Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

आइतबार, २३ मंसिर २०७५

काठमाडौं २३ मंसिर / स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्यापन गराउने निर्णय गर्न थालेका छन् । स्थानीय तहले मातृभाषामा शिक्षण गराउन विद्यालयलाई अनुमति दिन सक्ने प्रावधान रहे पनि अंग्रेजी माध्यममा पढाउन आकर्षित हुन थालेका हुन् । झापा, भक्तपुर र दोलखाका स्थानीय तहले विद्यालयमा अंग्रेजी अनिवार्य गरेका हुन् ।

झापाको कन्काई माविले नेपाली माध्यममा पढ्न चाहने विद्यार्थीलाई भर्ना नै लिँदैन । भक्तपुरको सूर्यविनायक र दोलखाको कालिञ्चोक गाउँपालिकाले आफू मातहतमा विद्यालयमा अंग्रेजी माध्यमलाई अनिवार्य गरिसकेका छन् । सामुदायिक विद्यालय र अभिभावकको मोह अंग्रेजी शिक्षामा बढे पनि विज्ञहरूले भने मातृभाषाको पठनपाठनमा जोड दिएका छन् ।

कम्तीमा कक्षा ३ सम्म बालबालिकाले घरमै बोल्ने भाषामा पढ्न पाउनुपर्ने उनीहरूको तर्क छ । अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनले बालबालिकाले मातृभाषामा पढ्न पाउने अधिकार सुनिश्चित गरेको छ । मातृभाषाको सट्टा अंग्रेजीमा पठनपाठन गराउँदा शिक्षाको गुणस्तरसमेत खस्केको विज्ञहरूको दाबी छ ।
शिक्षाविद् विनय कुसियतले संविधान र ऐनको मर्मविपरीत अंग्रेजी भाषामा पढाउने लहर चलेको उल्लेख गर्दै बालबालिकाले आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था राज्यले मिलाउनुपर्ने बताए । ‘संविधान, ऐन र अन्तर्राष्ट्रिय अभ्यासले मातृभाषामा पढाऊ भनेको छ,’ उनले भने, ‘बालबालिकाले मातृभाषामा पढ्न नपाउने भए संविधान खारेज गरे हुन्छ ।’

घरमा बोल्ने भाषामै कक्षा कोठामा पढ्न नपाउँदा सिकाइ स्तरसमेत खस्केको उनको दाबी छ । ‘विद्यार्थीले बीचैमा कक्षा छोड्नुको कारण पनि भाषा नबुझेर हो,’ उनले थपें, ‘बालबालिकाले जुन भाषा सजिलै बुझ्छन् त्यही भाषामा पढाउनुपर्छ ।’ सामाजिक विषयसमेत अंग्रेजी माध्यममा पढाएकामा कुसियतले असन्तुष्टि व्यक्त गरे । उनी पाठ्यक्रम विकास केन्द्रका सामाजिक विषयका विज्ञसमेत हुन् । ‘सामाजिक विषय पनि अंग्रेजीमा पढाउनु भनेको रेडिमेड पढाइ हो,’ उनले भने ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी स्थानीय तह र अभिभावकहरूको भ्रमका कारण अंग्रेजी प्राथमिकतामा परेको बताउँछन् । ‘पढाइ भनेको बुझिने हुनुपर्छ,’ शिक्षा पत्रकार समूहले शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘मातृभाषा राम्रो नभई दोस्रो भाषा राम्रो हुनै सक्दैन ।’ बालबालिकालाई मातृभाषामा पोख्त बनाएर मात्रै अंग्रेजीलगायत दोस्रो भाषा सिकाउनुपर्ने उनको सुझाव छ ।

अवस्थीका अनुसार जबर्जस्ती अर्को भाषामा सिकाए विद्यार्थीले पाएको शिक्षा, सिकाइ र गुणस्तर फलदायी हुन सक्दैन । उनीहरूले अंग्रेजी भाषा जान्नु अनिवार्य भए पनि माध्यम भाषा नै बनाउनु गलत भएको टिप्पणी गरे । पाठ्यक्रम विकास केन्द्रले मातृभाषालाई प्रोत्साहन गर्न २४ भाषाका पाठ्यक्रम तयार पारिसकेको छ । रसुवाको ग्राड प्राविमा शिक्षणको भाषा तामाङ छ भने काठमाडौंको महेन्द्र मावि बौद्ध काठमाडौंमा एक विषय तामाङ भाषामा पनि पढाइ हुन्छ ।

तामाङभाषी विद्यार्थी धेरै भएका कारण मातृभाषामा पनि पढाउन थालेको ती विद्यालयले जनाएका छन् । ‘अंग्रेजी माध्यममा पढाउँदा सामाजिकलगायत विषयमा धेरै विद्यार्थी फेल हुन थाले,’ महेन्द्र माविका प्रधानाध्यापक धमेन्द्र खकुरेलले भने, ‘पढाउने भाषा विद्यार्थीले बुझ्ने हुनुपर्ने रहेछ ।’ केही विषय अंग्रेजी माध्यममा शिक्षण गरे पनि माथिल्लो कक्षामा पनि सामाजिकलगायत विषय नेपालीमा अध्यापन गराउनुपर्ने शिक्षकहरूको सुझाव छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०१७ मा तयार पारेको प्रतिवेदनले समेत मातृभाषाको सिकाइ प्रभावकारी हुने औंल्याएको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया