Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

केन्द्रीय पुस्तकालयमा बेहाल

बुधबार, ११ पुस २०७५

काठमाडौं ११ पुस / जनशक्ति अभावमा त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालय वेहाल अवस्थामा छ । पुस्तकालयका अनुसार पैँतीस वर्षअघि एक लाख ६० हजार पुस्तक रहँदा ८० जना कर्मचारी पुस्तकालयमा कार्यरत थिए । अहिले चारलाख पुस्तक रहँदा ४३ कर्मचारी मात्र कार्यरत छन् । आवश्यक कर्मचारी अझै पदपूर्ति हुन सकेको छैन ।

पुस्तकालय प्रमुख इन्द्रपसाद अधिकारीका अनुसार, विश्वविद्यालयमै अध्ययनरत विद्यार्थीको स्वयंसेवाबाट पनि पुस्तक मिलाउन सहयोग लिने गरिन्थ्यो । उहाँ भन्नुभयो, “तर समान्य वेतनमा स्वयंसेवक राख्ने प्रयास गर्दा विद्यार्थी युनियनको चर्को विरोध भयो ।”

पुस्तकालयमा ८९ जना कर्मचारीको दरवन्दी छ, दरवन्दी अनुसार पदपूर्ति हुन सकेको छैन । केन्द्रीय पुस्तकालय सहित मुलुकभरका ६१ क्याम्पसका लागि दुइवर्ष अघि लिइएको लिखित परीक्षाको नतिजा अहिलेसम्म प्रकाशन भएको छैन । परीक्षा रद्द पनि गरिएको छैन । विसं. २०७२ सालको भूकम्पले ¥याक लडेर असरल्ल भएका पुस्तक हालै मात्र आंशिक रूपमा व्यवस्थित गर्न सम्भव भएको पुस्तकालयले जनाएको छ । भूकम्पले ढलेका ¥याक टेवुलको व्यवस्थापनको अर्को पाटो व्यवस्थित गर्न बाँकी नै रहेको जनाइएको छ ।

पुस्तकालयमा काठमाडौँस्थिति चीन, कोरिया र अमेरिका राजदूतावासबाट उपहार स्वरुप पठाइएका पुस्तकको छुट्टै युनिट पनि छ । प्रमुख अधिकारीका अनुसार, विभिन्न प्रेसबाट प्रकाशन भएका प्रायः पुस्तक यहाँ आइपुग्छन् ।

भारत सरकारले निर्माण गरेको केन्द्रीय पुस्तकालयको भवन भूकम्पले भत्केर केही भाग बस्नै नहुने अवस्थामा छ । सो भवन पुनः निर्माणमा पहल भइरहेको जनाइएको छ ।

गोरखापत्रबाट

प्रतिक्रिया