ललितपुर - त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीलाई मञ्चमा आशिन विशिष्ट ब्यक्तिले शुभकामना दिईरहेका थिए । दीक्षित विद्यार्थी देशको योग्य जनशक्ति बनेका र उनीहरुबाट राष्ट्रलाई ठूलो योगदान हुने अपेक्षा मञ्चबाट व्यक्त भईरहँदा विद्यार्थीमा भने त्यो सुन्ने जाँगर र धैयर्ता देखिदैंन थियो ।
पूल्चोक स्थित ईञ्जिनीयरिङ् कलेजको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा सहभागी विद्यार्थी मध्ये कतिपय कुर्चि उचाल्दै पछार्दै गर्दै गरेको देखिन्थे भने कति जना सेल्फि खिच्न र होहल्ला गर्दै गफ चुट्नमै व्यस्त थिए ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले बोल्दै गर्दा मञ्चकै अघिल्तिर 'क्याटवाक' शैलीमा भिडियो खिच्ने छात्राहरुको रमिता चल्दै थियो । प्रधानमन्त्री ज्ञान हासिल गरेपछि हुने दीक्षान्तको परिभाषा गर्दै थिए, तर उनीहरुको शैली त्यो दीक्षा लिने स्वरुपमा देखिदैंन थियो । मानौं यो कुनै जात्रा चलेको हो । जे मन लाग्छ बोल्न पाईने, जे जति मन लाग्छ हल्ला गर्न पाईने । समारोह हेर्दा दीक्षान्तको कुनै मर्यादा कायम भएको देखिदैंन थियो ।
'कहिले सम्म विद्यार्थी भनेका यस्तै जात हुन् भनेर देखेको नदेखै गर्ने हो ?' एक जना प्राध्यापक दिक्क मान्दै गुनासो गर्दै थिए, 'कमसेकम औपचारिक समारोहको मर्यादा राख्न त सिक्नु पर्छ नी, अब हामीले नै सिकाएनौं भन्दै स्विकार गर्ने त होला !'
दीक्षान्त समारोह शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम मात्रै नभएर यसमा संलग्न हुँदाको गरिमा र यहाँ उपस्थित ब्यक्तिबाट व्यक्त धारणाको विश्लेषण गरेर अपनाउने सम्मको रुपमा आत्मसात गर्नु पर्ने ती प्राध्यापक बताउँछन् ।
'हो विद्यार्थीका लागि यो एउटा महत्वपूर्ण दिन हो, गाउन लगाएका हुन्छन्, आफूलाई भिन्दै अनुभुत गरिरहेका त हुन्छन् तर, यसो भन्दैमा समारोहको मर्यादा नै कायम नगर्नु त भएन नी' उनले भने 'संसारका विभिन्न देशका दीक्षान्त समारोह हेर्दा पनि कसरी मर्यादा कायम हुन्छ भन्ने ज्ञान हासिल गर्न सकिने छ ।'
त्यसो त कार्यक्रममा सहभागी विद्यार्थी कति गफ सुन्नु बरु आफू खुसी रमाईलो गर्ने भन्ने 'मुड'मा थिए ।
'विश्वविद्यालयमा यो यो सुधार गर्र्यौ भन्नु पर्यो नी खाली गर्ने छौं मात्रै भन्छन् ! विश्वविद्यालयको हालत के छ भन्ने हामीलाई थाह भएकै कुरा हो कति गफ मात्रै सुन्ने भनेर हामी त सेल्फिमा जुट्यौं' एक जना विद्यार्थीले नाम नबताउने भन्दै ठट्यौलो पारामा उत्तर दिए 'नेताजीहरुका भाषण सुन्दा सुन्दा हैरान भै सकिएन र भन्या ! आज पनि फेरी त्यस्तै गफ सुन्नु र !'
हुन पनि प्रधानमन्त्रीको सम्बोधन झण्डै त्यस्तै भयो । कार्यक्रमका लागि साना पानामा तयार ६ पेज लामो भाषण सरासर पढेको भए मुस्किलले १५ मिनेटमा सिकिन्थ्यो होला तर उनले त्यो लिखित सामग्री पल्टाउँदै नपल्टाई ४५ मिनेट मौखिक भाषण गरे । भाषणका क्रममा उनले साहित्यको नवरस हाम्रै भूमिबाट हाम्रै पुर्खाले शुरु गरेको देखि सामाजिक, सांस्कृतिक, भौगोलिक विविधता भएको मुलुक भन्दै पुर्खाको गौरवपूर्ण ईतिहासको चर्चा गरे ।
'एउटै खोलामा अलिकति तल गयो एउटा खाले माछा, अलिकति माथि आयो अर्कै खाले माछा, अझै माथि गयो अर्कै खाले माछा, एउटा पहाडमा अलिकति तल गयो एउटा खाले चरा अलिकति माथि गयो अर्कै खाले चरा, एउटै वनमा अलिकति तल गयो एउटा खाले रुख अलिकति माथि गयो अर्कै खाले रुख' उनले भने, 'यस्तो विविधता भएको मुलुक हो हाम्रो ।'
यो वर्ष भर्ना अभियान चलाएर बालबालिकालाई विद्यालय भित्र ल्याएको र बाँकी रहेकालाई अर्को बर्ष भित्र ल्याउने उनले बताए ।
प्रधानमन्त्री अघि बोलेका समारोहका प्रमुख अतिथी जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राध्यापक महेन्द्र पी लामाले ज्ञानको लागि कक्षा कोठामा पढेर मात्रै नपुग्ने भन्दै अघिल्लो पुस्ताबाट समेत ज्ञान लिनु पर्ने सुझाव दिए ।
'मेरो बाजे स्कुल कलेज पढ्न नगए पनि उहाँसँग धेरै ज्ञान थियो, उनीहरुका ज्ञान पनि नयाँ पुस्ताले सिक्नु जरुरी छ' उनले भने 'नत्र भने बाजे मरे, बोजु मरिन दुई वटा पुस्तकालय लिएरै गए भने जस्तो हुन सक्छ, अब यस्तो हुन नदिउँ है ।'
औपचारिक अध्ययन गर्ने आफू दोश्रो पुस्ता बताउँदै उनले अबको पिँढि कोही पनि नपढिकन अघि नबढ्ने बताए । घरमा सोफा, टेलिभिजन फ्रिज, फर्निचर भए जस्तै एक ठेली किताब पनि हुनु पर्ने उनको सझुाव छ ।
'घरमा एक ठेली किताब भयो भने नानीहरुले त्यो देखेरै, त्यसको वास्ना सुँघेरै हेरेरै पनि ज्ञान पाउँछन्' उनले प्रतिकात्मक रुपमा भने ।
कुनै पनि शिक्षक कक्षा कोठामा प्रवेश गरिसके पछि उसको जात, वर्ग, धर्म मात्रै हैन राष्ट्रियता पनि बाँकी नरहने बताउँदै उनले उ केवल विश्वब्यापी मानवीयताको मानक शिक्षक मात्रै रहने बताए ।
कार्यक्रममा विश्वविद्यालयका सहकुलपति शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २५ बर्षे शैक्षिक रणनीति तयार पार्ने दिशामा मन्त्रालयले कार्य गरिरहेको बताए । देशका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम सकिए पछि कुन क्षेत्रमा कति जनशक्ति चाहन्छि भन्ने यकिन हुने र सोही अनुसार उच्च शिक्षाका कार्यक्रम अघि बढाउने उनको भनाई थियो ।
उपकुलपति प्रा.डा. तीर्थ खनियाले दीक्षीत विद्यार्थीको संख्या सहित विश्वविद्यालयका योजना र उपलब्धिका बारेमा चर्चा गरेका थिए ।
२०७४ जेठ १८ गते देखि २०७५ जेठ ३१ गते सम्म एक बर्षको अवधिमा विश्वविद्यालयका ६० आँगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरेका उक्त दीक्षान्त समारोहमा भाग लिन योग्य थिए । ७४ हजार २ सय ८४ योग्य विद्यार्थी मध्ये कार्यक्रममा भाग लिन ९ हजार ५ सय ५ ले मात्रै आवेदन गरेका थिए । यी मध्ये आधा भन्दा पनि कम मात्रै विद्यार्थी उपस्थित भएको अनुमान गरिएको छ । त्रिभुवन विश्ववविद्यालयका ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय छन् ।
प्रतिक्रिया