काठमाडौं २० पुस / त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अध्ययनबिना नै नयाँ विषय थप्दै जाने प्रवृत्तिका कारण विगतमा स्थापित महत्वपूर्ण विषयमा विद्यार्थी घट्दै गएका छन्। विश्वविद्यालयका पदाधिकारीले लहडमै नयाँ विषयका विभाग खोल्ने र प्रमुख हुने उद्देश्यले नयाँ विषय थप्दै जाँदा पुराना विषयमा विद्यार्थी सुक्दै गएको प्राध्यापकले नै औंल्याएका छन्।
२०१७ सालमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर कक्षा सञ्चालनमा आउँदा सुरुमा स्थापित विषय इतिहासमा हाल आएर किन विद्यार्थी सुके भन्ने प्रश्न गर्दै मानविकी संकायका पूर्वडिन त्रिरत्न मानान्धरले विश्वविद्यालयका पदाधिकारीले बिना अध्ययन अनुसन्धान नयाँ विषय थप्दै जानु र ती विषयका विभाग खडा गरेर प्रमुख पद खानु नै रहेको बताए।
मानविकी तथा समाजशास्त्र विश्वविद्यालयकै सबैभन्दा ठूलो संकाय हो। यो संकायमा २२ विभाग छन् तर पदाधिकारीले भएकै विषयलाई समयको मागअनुसार परिमार्जन नगरी, नयाँ विषयको आवश्यकता अध्ययनसमेत नगरी विषय थप्दै गएकाले मानविकीका पूरै विषयमा विद्यार्थी संख्या शून्य हुँदै गएको मानन्धरले बताए। ‘मानविकी संकायले छुटै विभाग खोलेर इन्टरनेसनल रिलेसन, टुरिजमलगायतका विषय थप्यो तर यी विषय इतिहासअन्तर्गतकै विभागका विषय हुन्,’ पूर्वडिन मानन्धरले भने, ‘नयाँ विषय खोल्दा हालको विषयमा कस्तो असर पर्छ, कुनै अध्ययनै छैन। छुट्टै विभाग खोलेर नयाँ विभागीय प्रमुख राख्दैमा विषय नयाँ हुँदैन।’ उनले थपे, ‘दूरशिक्षा सञ्चालन गरेरै पनि विद्यार्थी बढाउन सकिन्छ तर त्यसतर्फ पदाधिकारीको ध्यान कहिल्यै गएन।’
त्रिवि कीर्तिपुरको इतिहास विभागले बिहीबार पत्रकार सम्मेलन गरी यस वर्ष इतिहास विषयमा शून्य विद्यार्थी भएको स्पष्ट पारेको छ। इतिहास विभाग प्रमुख शंकर थापाले आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलागि यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेको बताए। उनले उपलब्ध गराएको तथ्यांकअनुसार विगत आठ वर्षमा क्रमशः इतिहास विषयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। २०६७ सालतिर इतिहासमा स्नातकोत्तर तहमा १६ विद्यार्थी थिए भने २०६८ सालमा ११ र ०६९ मा बढेर ९३ पुगेको थियो।
यो इतिहास विषयको इतिहासमै सबैभन्दा उच्च विद्यार्थी भर्ना भएको साल हो। ‘तर यस समयमा विद्यार्थी भर्ना भए पनि पछि रोइकराइ गरी भर्ना फिर्ता लिनसम्म आए,’ विभागीय प्रमुख थापाले भने, ‘त्यसबखत पनि अन्ततः १२ विद्यार्थीले मात्र पढे।’उनले थपे ‘विश्वविद्यालयबाट प्रमाणपत्र तह हटाएपछि पनि इतिहासमा विद्यार्थी घट्न थालेका हुन्।’ यसैगरी २०७० सालमा ७ जना, ०७१ मा ६ जना, ०७२ मा २ जना, ०७३ मा १ जना र ०७४ सालमा विद्यार्थी संख्या शून्यमा आयो। विभागमा शिक्षक भने ८ जना कार्यरत छन्।
२०७५ मा इतिहास विषयको स्नातकोत्तर तहमा माघ ३ गते भर्ना खुलाउने र माघ १९ गते प्रवेश परीक्षा तोकिएको छ। फाुगनदेखि कक्षा सुरु हुने थापाले जनाए। इतिहास विषयमा रुचि राख्ने व्यक्तिहरुलाई सेमेस्टर प्रणालीअन्तर्गत अध्ययन गर्न सहज बनाउन बिहानी कक्षासमेत सञ्चालन गर्ने निर्णय विभागले गरेको उनले जनाए। ‘इतिहासमा विद्यार्थी भर्ना बढाउन पाठ्यक्रममा समेत परिमार्जन गरिएको छ,’ थापाले भने, ‘प्राज्ञिक महŒवका कार्यक्रममा विद्यार्थी सहभागी गराउने व्यवस्था विभागले गरेको छ।’
इतिहास विभागका पूर्वप्रमुख तीर्थप्रसाद मिश्रले अध्ययन अनुसन्धानमूलक विषय इतिहास भए पनि यसलाई रुचिसाथ शिक्षकले नपढाइदिएकाले विद्यार्थी आकर्षण घटेको बताए। ‘शिक्षकले विद्यार्थी पढाउन सकेनन्। त्रिविको नीति नै कमजोर छ,’ उनले भने, ‘त्रिविले काम दिन नसक्ने शिक्षकलाई निकाल्ने व्यवस्था गर्नुपर्छ।’ उनले थपे, ‘बजारमुखी विषयसँग पुराना विषयसँग जोड्न सक्नुपर्छ।’
मानविकी तथा समाजशास्त्र संकायका डिन शिवलाल भुसालले विश्वविद्यालयमा इतिहासमात्र होइन, विगतमा स्थापित मानिएका विषय भाषाविज्ञान, संस्कृत, हिन्दी, बुद्धिस्ट स्टडिज र राजनीतिशास्त्रमा समेत स्नातकोत्तर तहमा कम विद्यार्थी भएको बताए। उनले विश्वविद्यालयले बजारोपयोगी विषयहरु अध्ययन अध्यापन गराउन नसकेकै कारण पुराना विषयमा विद्यार्थी आकर्षण कम भएको औंल्याए। ‘हामीले भएकै विषयलाई समयसापेक्ष बनाउन सकेनौं,’ डिन भुसालले भने, ‘प्राध्यापकको पनि जागिरे मानसिकताले विषयलाई सुकाउँदै गएको हो।’
उनका अनुसार यति बेला भाषाविज्ञानमा ३, संस्कृतमा ५, हिन्दीमा २, बुद्धिस्ट स्टडिजमा ५ र राजनीतिशास्त्रमा ७ विद्यार्थीमात्र स्नातकोत्तर तहमा अध्ययनरत छन्। ‘दुई वर्षअघि भूगोलमा पनि विद्यार्थी संख्या शून्य थियो। हाल विश्वविद्यालयले सेमेस्टर कार्यान्वयनमा ल्याएपछि यस वर्ष सिट प्याक भयो,’ डिन भुसालले भने, ‘३६ विद्यार्थी भर्ना भएका छन्। तर अरु विषयमा विद्यार्थी भर्ना हुन आएनन्’, उनले थपे, ‘अब यी विषयहरुमा विद्यार्थी बढाउन कोर्स परिमार्जन गर्न लागेका छौं।’ उनका अनुसार हाल मानविकी संकायमा सामाजिक कार्य, इन्टरनेसनल रिलेसन, रणनीतिक अध्ययन, शान्ति, सुक्षा तथा विकास, परामर्श मनोविज्ञान, क्राइसिस म्यानेजमेन्ट, खेलकुद विज्ञान, टुरिजम एन्ड हस्पिटालिटी, नृत्य र बिसिए गरी ११ नयाँ विषय थप भएका छन्।
नागरिककमा रूबी रौनियारले लेखेकी छन् ।
प्रतिक्रिया