Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

साक्षर पछि अर्को अभियान, डिजिटल साक्षर नेपाल !

आइतबार, ०८ पुस २०७५

काठमाडौं - दुई बर्ष भित्र साक्षर नेपाल घोषणा गरी डिजिटल साक्षर नेपाल अभियान थाल्ने उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रस्ताव गरेको छ । राष्ट्रिय शिक्षा सम्मेलन मार्फत् आयोगले सार्वजनिक गरेको मस्यौदा प्रतिवेदनमा विद्यालय शिक्षा भन्दा बाहिर रहेको समुदायलाई डिजिटल साक्षर बनाउनका लागि सामुदायिक अध्ययन केन्द्र मार्फत् तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने आयोगको प्रस्ताव छ ।

सरकारी गैरसरकारी निकायहरुबाट गुगल ईण्टेल तथा माईक्रोसफ्ट जस्ता बहुराष्ट्रिय कम्पनीहरुको समेत सहयोग लिई डिजिटल साक्षरता सम्बन्धि निशुल्क तालिम सञ्चालन गर्ने आयोगको प्रस्ताव छ ।

यसका लागि सबै स्थानीय तहसम्म द्रुत गतिको ईण्टरनेट सेवाको विस्तार, शैक्षिक रेडियो र टेलिभिजन च्यानलको सञ्चालन दक्ष जनशक्तिको विकास , सूचना तथा सञ्चार प्रविधि मार्फत् अनौपचारिक शिक्षासँग सम्बन्धित साक्षरोत्तर आजिवन सिकाइका कार्यक्रमहरुको सञ्चालन गर्ने आयोगको प्रस्ताव छ ।

राष्ट्रिय योग्यता ढाँचाका आधारमा अनौपचारिक शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई प्रमाणिकरणको ब्यवस्था मिलाई औपचारिक र अनौपचारिक शिक्षा पद्धतीको बीचमा दोहोरो प्रवेश पद्धतीको ब्यवस्था गर्नु पर्ने आयोगको प्रस्ताव छ ।

उक्त प्रस्तावमा नेपालीलाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत हुँदै लोकतान्त्रिक आचरण तथा समाजवादी चेत अनुसार सामाजिक ब्यवहार गर्न प्रेरीत गर्ने पनि उल्लेख छ । विभिन्न कारणले आधारभूत वा माध्यमिक शिक्षा पुरा गर्न नसकेका बालबालिका र प्रौढहरुलाई कम्तिमा माध्यमिक तहसम्मको शिक्षा पुरा गर्ने अवसर जुटाउन अनौपचारिक ढंगले खुला शिक्षा ब्यवस्था गर्न प्रस्ताव गर्दै आयोगले माध्यमिक तहको शिक्षा पुरा गरेपछि खुला विश्वविद्यालय मार्फत् उच्च शिक्षा हासिल गर्न सकिने शैक्षिक संरचनासँग जोड्न पनि प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया