Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

कम छैन सामुदायिकको स्तर, निजीसँगको प्रतिस्पर्धामा सर्वोत्कृष्ट

आइतबार, ०१ पुस २०७५

ललितपुर - सामुदायिक विद्यालयको पठन पाठन कमजोर भयो ! 

शिक्षण सिकाइ खस्क्यो ! 

सामुदायिकका शिक्षक अल्छि भए !

निजीसँग प्रतिस्पर्धा त परको कुरा, पछ्याउने छाँट पनि गरेनन् ! 

निजी विद्यालयलाई अगुवा र सामुदायिक विद्यालयलाई पछुवाको परिभाषामा समेटेका यस्ता प्रतिकृया अक्सर सुन्न पाहिन्छ । 

तर यो मानकलाई भत्काएको छ – जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं – ८ लुभू ज्यामिरकोटमा अवस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयले ! 

उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा भाग लिएका विभिन्न ३४ विद्यालय मध्ये विश्वामित्र गणेश एउटा मात्रै सामुदायिक विद्यालय थियो, जो सर्वाेत्कृष्ट भयो । 

प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले निर्माण गरेका विज्ञान परियोजनाहरुलाई प्रतिस्पर्धा गराईएको थियो । उक्त परियोजना दैनिक जीवनलाई सरल र प्रभावकारी बनाउन कसरी उपयोगी हुन्छ ? कसरी प्रयोग गर्ने जस्ता कार्यका बारेमा विद्यार्थीले बताउनु पर्ने थियो । 

विश्वामित्र गणेशका कक्षा ९ र १० मा पढ्ने ५ जना विद्यार्थीको टोलीले अटोमेटिक स्ट्रिट लाइट स्विचीङ्ग परियोजना निर्माण गरेका थिए । दिनको समयमा निभ्ने र रात परेपछि आफैं बल्ने सडक बत्तिका बारेमा उनीहरुले परियोजना निर्माण गरेका थिए । प्रदर्शनीमा आउने दर्शक, विद्यार्थी र अभिभावकलाई उनीहरुले छायाँ पार्दै आफ्नो उक्त परियाजनाको ब्याख्या गरे ।  

उनीहरुको परियोजना र ब्याख्या गर्ने कौशल हेरेपछि विशेषज्ञहरु सहितको निर्णायक मण्डलले सर्वाेत्कृष्ट घोषणा गर्यो । उनीहरुले प्राप्त गरे प्रमाणपत्र र शिल्ड सहित नगद २० हजार रुपैंया । 

विद्यालयको राम्रो व्यवस्थापन, नियमित पठन पाठन, लगनशिल र जाँगरिला शिक्षक तथा मेहनती विद्यार्थीकै कारण यो उपलब्धि हासिल गरेको विद्यालयको शैक्षिक संयोजक तथा सहायक प्रधानाध्यापक रविन्द्र कुमार थापाले बताए ।

'विद्यालयमा शिक्षक विद्यार्थीको लगनशीलता र अभिभावकहरुको चासो र मायाले नै हामी राम्रो गर्दै गईरहेका छौं' उनले भने, 'अतिरिक्त कृयाकलाप मात्रै हैन विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पनि हामी सफल हुँदै आएका छौं ।'

२०४९ सालमा स्थापना भएको यो विद्यालयमा प्राथमिक तह सम्मका शिक्षक मात्रै स्विकृत दरबन्दीमा कार्यरत छन् । कक्षा ९–१२ मा प्राविधिक धारको समेत पठन पाठन हुँदै आएको विद्यालयका झण्डै ४ सय ३० पवद्यार्थीलाई पढाउने अन्य शिक्षकहरु राहत र निजी श्रोतबाट ब्यवस्था गरिएको छ । २०६६ सालबाट एसएलसीमा सहभागी भएको उक्त विद्यालयको शुरु देखिनै सतप्रतिशत नतिजा थियो । पछिल्लो समय ग्रेडिङ् प्रणालीमा हुने एसईई परीक्षामा पनि राम्रो नतिजा निकाल्दै आएको छ । यस बर्ष साधारण  तर्फ १४ र प्राविधिक तर्फ २६ गरी ४० विद्यार्थी कक्षा १० मा अध्ययनरत छन् । 

विद्यालयमा हुने शिक्षण सिकाइबाटै उक्त प्रतियोगितामा सफलता मिलेको थापा बताउँछन् । 

लुभू जेसिजद्वारा आयोजित उपत्यकाव्यापी उक्त विज्ञान मेला तथा प्रदर्शनीमा उपत्यकाका ३४ माध्यामिक विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा भैंसीपाटि स्थित अस्मिता इङ्गिलस मा.वि.ले द्वितीय स्थान हासिल गरी प्रमाणपत्र र शिल्ड सहित नगद १५ हजार, लामाटार स्थित भ्याली पब्लिक मा.वि.ले तेश्रो स्थानका लागि प्रमाणपत्र र शिल्ड सहित नगद १० हजार र सिद्धिपुर स्थित माउण्ट ओलिभ मा.वि.ले सान्त्वना पुरस्कार स्परुप प्रमाणपत्र र शिल्ड सहित नगद ५ हजार रुपैंया प्राप्त गरे । 

प्रतियोगितामा सफल विद्यार्थीलाई एसईई परिक्षा पश्चात व्रिज कोर्षका लागि पुर्ण छात्रवृत्ति प्रदान गरिने आयोजक लुभू जेसिजका कार्यक्रम संयोजक रमेश महर्जनले घोषणा गरे । 

प्रतिक्रिया