काठमाडौं १२ मंसिर / किसानका खुसीका लागि झापाको हल्दिबारी गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ । गाउँमै प्राविधिक उत्पादन गर्न ‘भेटेनरी’ विषय पढाउने काम थालनी भइसकेको छ । विद्यार्थीलाई कम्प्युटर शिक्षा अनिवार्य दिन ११ घुम्ती शिक्षक समेत छानेको छ ।
प्राविधिक शिक्षालाई बढावा दिन गाउँपालिका आफैंले लगानी गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले बताए । ‘गरिब विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा पठाएका छौं । गाउँपालिकाभित्रका स्कुलमा कम्प्युटर शिक्षा पढाउन घुम्ती शिक्षकको व्यवस्थासमेत भइसकेको छ,’ गिरीले भने । चालु वर्ष गाउँपालिकाले १० विद्यार्थीलाई प्राविधिक विषय ‘भेटेनरी’ पढाउँदै छ ।
पाँचवटा वडाबाट २ जनाका दरले एसईई उत्तीर्ण गरेका १० गरिब तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई भेटेनरी विषय पढाएको उनले जानकारी दिए । १८ महिने कोर्सका लागि यो वर्ष गाउँपालिकाले २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाको लगानीमा वडा१ का आशा खेवाङ र जमुना सोरेन, २ का दीपेश राजवंशी र शारदा वन, ३ का प्रफुल मण्डल र मनीषा भारती, ४ का निर्मलाकुमारी राजवंशी र रोशन ढुंगेल तथा वडा ५ का सुनीलमुर्मु र रमेशकुमार भट्टराई भेटेनरीपढ्दै छन् । गाउँपालिकाले उनीहरूमध्ये ५ लाई माछा समूह र ५ जनालाई पशु समूहको प्राविधिक बनाउने तयारी गरेको छ ।
गाउँपालिकाले चालु वर्षको बजेटबाट ‘हल्दिबारीको वाचा, झापा भरी माछा’, ‘किसानको खुसी, पशुपालन र कृषि’ लगायत कार्यक्रम लागू गरेको छ । कार्यान्वयन गर्न प्रत्येक वडामा १/१ माछा र पशु प्राविधिक खटाउने गरी उनीहरूलाई भेटेनरी पढाउँदै गरेको हो,’ गिरीले बताए ।
गाउँपालिकाभित्रका विद्यालय सुधारका लागि संघीय सांसद राजेन्द्र लिङ्देनले घुम्ती शिक्षकलाई मासिक २२ हजार १ सय ५० का दरले तलब दिने सम्झौता गरेको बताए ।
कान्तिपुरमा अर्जुन राजवंशीले लेखेका छन् ।
प्रतिक्रिया