Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

स्रोत व्यक्तिको भरमा शिक्षा शाखा

मंगलबार, १८ मंसिर २०७५

काठमाडौं १८ मंसिर / सल्यानमा स्थानीय तह सञ्चालन भएको डेढ वर्ष पुगिसक्दा समेत स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ । स्थानीय विकासका लागि संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइसकेको छ तर कर्मचारी नहुँदा काम प्रभावित हुँदै आइरहेका छन । स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा शिक्षासम्बन्धी काम बढी प्रभावित भएका छन् । जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिका रहेको स्थानीय तहमा स्रोत व्यक्तिको भर शिक्षा शाखा सञ्चालन हुँदै आइरहेको छ ।

स्थानीय तहको शिक्षा शाखामा, उपसचिवसरहको एक कर्मचारी, एकजना विद्यालय निरीक्षक, दुईजना स्रोत व्यक्ति र प्राविधिक सहायकको दरबन्दी भए पनि जिल्लाका १० वटै स्थानीय तहमा दुई स्रोत व्यक्तिले कार्य सञ्चालन गर्दै आइरहेका छन् । दरबन्दी अनुसारको कर्मचारी नहुँदा अनुगमन तथा निरीक्षणको काम निकै प्रभावित हुने गरेको शारदा नगरपालिकाको शिक्षा शाखा समालेका स्रोत व्यक्ति वीरबहादुर चलाउनेले बताए। उनले भने– ‘यस नगरपालिकामा ५७ वटा सामुदायिक विद्यालय, १३ संस्थागत विद्यालय छन् तिनको अनुगमन गर्ने कि कार्यालयमा बसेर कार्यालयको काम गर्ने निकै समस्या हुने गरेको छ ।’

साबिकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएको प्रशासनिक तथा विद्यालय अनुगमन, निरीक्षणको काम गर्नुपर्ने भए पनि सो अनुसारको काम गर्न नसकिएको उनको भनाइ छ । उनले अघि भने, ’प्रशासनकै काममा अल्झिँदा अनुगमनको पाटो छुटेको छ । मैले विद्यालयमै धेरै अनुगमन गर्नुपर्ने हो तर त्यो गर्न सकिरहेको छैन ।’

दरबन्दी अनुसारको कर्मचारी नहुँदा प्रशासनिक कामलगायत निरीक्षणको काम प्रभावकारी हुन नसकेको वागचौर नगरपालिकाका स्रोत व्यक्ति तथा शाखा प्रमुखको जिम्मेवारी समालेका टेकबहादुर डिसीले बताए । उनले भने, ’दुईजना कर्मचारी छौँ फिल्डको काम गर्ने कि कार्यालयमा बसेर प्रशासनिक काम गर्ने निकै समस्या भएको छ । संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्म कक्षा सञ्चालनको जिम्मा दिएको छ भने अर्को्तिर आवश्यक जनशक्ति पठाउन सकिरहेको छैन डिसीले बताए। कर्मचारी अभाव हुँदा वडास्तरसम्म शिक्षा समिति गठन गरी शिक्षा समितिलाई नियमन तथा अनुगमन गरि दिन आग्रह गरेको डिसीको भनाइ छ ।

कुमाख गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी शर्माले दरबन्दीअनुसारको कर्मचारी नहुँदा काम गर्न चुनौती रहेको बताउँछन् । प्रयाप्त मात्रामा जनशक्ति छैन दुईजना कर्मचारीले प्रशासनको काम गर्ने कि फिल्डमा गएर अनुगमन गर्ने? कुमाख गाउँपालिका विगत भएका कारण पनि थोरै शक्तिले अनुगमन गर्न झनै समस्या हुने गरेको शर्माले बताए ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या शिर्षकमा नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेको खबर । 

प्रतिक्रिया