एउटा नगरपालिकाले क्रान्तिकारी निर्णय गर्यो – अब यो नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका कक्षा तीन सम्मका विद्यार्थीको पठन पाठन अँग्रेजी माध्यममा हुने छ !
यो निर्णय सुने पछि मैले एउटा विद्यालयको शिक्षकलाई सोँधे – तपाईको नगरपालिकाले त यस्तो निर्णय गरेछ ! लागू गर्नु भएको छ ?
उहाँले भन्नु भयो – हामीले त पाँच बर्ष अघि देखि गर्दै आएका छौं सर ।
अनी मैले सोँधे – तपाईहरुले त गर्दै आउनु भा रैछ, अरु विद्यालयले के गर्दै छन् त ?
उहाँले भन्नु भो – लागू गरेको जस्तै जस्तै छ ।
तपाईले त पाँच बर्ष सम्म यो अनुभव गरिसक्नु भएको रहेछ, तपाईहरुले शुरु गर्दा जो विद्यार्थी कक्षा १ मा थियो त्यो अहिले कक्षा ५ मा पुग्यो, प्रभावकारी कस्तो देख्नु भा छ त ?
पाँच बर्ष अघिका बच्चाहरु कक्षा ६ मा पुग्दा अँग्रेजी कमजोर थियो मान्छु, तर उनीहरु नेपाली लेख्न सक्थे, पढ्न सक्थे, बुझ्न सक्थे, अहिले उनीहरु अँग्रेजी पनि जान्दैनन् नेपाली पनि जान्दैनन् ।
कति भयावह छ अवस्था !
म कहिले काँही राजनीतिक नेताहरुको ठाउँमा आफूलाई राखेर सोच्छु । मानौ म कुनै मेयर हुँ, अथवा कुनै पालिकाको नेतृत्व गर्छु अथवा वडाध्यक्ष हुँ ।
मैले सोचेको छु, मेरो पालिकाका सबै विद्यालयमा अँग्रेजी माध्यम शुरु गर्छु, अँग्रेजी यस्तो राम्रो बनाउँछु की शिक्षाको गुणस्तर बढ्छ !
अनी सञ्चार माध्यममा समाचार आउँछन् – अँग्रेजी माध्यमका कारण विद्यार्थी बढे ! गुणस्तरमा सुधार भयो !
कुनै एक पत्रकारले गुणस्तर कसरी जाँच्यो र सुध्रेको कसरी थाह पायो ?
होला बच्चाले २–४ वटा शब्द अँग्रेजीमा बोल्न जान्यो होला, के त्यही गुणस्तर बृद्धि हो ?
हामी सबैले स्विकारेका छौं – अँग्रेजी भाषा ज्ञान हैन । त्यो ज्ञान हैन भने गुणस्तर कसरी बढ्यो ?
अँग्रेजी माध्यमको पठन पाठनको कुरा माथि देखि लादिँदै लादिँदै पालिकाहरु सम्म आयो । पालिकाहरुमा निर्णय गर्ने लहर चलेको छ, पालिकाले शिक्षक माथि ! शिक्षकलाई प्रेसर छ, विद्यार्थी माथि लादियो, अन्ततः यी सबैको प्रेसर थेगेर बसेको छ – एउटा विद्यार्थी ! जो बोल्न सक्दैन, अझ भनौं बोल्नै पाउँदैन विद्यालयमा !
एउटा राजनीतिक नेतृत्वका रुपमा मैले भनेको छु – अँग्रेजी माध्यम बनाएर म शिक्षामा क्रान्ति गर्छु ।
यो पनि भन्दै छु – ठाउँ ठाउँमा भाषण पनि गर्दै छु – म नेता, मेयर, वडाध्यक्ष भएकाले संस्कृतीको संरक्षणको लागि म ज्यान दिने छु ।
तर संस्कृती भनेको त भाषा पनि होला नी !
अनी अँग्रेजीमा पठन पाठन गरेर कसरी भाषा र संस्कृतीको संरक्षण भयो ?
यो खालको विरोधाभाषपूर्ण कुरा हाम्रो नेतृत्वले बोल्दै छ ।
शिक्षकहरुलाई बाध्य बनाईएको छ । तर उनीहरु मध्ये कतिले सकेका छैनन् ।
र उनीहरुलाई अप्रत्यक्ष रुपमा भनिएको छ – यदि अँग्रेजीमा पढाउन सक्दैनौ भने 'गेट आउट' !
कि सक्नु पर्यो त्यस्ता शिक्षकलाई गेट आउट गर्न नत्र भने बालबालिकालाई न अँग्रेजी जान्ने न नेपाली जान्ने अवस्थाबाट मुक्ति दिलाउनु पर्छ ।
भाषाकै कारणले कति बालबालिकालाई विद्यालय जानु भनेको जेल जानु हो भन्ने भावनाको विकास भएको छ, त्यसबाट मुक्ति दिउँ ।
भक्तपुर सूर्यविनायक स्थित शान्ति निकेतन माविका शिक्षक श्रेष्ठद्धारा विद्यालय तहमा बढ्दो अँग्रजी माध्यमको पठन पाठनका विषयमा सोमबार आयोजित कार्यक्रममा ब्यक्त विचार ।
यो पनि पढ्नुहोस् : शिक्षाविद् सोध्छन् खै मन्त्रालय ? सहसचिव भन्छन् बिचरा शिक्षा मन्त्रालय !
प्रतिक्रिया