Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

मेयर जेलमुक्त हुँदा विद्यार्थीले पढ्न पाएनन्, मेयर भन्छन् निर्णय उल्ट्याएँ

आइतबार, १५ पुस २०७५

रौतहट - आफ्ना मेयरलाई सर्वोच्च अदालतले सफाइ दिएको खुसीयालीमा कटहरिया नगरपालिकाले सार्वजनिक विदाको घोषणा गर्दा त्यस क्षेत्रका झण्डै १० हजार धेरै विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका मेयर सियाराम कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएको खुसीयालीमा नगरपालिकाले आईतबार सार्वजनिक विदा घोषणा गरेको थियो । 

उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ । जसले गर्दा नगरपालिका क्षेत्रका ३३ विद्यालयका विद्यार्थीको पढ्न पाउने हक खोसिएको छ ।

नगरपालिका क्षेत्रमा २४ वटा सामुदायिक, ८ वटा निजी र एउटा मदरसा सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख नन्दकिशोर गुप्ताले जानकारी दिए । निजी र मदरसाका विद्यार्थीको यकिन तथ्याङ्क संकलनको काम भईरहे पनि २४ सामुदायिक विद्यालयमा मात्रै ७ हजार ६ सय ९० विद्यार्थी पठन पाठन गर्ने गुप्ताले बताए । विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुँदा सुधारको अपेक्षा गरेकाहरुलाई उक्त घटनाले निराश तुल्याएको छ । उक्त घटनाको चौतर्फि विरोध भएको छ । 

'राजामहाराजा'को संज्ञा दिदैं सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ । बढ्दो विरोध पछि निर्णय उल्ट्याएको मेयर कुशवाहले जनाएका छन् । 

'म त जेलमा थिएँ, कार्यवहाक मेयर र प्रशासकीय अधिकृत मिलेर उक्त निर्णय गरेछन् मलाई त राजा महाराजाको सवारी जस्तो बनाएछन्' एडुखबरसँग कुरा गर्दै उनले भने, 'जनतामा त खुसी छाएको छ, तर यही कारणले सार्वजनिक विदा दिदाँ राम्रो म्यासेज गएन मैले उक्त निर्णय रद्ध गरेको छु ।'  

उनी जेलमा हुँदा उपमेयर नुरजहा खातुन कार्यवहाक थिईन् । सार्वजनिक विदाको बारेमा गरिएको उक्त सूचनामा सहायक प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् । यस बारेमा उपमेयर खातुनसँग कुरा गर्न खोज्दा उनको फोन उठाउने एक जना पुरुषले उनी माईतीलाई भेट्न भारत गएको बताए ।   

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २०७४ साल फागुन २५ गते कुशवाहालाई सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए । गत बैशाखमा काठमाडौंबाट पक्राउ परेका उनले त्यस विरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए । उक्त मुद्धाको फैसला गर्दै सर्वोच्चका न्यायाधीश द्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले गत शुक्रबार उच्च अदालत जनकपुरको जन्म कैदको फैसला उल्ट्याई तिवारीलाई सफाइ दिएको हो । 

२०६७ असार १२ मा वीरगन्ज मसानघाट स्थित शिव पार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो । 

अदालतको सफाइ पछि जेलबाट छुटे लगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास पुगेका थिए । शनिबार भने उनी हेलिकप्टर लिएर कटहरिया स्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई कार्यकर्ताले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरेका थिए । उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहा लगायत नेता समेत थिए । उनी तत्कालिन माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका प्रभु साहका स्वकीय सचिव समेत थिए ।

 

प्रतिक्रिया