Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकलाई दिने रकम जोहोमा अलमल

मंगलबार, ०३ पुस २०७५

काठमाडौं - अस्थायी शिक्षक परीक्षाको नतिजा सार्वजनिक भएको एक महिना पुग्न लाग्दा समेत शिक्षा मन्त्रालयले उनीहरुलाई विदाई गर्दा लाग्ने रकमको जोहो गर्ने प्रकृया शुरु गरेको छैन । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सोमबार बल्ल १० अर्ब रुपैंया रकम चाहिने भन्दै शिक्षा मन्त्रालयमा प्रस्ताव गरेको श्रोतले जनाएको छ । जब की शिक्षक सेवा आयोगले गत मंसिर १० गते बाट नतिजा सार्वजनिक गर्न थालेको थियो । अब प्राथमिक तहको काठमाडौंको नतिजा मात्रै सार्वजनिक हुन बाँकी छ । आउँदो साताबाट अन्र्तवार्ता शुरु गर्ने आयोगको पूर्व तालिका छ । तर, नतिजामा फेल भएका अस्थायी शिक्षकलाई दिने रकमका बारेमा अहिले सम्म कुनै प्रकृया शुरु भएको छैन । 

'केन्द्रबाट नआईकन कति रकम माग गर्ने भन्ने नै यकिन गर्न सक्ने अवस्था थिएन, बल्ल १० अर्ब चाहिने भनेर मन्त्रालयमा माग आएको छ' मन्त्रालयका उच्च कर्मचारीले भने, 'अब प्रकृया शुरु गर्दा पनि केही समय त लागि हाल्छ ।'

शिक्षा ऐनमा भएको नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षक ब्यवस्थापनका लागि परीक्षा लिएको थियो । परीक्षामा फेल हुने अस्थायी शिक्षकलाई गोल्डेनह्याण्डसेक दिने ऐनमा ब्यवस्था छ ।

तर, उक्त ब्यवस्था अनुसार आवश्यक पर्ने रकम नछुट्याईएकोले शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गरी मन्त्रीपरिषद्बाट स्विकृत गर्नु पर्ने हुन्छ । शिक्षक किताबखानामा रहेको ५ अर्ब २५ करोड रुपैंयाबाट वितरण शुरु गर्दै गर्न सकिने केन्द्रका महानिर्देशक बाबुराम पौडेल तर्क गर्छन् । 

'किताबखानामा भएको रकममा नपुग रकमको ब्यवस्थापन गर्नु पर्ने हो, अहिले भएको रकम वितरण गर्दा गर्दै अर्को रकमको ब्यवस्था भईहाल्छ' उनले भने, 'चरणगत रुपमा रकम दिदैं जान सकिन्छ, सबै भन्दा पहिले परीक्षामा सहभागी नभएकाहरुबाट वितरण गर्दै क्रमशः लिखित र अन्तर्वार्तामा असफल भएकाहरुलाई दिन सकिन्छ ।'

तर, किताब खानामा भएको रकमका लागि पनि आवश्यक प्रकृया पुर्याउनु पर्ने हुन्छ, जुन अहिले सम्म शुरु भएको छैन । 

परीक्षामा फेल भएर पनि विद्यालय गईरहनु पर्दा शिक्षकको मनोभावना कमजोर हुने र प्रभावकारी कार्य गर्न नसक्ने भएकोले चाँडो भन्दा चाँडो उनीहरुलाई विदाई गर्नु पर्ने शिक्षाविद्हरुको तर्क छ । 

 

प्रतिक्रिया