काठमाडौं १७ पुस / निजी विद्यालयको नाममा अत्याधिक शुल्क उठाउने केही विद्यालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पछिल्लो प्रतिवेदनको खाकाप्रति असन्तुष्टि जनाउँदै केही सञ्चारमाध्यमका सम्पादकसँग रोदन गरेका नेपाल समाचारपत्रले लेखेको छ ।
निजी विद्यालयप्रति सरकारले अन्याय गर्न खोजेको आरोप लगाउँदै आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको प्याब्सनलाई जानकारी नै नदिई प्याब्सनकी प्राज्ञिक सल्लाहकार समेत रहेकी रातो बंगला स्कुलकी सञ्चालक शान्ता दीक्षितले केही विद्यालयका सञ्चालक र सम्पादकलाई बोलाएर शिक्षा आयोगको प्रतिवेदन नमान्ने घोषणा गर्रेको नेपाल समाचारपत्रले लेखेको छ । आईतबार भएको एक कार्यक्रमका आधारमा लेखिएको उक्त खबरमा दीक्षितले निजी विद्यालयमा आफ्नो शान देखाउन सम्पादकलाई गुहारेको उल्लेख छ ।
सो कार्यक्रममा नागरिकका सम्पादक गुणराज लुइँटेल, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, सेतोपाटीका सम्पादक अमित ढकाल तथा काठमाडौं पोस्टका सम्पादक अनुप काफ्ले लगायतको उपस्थिति रहेको थियो । अन्य सञ्चारमाध्यमका सम्पादकहरुलाई पनि बोलाएको भए पनि प्रतिनिधिहरुको मात्र उपस्थिति रहेको थियो ।
त्यसैगरी सोही कार्यक्रममा ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपक एवं पूर्व संविधानसभा सदस्य गीता राणा, प्रिमियरका सञ्चालक पवित्रा लिम्बु, संस्थापक वसन्त थापा, अक्षरा स्कुलका सञ्चालक अञ्जु भट्टराई, विसर्गवाटिका स्कुलकी कामना रेग्मी, एपेक्स स्कुलका सञ्चालक एवं एन प्याब्सनका महासचिव सुवास न्यौपाने, पाणिनी स्कुलका सञ्चालक एवं एन प्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाही र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायतको उपस्थिति रहेको थियो ।
‘उहाँ आफैंले टेलिफोन गरी बोलाउनु भयो हामी गयौं’ –एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको प्रतिकृया सहित उक्त खबर लेखिएको छ ।
प्याब्सन र एन प्याब्सनले सँगै आन्दोलन गर्ने तयारी गरिरहेको अवस्थामाआफैं प्राज्ञिक सल्लाहकार रहनुभएकी दीक्षितले प्याब्सनलाई बाइकट गरी केही विद्यालयलाई मात्र बोलाउनु गलत भएको केही निजी विद्यालय सञ्चालकले आरोप लगाएका छन् । ‘हामीलाई त थाहै भएन, कार्यक्रम गर्नुभएको त सञ्चारमाध्यमबाट जानकारी पायौं’ –प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फेले भन्नुभयो ।
सम्वाहाम्फेले आयोगले सार्वजनिक गरेको प्रतिवेदनको विषयमा निजी विद्यालयका संगठनले छुट्टै धारणा बनाउन लागेको बताएका छन् ।
प्याब्सनले आन्दोलनको कार्यक्रम तय गर्ने योजना साथ मंगलबार विस्तारित बैठक बोलाएको छ ।
उक्त कार्यक्रमबारेको खबर पढ्नुहोस् : शिक्षा आयोगका सदस्य प्रति कटाक्ष !
प्रतिक्रिया