काठमाडौं - ४४ महिना बितिसक्दा पनि भुकम्पले भत्काएका मध्ये झण्डै १७ हजार कक्षा कोठा जस्ताको त्यस्तै रहेका छन् । अर्थात् उक्त संख्याका कक्षा कोठाको पुनर्निर्माणको कामै शुरु भएको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएर काम शुरु भएको 'तीन बर्ष सम्मको उपलब्धि' भन्दै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अझै पनि १ हजार ४ सय ६० विद्यालयका १६ हजार ९ सय ६३ कक्षा कोठाको कामै शुरु भएको छैन । भुकम्पले ७ हजार ५ सय ५३ विद्यालयका ४९ हजार ६ सय ८१ कक्षा कोठामा क्षती पुर्याएको थियो ।
१५ हजार १ सय ४० कक्षा कोठाको पुनर्निर्माणको जारी काम सहित अहिले सम्म विद्यालय भवन तर्फ ५५ प्रतिशत मात्रै काम सकिएको प्राधिकरणको दावी छ । चालु आर्थिक बर्ष सम्ममा ६० प्रतिशत काम सक्ने र आर्थिक बर्ष २०७७/७८ मा बल्ल सबै कक्षा कोठाको पुनर्निर्माण सक्ने प्राधिकरणले योजना बनाएको छ ।
भुकम्प पछिका चार शैक्षिक सत्र सम्म ती विद्यालयका विद्यार्थीले चिसो र झरी अस्थायी टहरा र तीनै क्षत विक्षत कक्षा कोठामा विताउन वाध्य भएका छन् ।
यसैगरी विश्वविद्यालय र कलेज तर्फको पुनर्निर्माणको उपलब्धि जम्मा ७ प्रतिशत मात्रै छ । विश्वविद्यालय र कलेज गरी ३० वटाको पुनर्निर्माण गर्नु पर्ने भए पनि अहिले सम्म २ वटाको मात्रै काम सकिएको छ । ७ वटाको कामै शुरु भएको छैन । २१ वटाको पुनर्निर्माणको काम जारी रहेको प्राधिकरणले जनाएको छ । चालु आर्थिक बर्षमा ४० प्रतिशत, ०७६/७७ मा ८० प्रतिशत काम सकेर बल्ल अर्को बर्ष सबै काम सक्ने प्राधिकरणले दावी गरेको छ ।
प्राधिकरण स्थापना भएसँगै प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमा भएको राजनीतिक खिचातानिका कारण पनि काममा ढिलाई हुँदै आएको हो । त्यो भन्दा पनि विद्यार्थीको कष्टलाई अनुभुत गर्न नसक्ने राज्यका कारण विद्यालय पुर्ननिर्माणले गति लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्राधिकरण अन्र्तगत विद्यालय पुर्ननिर्माणको जिम्मा पाएको निकायका कर्मचारी शुरुको अवधिमा 'अन्य ठाउँको अनुभव आवश्यक' भन्दै विदेशको भ्रमणमा ब्यस्त भएका कारण पनि काममा ढिलाई भएको विश्लेषण गरिदैं आएको छ । पुर्ननिर्माणको जिम्मा पाएका शिक्षाका कर्मचारी व्यवस्थापकीय कार्यसम्पादन छाडेर 'विदेश भ्रमण' गर्दा विद्यार्थीले सुरक्षित भवनमा बसेर पढ्ने मौका नपाएको आलोचकहरुको तर्क छ ।
यो खबर पढ्नुहोस् : विद्यार्थी छाप्रामै, हाकिम सावहरु विदेश
स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा प्राधिकरणले पुनर्निर्माण र पुर्नस्थापनाका क्षेत्रमा तीन वर्षमा भएका उपलब्धी र आगामी दुई वर्षे योजना सार्वजनिक गरेको छ । निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत प्रगति हासिल भएको उसले जानकारी दिएको छ । जसमा ४५ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन् भने ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । ७ लाख ४२ हजार १ सय ३५ भूकम्प पीडित लाभग्राहीसँग अनुदान सम्झौता भएको जानकारी दिँदै प्राधिकरणले त्यस मध्ये ३ लाख ३७ हजार ३ सय १९ घर पुनर्निर्माण सम्पन्न भएको र २ लाख ३३ हजार ३ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।
पुनर्निर्माण सम्पन्न र निर्माणाधीन संरचनाहरुको प्रगति स्वास्थ्य संस्थाहरुमा ६६ प्रतिशत, सरकारी भवनमा ९५ प्रतिशत, सुरक्षा निकायका भवनहरुमा ५४ प्रतिशत, पुरातात्विक सम्पदामा ६८ प्रतिशत हासिल भएको प्राधिकरणको दावी छ ।
प्रतिक्रिया