ललितपुर - अस्थायी करारमा कार्यरत शिक्षकको तलब भुक्तानीका लागि तयार चेक श्रोतव्यक्तिले लुटेको आरोप सहित गोदावरी नगरपालिकाको छोटीडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक अरविन्दचन्द्र शर्मा हारगुहार गर्दै हिँडेका छन् । अस्थायी करारमा कार्यरत शिक्षक सर्जु नगरकोटीले पाउने तलब मध्ये आधा रकम आफूलाई दिनु पर्ने सर्त राखेर शर्माले 'अत्तो थापे' पछि उक्त घटना ढिलो गरी सार्वजनिक भएको स्थानीय एक अभिभावकले बताए । 'लेनदेनमा कुरो नमिले पछि बल्ल घटना सार्वजनिक भएको' उनको दावी छ । तर शर्मा तलब दिन तयार १ लाख ६९ हजार ६ सय ९० रुपैंयाको चेक श्रोतव्यक्ति देवेन्द्र राईले कोठामै आएर धम्क्याएर लुटेको आरोप लगाउँछन् ।
'ब्यवस्थापन समितिका अध्यक्ष जयबहादुर लामा र हेडसरको हस्ताक्षरबाट चल्ने बैंक खाताको चेकमा सर्जु मिसलाई दिने रकम उल्लेख छ, उक्त रकम दिने भनेर ब्यवस्थापन समितिले निर्णय गरेको छ, कसरी लुटेको हुन्छ ?' ती अभिभावकले प्रश्न गर्दै भने, 'लुटपाटै थियो भने त घटना हुनासाथ प्रहरी, प्रशासन मन्त्रालय कता कता हो उजुरी गर्नु पथ्र्यो नी, ६ महिना पछि बल्ल निवेदन हाल्नुको अर्थ के हो ?'
नगरकोटी शिक्षक सेवा आयोगको परीक्षा तयारीका लागि भन्दै विद्यालयमा अनियमित भएको ४ महिनाको तलबमा शर्माले 'बार्गेनिङ्' गरेको ती अभिभावक दावी गर्छन् ।
तर, यस बीचमा आफूलाई क्षयरोग लागेकाले प्रशासनमा आउन ढिलो भएको शर्माको भनाई छ । उक्त समयमा आफू विद्यालय भने नीयमित गएको उनी बताउँछन् ।
'मेरो कोठामै आएर आरपीले धम्कि दिएपछि मैले चेक नदिई सुख्खै पाईन' शर्माले भने, 'उक्त रकम हिनामिना भएको भन्दै खोजविन भयो भने त म फस्छु, मलाई त आरपीले ज्यान मार्ने धम्कि पनि दिएको छ ।'
नगरकोटी विद्यालयमा अनुपस्थित भएका बेला शर्माले स्थानीय रीता सापकोटालाई कक्षा लिन लगाएका अर्का एक अभिभावक बताउँछन् । तर सापकोटाको नियुक्तिको औपचारिक निर्णय नभएको उनको दावी छ ।
'शायद तीनै सट्टा मिसलाई त्यही रकमबाट तलब दिने विचार थियो होला तर नियुक्तिको औपचारिक निर्णय नभएका कारण उनले पनि तलब नपाउने भएपछि बल्ल हेडसरले लुटपाटको आरोप लगाएको हुन सक्छ' ती अभिभावकले भने ।
गत असारमा भएको उक्त घटनाको बारेमा शर्माले गएको सोमबार बल्ल जिल्ला प्रशासन कार्यालयमा आर्थिक लुटपाट गरेको ब्यहोराको पत्र दर्ता गराएका छन् । विद्यालयको खाताबाट गैह्र कानूनी तरिका अपनाई नेपाल बैंकको ०९३५५००८६ नम्बरको चेक लुटेर आफूलाई ज्यान मार्ने धम्कि दिएकोले जिउ ज्यानको सुरक्षा माग गर्दै शर्माले प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । उक्त निवेदन दर्ता गरेर प्रशासन कार्यालयले शिक्षा विकास तथा समन्वय एकाईमा पठाईदिए पछि शर्मा बुधबार 'हारगुहार' गर्दै सिंहदरबार स्थित संघीय शिक्षा मन्त्रालय पुगेका थिए ।
'आफूलाई विद्यालयको सम्पत्ति हिनामिना गरेको अभियोग हुने डर भयो' भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समक्ष हारगुहार गर्न पुगेका शर्मा मन्त्री नभेटेपछि सचिवालयका कर्मचारी समक्ष आफ्ना कुरा गर्दै थिए । उनको एउटै भनाई थियो - श्रोतव्यक्ति राईलाई कारवाही होस् !
तर उक्त कार्य मन्त्रालयबाट हुन नसक्ने भन्दै मन्त्रीको सचिवालयका कर्मचारीले एकाईमै जान सुझाव दिए ।
श्रोतव्यक्ति राईले भने आफूले शिक्षकको तलब निकासामा सहजीकरण मात्रै गरेको दावी गरेका छन् ।
'मेरो विरुद्ध हेडसरले प्रशासनमा निवेदन हालेको भन्ने सुनेको छु, तर मैले कुनै गैह्र कानूनी काम गरेको छैन' राईले टेलिफोनमा भने, 'लामो समय देखि तलब नदिएर झुलाईराखेको रहेछ, शिक्षकलाई परेको समस्यालाई समाधान गर्नु पनि त आरपीको दायित्व हो नी, मैले त्यही काम गरेको हुँ, कसैलाई धम्कि दिएको छैन, हेडसरको आनी बानीका बारेमा मैले भन्दा एकतर्फि लाग्न सक्छ यहीँ आएर बुझ्नु भए हुन्छ ।'
प्रअ शर्माको 'आनीबानी' कस्तो भन्ने बारेमा उनले थप खुलाउन चाहेनन् । बरु आफूले एक्लै गएर चेक नलिएको उक्त समयमा साथमा स्थानीय अभिभावक र शिक्षक सहित ४ जना रहेको उनको दावी छ ।
'लामो समय देखि शिक्षकले तलब नपाएको तर तयार चेक हेडसरले कोठामै राखेको रहेछ' उनले भने, 'क्षयरोगले विरामी भएका कारण विद्यालय नआउने भएपछि सर्जु मिसले कोठामै बसिरहेको बेला गएर चेक लिनु भएको हो, त्यतिखेर हामी पनि सँगै गएका त थियौं, तर के कस्तो लेनदेनको कुरा भएको थियो भन्ने मलाई चाँही थाह छैन ।'
घटनाका बारेमा थप बुझ्न शिक्षक नगरकोटीसँग गर्न खोजिएको टेलिफोन सम्पर्क भने सफल हुन सकेन ।
२०५० सालमा स्थापना भएको उक्त विद्यालयमा २०६९ साल देखि शर्मा प्रअका रुपमा कार्यरत छन् । विद्यालयमा शर्मा र अस्थायी करार दरबन्दीका कार्यरत नगरकोटी गरी २ दरबन्दी छ । कक्षा ५ सम्म १५ जना र बालविकासमा २० जना विद्यार्थी रहेको श्रोतब्यक्ति राईले बताए ।
प्रतिक्रिया