दाङ् - शैक्षिक भ्रमण सकेर फर्कने क्रममा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी, शिक्षक तथा गाडीका मजदूर प्रति शोक मनाउन आईतबार विद्यालय बन्द गरिएको छ । सल्यान–तुलसीपुर सडक अन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो ।
घोराही उपमहानगरपालिका–७ स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी सल्यानको कपुरकोट स्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरुप्रति शोक मनाउन आफ्नो क्षेत्र भित्र रहेका सबै शैक्षिक संस्था एक दिन लाई बन्द गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
उक्त दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक÷एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् । शिक्षालयको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।
गम्भीर घाइते १२ जनालाई शनिबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । उनीहरुको स्वास्थ अवस्थाका बारेमा बुझ्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, प्राविधिक तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिका सदस्य सचिव पुष्मराण वाग्ल लगायत सरकारी कर्मचारी अस्पताल पुगेका थिए । घाइतेको उपचार खर्च सबै सरकारले व्यहोर्ने प्रक्रिया अघि बढाइएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया