनले बताए ।
'पहिला विद्यार्थीबाट उठेको रकमबाटै शिक्षकहरुलाई दिईदैं आएकोमा अब विद्यार्थीले तिर्नु पर्दैन' उनले भने, 'प्रति शिक्षक १० हजार रुपैंया दिदैं आएका छौं, यो रकमले झण्डै २ महिना पुग्छ, त्यस पछि त एसईई आईहाल्छ ।'
विद्यालयको स्तर सुधारका लागि सहयोग गरेको पालिकाका अध्यक्ष नारायण पाण्डे बताउँछन् । त्यति थोरै संख्याका विद्यार्थीलाई कक्षामा हुने नियमति पठन पाठनकै समयमा पढाउन सक्ने भए पनि ट्युसनकै लागि भन्दै खर्च गर्नु पर्नाको कारण पुष्टि गर्दै पाण्डे भन्छन् – 'हाम्रा पालामा पनि सक्ने काठमाडौं सम्म त्यो भन्दा अलिक कमजोर आर्थिक अवस्था भएकाहरु सदरमुकाम त्रिशुली सम्म र त्यो पनि नसक्नेहरु गाउँमै बस्थे, हामीले सबै विद्यार्थीलाई गाउँमै बसेर परीक्षा तयारी गर्ने वातावरण मिलाउन सहयोग गरेका हौं ।'
विद्यालयमा पर्याप्त शिक्षकहरु नभएका कारण पनि कक्षामा पठन पाठनमा समस्या हुँदै आएकोले यो सहयोग गरिएको उनले बताए ।
'शिक्षक पर्याप्त छैनन्, नियमित पठन पाठनमै समस्या छ' पाण्डेले भने, 'समस्या छ भनेर त भएन सुधार गर्ने काम स्थानीय सरकारकै हो त्यसैले हामीले ट्युसन कक्षा सञ्चालन गरेर भए पनि नतिजामा सुधार गर्ने कोशिस गरेका हौं ।'
पालिकाको बजेटमा ब्यवस्था भएको विद्यालय प्रवर्धनात्मक कार्यक्रम अन्र्तगत छुट्याईएको रकमबाट उक्त सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताए ।
पालिका भित्र ५ वटा मावि सहित ३२ वटा सामुदायिक र ३ वटा निजी विद्यालय सञ्चालनमा छन् । दुर्गम क्षेत्रमा रहेको यो विद्यालयमा आर्थिक अवस्था कमजोर रहेका दलित र जनजातिका बालबालिका पढ्ने भएकोले पनि सहयोग गरिएको पाण्डेले बताए ।
२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा माध्यमिक तहमा एउटा पनि दरबन्दी छैन । एक जना निजी श्रोतबाट र अर्का एक जना पालिकाकै श्रोतबाट मावि तहमा शिक्षक राखिएको प्रअ पण्डितले बताए । ३ सय ५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा निमाविमा ४ र प्राविमा ६ दरबन्दी छ । विद्यालय शैक्षिक सत्र २०६६ ६७ सालबाट एसएलसीमा सहभागी भएको हो ।
प्रतिक्रिया