काठमाडौं २३ मंसिर / धनुषा, सबैलास्थित श्री रामप्रसाद माध्यमिक विद्यालयमा छात्रभन्दा दुईगुना बढी छात्रा अध्ययनरत छन्। तीन कक्षाका ३४ विद्यार्थीमा ८ छात्र र २६ छात्रा छन्। कक्षा दुई पाँच छात्र र १६ छात्रा छन्। २४ छात्र रहेको नौ कक्षामा ५४ छात्रा छन्। सबै कक्षामा गरी विद्यालयमा ४ सय ८७ विद्यार्थी भर्ना छन्। जसमा छात्र एक सय ८१ जना रहेको विद्यालयको तथ्यांक छ।
सामुदायिक विद्यालयमा छात्रको तुलनामा छात्राको संख्या दुई गुणाभन्दा बढी हुनुको कारण के हो त ? अभिभावकले छोरीलाई मात्रै विद्यालय पठाउने र छोरालाई काममा लगाउने गरेका हुन वा गाउँमा छोराको संख्या नै कम भएको हो वा छोराछोरीबीच शिक्षमा भेदभाव गरिएको हो ? यिनै प्रश्नको जावाफ सबैला नगर शिक्षा समितिले स्थानीय समाजसँग खोजिरहेको समितिका संयोजक कपिल राउत गडेरीले बताए।
सबैला नगरपालिकास्थित फकिर चन्द गामी मावि, मदन–आश्रित आधारभूत विद्यालय, द्वारिका आधारभूत विद्यालयसहितका सामुदायिक विद्यालयमा पनि छात्र र छात्राको संख्याबीच यस्तै भिन्नता पाइएको संयोजक राउतले बताए। वडा नम्बर ९ स्थित रोयल धनुषा किड्स विद्या निकेतन नामक संस्थागत (निजी) विद्यालयमा सामुदायिक विद्यालयको ठिक उल्टो छात्रको संख्या बढी छ। ‘यहाँ दुई सय विद्यार्थी रहेकोमा ७५ छात्रा र १ सय २५ छात्र छन्’, निकेतनका संस्थापक प्राचार्य खुसीलाल महतोले नागरिकसँग भने।
सबैला–१२, रघुनाथपुरस्थित ज्ञानकुञ्ज पाठशाला नामक अर्को निजी विद्यालयको विद्यार्थी तथ्यांककले पनि स्थानीयले छोरालाई निजीमा र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेको पुष्टि गरेको छ। पाठशालामा १ सय ७५ विद्यार्थी छन्। जसमा ५० छात्रा र १ सय २५ छात्र छन्।
स्थानीय समुदायमा छोरालाई गाउँबाहिरका निजी आवासीय विद्यालयमा पनि पढ्न पठाउने गरेको देखिन्छ। जिल्ला सदरमुकाम जनकपुर, छिमेकी जिल्ला सिरहाको मिर्चैया, सिन्धुली र काठमाडौंका विभिन्न निजी विद्यालयमा सबैला नगर क्षेत्रबाट मात्रै पाँच हजारभन्दा बढी विद्यार्थी पढ्न गएको नगर शिक्षा समितिका संयोजक राउतले बताए। जसमा ९९ प्रतिशत विद्यार्थी छात्र रहेको उनको दाबी छ।
नागरिकमा सुरेश यादवले लेखेका छन् ।
प्रतिक्रिया