काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले संघीय संरचना अनुसार आफ्ना कार्यालय खोल्ने निर्णय गरेको छ । बुधबार बसेको बोर्ड बैठकले यस अघिका शाखा कार्यालयको नाम बदलेर प्रदेश कार्यालय बनाउने निर्णय गरेको हो । यो निर्णय संगै तीन नम्बर प्रदेशको राजधानी हेटौंडा बाहेकका शाखा कार्यालय अब प्रदेश कार्यालय हुने छन् । तीन नम्बरको प्रदेश कार्यालय भने संघीय राजधानी काठमाडौंमा रहेको शाखा कार्यालयलाई तोकिएको छ ।
यस्तै यस अघि शाखा कार्यालय नरहेको प्रदेश राजधानी सुर्खेतमा नयाँ प्रदेश कार्यालय खोल्ने निर्णय भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यस अघिका अन्य सबै शाखा कार्यालय भने यथावत रहने छन् । लहान, हेटौंडा, दाङ्, कोहलपुर र डडेल्धुराका शाखा कार्यालय यथावत रहने पौडेलले बताए । ती कार्यालयमा अहिलेकै जनशक्तिले काम काज गर्ने छन् । नयाँ संरचना अनुसार तयार दरबन्दी स्विकृत भएपछि मात्रै ब्यवस्थित रुपमा प्रदेश कार्यालय सञ्चालन हुने पौडेलले बताए ।
देश संघीयतामा गईसकेको अवस्थामा कार्यालयको संरचना पनि सोही अनुसार बनाउन पर्ने भए पनि बोर्डले निर्णयमा ढिलाई गर्दै आएको थियो । जसका कारण तीन बर्ष अघि नै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनमा ढिलाई हुँदै आएको थियो । जसको उदाहरण कक्षा १० को अन्तिममा लिने एसईई परीक्षा हो ।
पढ्नुहोस् : एसईईको तालिका सार्वजनिक, यो बर्ष पनि केन्द्रबाटै परीक्षा
प्रदेश कार्यालय स्थापना भएसँगै एसईई सहित कक्षा ११ र १२ का परीक्षा सञ्चालनमा प्रभावकारी काम हुने पौडेलले दावी गरे ।
प्रतिक्रिया