काठमाडौं १३ मंसिर / ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ पात्लेमा छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई कारबाही हुने भएको छ । नयाँ पत्रिकाका अनुसार स्थानीय जनता आधारभूत विद्यालयले आफ्नो क्षेत्रभित्रका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
अभिभावककै कारण बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुँदै गएकाले यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए । ‘स्कुल नपठाई छोराछोरी घरमा राखेर काम लगाउने अभिभावकलाई बालश्रम शोषण गरेको भनेर विद्यालयले उजुरी गर्छ र कारबाहीका लागि हामी सिफारिस गर्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘शिक्षित र सभ्य समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । सबै बालबालिका विद्यालय पठाएर आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि अभिभावकले पनि चासो देखाउनुपर्छ ।’ स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफलपछि यस्तो निर्णय गरिएको उनले बताए । यो निर्णयले बालबालिका विद्यालय जाने दर बढ्ने अपेक्षा गरिएको छ ।
गाउँमा बालविवाह रोक्न जनता आधारभूत विद्यालयले सचेतना अभियान पनि थालेको छ । विद्यालयमा बालबालिकालाई नियमित पाठ्यक्रमका अतिरिक्त सामाजिक कुरीतिविरुद्धको शिक्षा दिन थालिएको छ ।
नयाँ पत्रिकामा पूर्णप्रसाद न्यौपानेले लेखेका छन् ।
प्रतिक्रिया