Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

पदक पाउनेमा छात्रा धेरै

मंगलबार, १७ पुस २०७५

काठमाडौं १७ पुस / त्रिभुवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै रहेको खबर आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले छापेका छन् । विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने दीक्षान्त पदक यस वर्ष छात्राले धेरै पाएका भन्दै नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् - कुल ३१ पदक तथा पुरस्कारमध्ये १८ छात्राले प्राप्त गरेका छन् । स्नातकोत्तर र स्नातक तहका परीक्षाहरूमा प्रथम हुने विद्यार्थीलाई दिने पदक तथा पुरस्कारसमेत छात्राले नै प्राप्त गरेका छन् । स्नातकोत्तर तहमा रामपुर क्याम्पसकी छात्रा सुलोचना श्रेष्ठ र स्नातकको पदक नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सकी छात्रा स्वेच्छा जोशीले प्राप्त गरे । सुलोचनाको ९०।८८ र स्वेच्छाको ८८।०८ प्रतिशत छ । सुलोचनाले चान्सलरसहित तीन पदक प्राप्त गरिन् । त्रिविकी शिक्षाध्यक्ष प्रा।डा। सुधा त्रिपाठीले पछिल्ला वर्षहरूमा छात्राहरूले बढी मेहनत गर्ने गरेकाले नतिजा उत्कृष्ट हुँदै गएको बताइन् । केही वर्षयता विश्वविद्यालयमा छात्रभन्दा छात्राहरूको संख्यासमेत बढ्दै गएको छ ।

२३ जना सर्वोत्कृष्ट विद्यार्थी विभिन्न ३१ दीक्षान्त पदक तथा पुरस्कारबाट सम्मानीत भए । सर्वोकृष्ट २३ मध्ये १४ छात्रा छन् । दुई विद्यार्थीले तीन÷तीन पदक प्राप्त गरेका छन् । सम्पूर्ण स्नातकोत्तर तहको परीक्षामा प्रथम हुने रामपुर क्याम्पस चितवनकी सुलोचना श्रेष्ठलाई चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानान्धर स्वर्ण पदक गरी तीनवटा पदकबाट सम्मान गरिएको छ । त्यस्तै, एमए अर्थशास्त्रमा प्रथम हुने अर्थशास्त्र केन्द्रीय विभागका महेश आचार्यलाई तारापद चौधरी पदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक गरी तीनवटा पदक प्रदान गरिएको छ ।

यस्तै अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले स्वर्ण पदक पाउनेमा छात्रा धेरै शिर्षकमा खबर लेखेका छन् । खबर अनुसार स्वर्ण पाउने मध्येकी एक चितवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले स्नातकोत्तर तहतर्फका सर्वोत्कृष्ट तीन स्वर्ण पदक हात पारिन् । सुलोचनाले ‘चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामदास मानन्धर स्वर्ण पदक पाइन् ।

झापाको दमक बहुमुखी क्याम्पसकी दुर्गा अर्यालले पनि एमबीएसमा उत्कृष्ट अंक ल्याएर दुई वटा स्वर्ण पदक हात पारिन् । विशिष्ट श्रेणीसहित ७५ प्रतिशत अंक ल्याएकी अर्यालले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार पाइन् ।

स्नातकोत्तर तहमा स्वर्ण पदक पाउने छात्रामा अल्का श्री श्रेष्ठ, विन्दा श्रेष्ठ, अनिशा भट्टराई, रश्मी थापा, अभिलासा न्यौपाने, सरिता गौतम र मन्दिरा दुलाल छन् । स्नातक तहमा स्वर्ण पदक पाउने छात्रामा स्वेच्छा जोशी, प्रभा त्रिपाठी, प्रतीक्षा पौडेल, विनिता महर्जन र लीना महर्जन छन् ।

एमफिलमा जनप्रशासन केन्द्रीय विभागका छात्र नेत्रप्रसाद सुवेदीले स्वर्ण पाए । स्नातकोत्तर तहमा छात्रमा निर्देश सिलवाल, रामबाबु सापकोटा, राजु श्रेष्ठ र महेश आचार्य तथा स्नातक तहमा राजेश पनेरु, नरेश सुवेदी, सन्तोष खत्री र संघर्ष गाउँले क्षेत्रीले पनि स्वर्ण पाए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न विश्वविद्यालयले विभिन्न व्यक्ति र संस्थाको नाममा पुरस्कार स्थापना गरी पदक वितरण गर्दै आएको छ । एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेकालाई पदक वितरण गरिन्छ ।

यस्तै नागरिकमा रुबी रौनियारले त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व शिर्षकमा खबर लेखेकी छन् । लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन्। विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रहेको खबरमा उल्लेख छ ।

दीक्षान्तबारेको यो खबर पनि पढ्नुहोस् : मञ्चबाट दीक्षा, दर्शकदीर्घामा विद्यार्थीको रमिता !

प्रतिक्रिया