काठमाडौं ७ पुस शनिबार काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विद्यार्थीको शैक्षिक भ्रमण सकेर सल्यानबाट फर्कदैं गरेको बस दुर्घटनाको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । ती मध्ये ५ जनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा १८ पुरुष र ४छन्।दुर्घटनामा १० पुरुष र ५ महिला गरी १५ जना घाइते छन्। घाइतेहरु सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको छ।
मृतकमध्ये गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राबिधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ। अन्यको सनाखत हुन बाँकी छ।
गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो। बस टुक्राटुक्रा भएको र भिरालो भूगोल भएका कारण उद्धारमा समस्या भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन्। रातीको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको र घटनाको कारण थाहा हुन नसकेको उनले बताए।
घटनास्थल तुलसीपुर बजारदेखि करिव १२ किलोमिटर उत्तरमा पर्छ। तुलसीपुर र कपुरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सिमा क्षेत्र नजिक पर्छ। साँघुरो र भिरालो पहाडी भेग भएकाले दुर्घटनापछि उद्धारमा निकै समस्या भएको शाहीले बताएका छन्। राती अवेरसम्म पनि उद्धार चलेको थियो। प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालसहित जिल्लाका सुरक्षा अधिकारी र सबै सुरक्षा अंगहरु उद्धारका लागि परिचालन गरिएको थियो।
यसैवर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक बहुप्राबिधिक शिक्षालयका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको हो। घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु सल्यानको कपुरकोटमा वनस्पती विषयको प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए। फर्कने क्रममा गाडी दुर्घटना भएको शाहीले बताएका छन्।
घाइते हुनेमा बंगलाचुली गाउँपालिका १ दाङकी १६ वर्षीया मनिका रिजाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ २ का १७ वर्षीय जीवन भण्डारी, अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन र हुम्लाका २० वर्षीय बिरेन्द्र बटाला रहेका छन्।
यसैगरी घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ नगरपालिका ४ की १६ वर्षीया पर्सा रोकाया, टिकापुर नगरपालिका ८ कैलालीकी १७ वर्षीया समिक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी र पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेम बहादुर खड्का छन्।
यसैगरी घोराही १४ का १८ वर्षीय सञ्जय खनाल, पश्चिम रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछामको मंगलसेन नगरपालिका ५ का १६ वर्षीय भद्र बिष्ट र परिवर्तन गाउँपालिका ४ रोल्पाका १७ बर्षीय प्रकाश वली घाइते भएका छन्।
कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार बिहान कपुरकोट गएका थिए । फर्कने क्रममा गाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नयाव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया