Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

१ सय ६१ विद्यार्थीलाई एक जना शिक्षक १

आइतबार, १६ मंसिर २०७५

काठमाडौं १६ मंसिर / शिक्षक व्यबस्थापनअन्तर्गत् शिक्षक दरबन्दी मिलान गर्ने कार्य जिल्लामा प्राथमिकतासाथ अगाडि बढाएर दरबन्दी मिलान गर्ने कार्यका लागि जिल्लास्तरीय एकार्इंंलाई सहजीकरण गरिँदै आए पनि १ सय ६१ जना विद्यार्थी रहेको विद्यालयमा केवल एकजना मात्र शिक्षक रहनु अचम्मको विषय बनेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोला चिसापानीको चेपाङ प्राविमा सरकारी दरबन्दीका शिक्षक एक जनामात्र छन् । चिसापानी, चुवाँरपाखा, बनकरियाटोल लगायत स्थानका बिपन्न चेपाङ, तामाङ र बनकरिया समुदायका विद्यार्थी अध्ययनरत् विद्यालयमा एक जनामात्र सरकारी दरबन्दीका शिक्षक छन् ।

६ वटा कक्षा सञ्चालन भइरहेको विद्यालयमा निजीस्रोत र बालविकास सहयोगी कार्यकर्ता समेत गरी जम्मा ४ जना शिक्षक छन् । ‘विद्यालयमा ४ जना छौं, सरकारी दरबन्दीको ममात्र हुँ,’ प्रधानाध्यापक राजेन्द्र न्यौपानेले भन्नुभयो–एक जना बालविकास सहयोगी र २ जना निजीस्रोतका शिक्षक छन् ।
४ वटा कक्षामा पढाइ भइरहँदा दुई वटा कक्षा शिक्षकविहीन हुने गरेको छ । आफू विद्यालयमा आएदेखि नै दरबन्दी थप्न विभिन्न प्रयास गरेको जानकारी दिँदै उहाँले दरबन्दी र पर्याप्त शिक्षक नहुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको गुनासो गर्नुभयो ।

न्यून पारिश्रमिकमा पढाउन बाध्य निजीस्रोतका शिक्षकले समेत समयमा तलब पाउने गरेका छैनन् । ‘पढाउन शिक्षक नै छैनन् भने बालबालिकालाई कोठामा थुनेरमात्र कसरी शिक्षा दिन सकिन्छ ?,’ प्रअ न्यौपानेले प्रश्न गर्नुभयो । र, भन्नुभयो– यस विषयमा स्थानीय तहदेखि सरकारी निकायको समेत ध्यान जानु आवश्यक छ ।

हेटौंडा उपमहानगरसँग जोडिएको गाउँपालिकाको विद्यालय भएर पनि बिकटको विद्यालय झैं अबस्था रहेको विद्यालय व्यबस्थापन समिति अध्यक्ष विष्णु प्रजाले बताउनुभयो । ‘गरिब चेपाङ, बनकरियाका छोराछोरी पढ्ने विद्यालय भएर पो हो कि शिक्षा कार्यालय र स्थानीय तहले पनि खासै ध्यान दिएका छैनन्,’ दुःखेसो गर्दै प्रजाले भन्नुभयो–विद्यालयमा शिक्षक दरबन्दी थप्न धेरै ठाउँमा पहल गरिसक्यौं तर कतैबाट सहयोग भएको छैन ।

विद्यालयले दिएको जानकारीअनुसार प्राविमा ७५ प्रतिशत चेपाङ विद्यार्थी छन् भने बाँकी बनकरिया र तामाङ समुदायका विद्यार्थी छन् । २०६३ सालमा स्थापना भएको विद्यालयमा बीचमै स्कुल छाड्ने विद्यार्थी करिब १२ प्रतिशत छन् । उक्त विद्यालयको अबस्थालाई विचार गरेर बसामाडी जेसीजले शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरेको छ ।

शिक्षक दरबन्दी मिलान सहजीकरणका लागि शिक्षा विभागले विद्यार्थी जतिसुकै कम भए पनि कक्षा १–३ सञ्चालित विद्यालयका लागि न्यूनतम् दुई जना, कक्षा १–५ सञ्चालित विद्यालयका लागि तीन जना, कक्षा १–८ सञ्चालित विद्यालयका लागि सात जना, कक्षा ९–१० सञ्चालित विद्यालयका लागि पाँच जना शिक्षक हुनुपर्ने व्यबस्था गरेको उल्लेख छ ।

‘विद्यार्थी जहाँ छन्, शिक्षक त्यहाँ हुनुपर्छ’ भन्ने सरकारी मर्म यहाँ अन्यौलमा परेको छ । शिक्षक दरबन्दी मिलान कार्यले प्रभावकारीरुपमा गति लिननसकेका कारण भनसुन गर्न नसक्ने अभिभावक र शिक्षक भएका विद्यालय हेरेको हे¥यै भएका छन् ।

नेपाल समाचारपत्रबाट । 

प्रतिक्रिया