झापा – गुणस्तर सुधार्न विद्यार्थीलाई टाई र वेल्ट !
सुन्दा पनि आश्चर्य लाग्ने !
तर, कनकाई नगरपालिका–१ स्थित पशुपति प्राथमिक विद्यालयका सबै ६० विद्यार्थीलाई वीरता जेसीजले टाई, वेल्ट वितरण गरेको हो । शिक्षाको गुणस्तर बढाउन टाई र वेल्ट बाँडेको दाताको तर्क छ !
गुणात्मक शिक्षाका लागि टेवा पुर्याउन उक्त सामग्री वितरण गरेको अध्यक्ष एकराज गिरीले बताए । गिट्टी कुट्ने र अन्य मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा गुणात्मक शिक्षाका लागि टेवा पुर्याउन उक्त सामग्री वितरण गरेको उनको तर्क छ ।
सम्पन्न परिवारका आफ्ना छिमेकी तथा साथीहरु टाई, बेल्टमा सजिएर निजी विद्यालय गएको देख्दा आफूहरुले पनि त्यस्तै लाउन पाए हुन्थ्यो भन्ने उनीहरुको मनोभावना रहेको भन्दै प्रधानाध्यापकले नै उक्त सामग्री माग गरेको आधारमा वितरण गरेको गिरीले बताए ।
'विद्यालयबाटै भएको मागका आधारमा हामीले उक्त सहयोग गरेका हौं' गिरीले भने, 'टाई, वेल्ट पाउँदा बालबालिका हर्षित छन्, यस अघि पनि हामीले ब्याग, जुत्ता–मोजा, ज्यामिती बक्स, कापी लगायतका सामग्री प्रदान गरेका थियौं ।'
निजि विद्यालयमा पढ्नेहरुले लगाएको देख्दा आफ्ना विद्यार्थीमा हीन भाव नआओस् भनेर उक्त सामग्री माग गरेको प्रधानाध्यापक गोविन्द चौहान बताउँछन् ।
'हाम्रो विद्यालय नजिकै ३-४ वटा बोर्डिङ् छन्, त्यहाँ पढ्नेहरु टाई वेल्ट लगाएर जान्छन्, हाम्रामा पढ्नेहरु अधिकाँश सीमान्तकृत र जनजाती छन्, उनीहरु निजीमा पढाउन सक्दैनन् बरु उनीहरुलाई निजीकै जस्तो सुविधा दिएर गुणस्तर बढाउन हामीले यो काम गरेका हौं' चौहानले भने, 'बोर्डिङ्मा पढ्नेहरुले जस्तै टाई वेल्ट लगाउन पाउँदा विद्यार्थी मात्रै हैन सित्तैमा पाउँदा अभिभावक पनि निकै खुसी भएका छन्, यसले गुणस्तर बढाउन सघाउँछ ।'
२०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा चौहान २०५५ साल देखि प्रधानाध्यापक छन् । शुरुमा विद्यार्थी संख्या धेरै भएको उनकै अनुभव छ । अहिले विद्यार्थी घट्ने क्रम जारी नै छ । बाल कक्षा देखि कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा विद्यार्थी संख्या भने जम्मा ६० जना मात्रै छ । शुरुमा धेरै विद्यार्थी भए पनि अभिभावकले निजीमा पढाउन थालेपछि क्रमशः विद्यार्थी घट्दै गएको उनको तर्क छ ।
'के गर्नु घर घरै बस आउँछन् टिपेर लैजान्छन्, सामुदायिकमा पढ्ने विद्यार्थी नै छैनन् कसरी बढ्थ्यो र !' चौहान भन्छन्, 'अब यूकेजी एल केजी पनि चलाएर अँग्रेजीमा पढाउन सकियो भने गुणस्तर सुधार हुने थियो, केही श्रोत जुटाउन सकियो भने त्यो काम गर्ने योजना छ ।'
विद्यालयमा २ जना स्थायी, १ जना अस्थायी, १ जना राहत, १ जना बालविकास कार्यकर्ता र १ कर्मचारी गरी ६ जना जनशक्ति छ । यी सबैका लागि सरकारले तलब दिन्छ ।
विद्यालय भित्रै शिक्षक स्वयंले गर्न सक्ने शैक्षिक सुधारका कुरा भन्दा पनि हेडसरले वरीपरिका बोर्डिङ् स्कुललाई चुनौती ठानेका छन् !
त्यसैले उनले देखेको गुणस्तर सुधार्ने उपाय 'अँग्रजी माध्यम र टाई वेल्ट' मा पुगेर सकिएको छ !
फोटो : वीरता जेसीस
प्रतिक्रिया