Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शौचालयको रकम समेत छाडेनन् हेडसरले ! अख्तियारद्धारा मुद्धा दायर

मंगलबार, ०३ पुस २०७५

काठमाडौं - विद्यालयमा शौचालय बनाउन आएको रकम भ्रष्टाचार गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापक विरुद्ध मुद्धा दायर गरेको छ । सिराहको कडहर्वा पिप्रा स्थित श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद यादवले शौचालय तथा मर्मत शिर्षकमा निकासा रकम हिनामिना गरेको अख्तियारको दावी छ । 

कर्मचारीहरुको संचयकोष र नागरिक लगानी कोष रकम एवं विद्यार्थीको नक्कली हस्ताक्षर गरी छात्रवृत्तिको रकम समेत हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारका दावी छ । हिनामिना गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा पाँच लाख ५१ हजार छ सय ८४ रूपैया ३५ पैसा हिनामिना गरेको अख्तियारको दावी छ । 

आर्थिक वर्ष २०६५/०६६ देखि २०७२/०७३ सम्ममा विद्यालयको छात्रवृत्ति, दलित छात्रवृत्ति, अपाङ्ग र सिमान्तकृत छात्रवृत्ति तथा विद्यालयको भौतिक शौचालय र कक्षाकोठा पुनस्स्थापनाको लागि निकाशा भएको बजेट हिनामिना गरेको अख्तियारको दावी छ । 

विद्यालयको भौतिक निर्माण तर्फ तिन लाख ४१ हजार ४४ रूपैया ३५ पैसा र छात्रवृत्ती वितरणबाट बाकीँ रहेको दुई लाख १० हजार छ सय ४० गरी उक्त रकम हिनामिना गरेको अख्तियारले दावी गरेको छ । 

नेपाल सरकारको सम्पत्ति आफै लिने खाने बदनियत साथ हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचारको कसुर गरेको पुष्टि हुन आएकोले सोही रकम बराबरको विगो सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया