Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षककाे हत्या आरोपमा दुई पक्राउ

बुधबार, ११ पुस २०७५

काठमाडौं ११ पुस / सर्लाहीस्थित एक निजी विद्यालय सञ्चालक एवं शिक्षक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। बागमती नगरपालिका–३ मा पर्ने ढुंग्रेखोलाको जिरायतस्थित सुपर भिजन बोर्डिङ स्कुलका सञ्चालक ३० वर्षीय मालिकको हत्यामा संलग्न भन्दै प्रहरीले मंगलबार दुई जनालाई सार्वजनिक गरेको हो।

बरहथवा नगरपालिका–५, हात्तीडण्डाका महतोको हत्या आरोपमा मृतकका ज्वाइँ पर्ने स्थानीय ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका–८, शंकरपुरका २६ वर्षीय रवीन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार ग्रासी, मोटरसाइकल र रगत लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर २ को प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय(सर्लाही) र इलाका प्रहरी कार्यालय (बरहथवा)का प्रहरीको संयुक्त टोलीले गम्भीर अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर उनीहरूविरुद्ध कारबाही प्रक्रिया बढाइएको उनले बताए।

गत शुक्रबार साँझ कसैले फोन गरेर बोलाएपछि घरबाट निस्किएका महतो भोलिपल्ट बिहान हत्या गरिएको अवस्थामा फेला परेका थिए। धारिलो हतियारले टाउको क्षतविक्षत बनाई हत्या गरिएको अवस्थामा उनको शव सोतीखोला चोर्निया पुलनजिक सडकमा फेला परेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका धनेश्वर र उनी साझेदारीमा जग्गा खरिद–बिक्री गर्थे। ६ महिनाअघि हरिवनमा जग्गाको कारोबार गर्दा महतोले एकलौटी नाफा लिएको भन्दै उनीहरूबीच मनमुटाव भएको र त्यसैको रिसमा धनेश्वरले हत्या योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अहिलेसम्मको अनुसन्धानअनुसार धनेश्वरले जिप चालक रवीन्द्र र अर्का एक व्यक्तिलाई तीन हजार रुपैयाँ दिई महतोको हत्या गर्न लगाएको देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। हत्यामा संलग्न अर्का अभियुक्तको पनि पहिचान भइसकेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। मृतक महतोका श्रीमती, तथा ८ र ४ वर्षका २ छोरा छन्।

नागरिकमा  टंक क्षेत्री ले लेखेका छन् ।

प्रतिक्रिया