काठमाडौं - दुई दिन सम्म छलफल गरेर उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रमलाई राष्ट्रिय शिक्षा सम्मेलन भनिएको छ । बुढानीलकण्ठ स्कुलमा बिहीबार हुने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु, प्रदेश ५ का मुख्य मन्त्री र प्रदेश २ का सामाजिक विकास मन्त्रीले समेत सम्बोधन गर्ने तय भएको छ ।
कार्यक्रमका लागि मन्त्रालयले हल उपलब्ध गराउन भनेकोले त्यसको ब्यवस्थापन गरिएको बुढानीलकण्ठ स्कुलका प्राचार्य केशर खुलालले बताए । 'विद्यालयको शैक्षिक गतिविधि यथावत सञ्चालन हुन्छ' उनले भने, 'हामीलाई हल उपलब्ध गराउन भनिएको हो, दुई दिने कार्यक्रमका लागि उक्त ब्यवस्था गरिएको छ ।'
यस विचमा आयोगले संघीय र प्रदेश स्तरमा छलफल गरेर प्रतिवेदनको पहिलो मस्यौदा तयार गरेको छ । उक्त मस्यौदालाई राष्ट्रिय स्तरको शिक्षा सम्मेलन गरी अन्तिम रूप दिन उपयुक्त हुने ठहर गरेर कार्यक्रम गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले बताए ।
गत असार ३२ गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा नेपाल सरकारले गठन गरेको आयोगले देशको बदलिदों संरचना र समय सुहाउँदो शिक्षा नीति तय गर्न सरकारलाई सुझाव दिने छ । ४ महिनाको म्याद सहित गठित आयोगको अवधि गत मंसिर १६ गते सकिए पनि काम नभ्याएको भन्दै ३७ दिन थप गरिएको थियो । यही थप समयमा आयोगका सदस्यहरु छुट्टा छुट्टै समूह बनाएर प्रदेश स्तरीय छलफलमा गएका थिए । आयोगले प्रारम्भिक बाल शिक्षा देखि उच्च शिक्षा सम्मको समग्र शैक्षिक विषयका बारेमा नीतिगत सुझाव दिने छ ।
विद्यालय शिक्षामा भईरहेको निजी लगानीलाई नियमन गर्ने विषय आयोगमा पेचिलो बन्दै गएको छ । संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राखेको सन्दर्भमा विद्यालय शिक्षाको दायित्व राज्यको हुने गरी निजी लगानीका विद्यालयहरुको नियमनको विषयमा आयोगले स्पष्ट धारणा सहित निकास निकाल्नु आवश्यक छ । शिक्षा मन्त्री पोखरेलले नयाँ शिक्षा नीति निर्माणमा संविधान भित्रैबाट हल खोजिने र सर्वसम्मत रुपमा नीति निर्माण गरिने बताउँदै आएका छन् ।
प्रतिक्रिया