Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

दस मुलुकका भाषाशास्त्री राजधानीमा

सोमबार, १० मंसिर २०७५

काठमाडौं १० मंसिर / विभिन्न भाषाका पक्षमा छलफल गर्न दस मुलुकका भाषाशास्त्रीहरू नेपालमा भेला भएका छन् । भाषा विज्ञान समाज नेपाल र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा ३९ औं भाषा सम्मेलन सुरु भएको हो ।

कीर्तिपुरस्थित त्रिवि सेडा हलमा दुई दिन चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अमेरिका, अस्ट्रेलिया, हङकङ, भुटान, स्वीडेनलगायत मुलुकका भाषाशास्त्री सहभागी रहेको समाजका महासचिव कर्णाखर खतिवडाले जनाएका छन् ।

सम्मेलनमा विभिन्न भाषाको ध्वनि, रूप, वर्ण, वाक्य, अर्थ र प्रयोग सन्दर्भ, भाषा नीति तथा योजना, प्रयोग, वक्ताको अभिवृत्ति, भाषिक स्थिति तथा भाषा लोपका पक्षमा केलाइनेछ ।

‘समाजका भाषिक पक्ष, मातृभाषा, बहुभाषी र विदेशी भाषा शिक्षाजस्ता भाषा शिक्षणसम्बन्धी पक्ष, भाषा प्रविधि, भाषाको पारिवारिक तथा ऐतिहासिक विकास, भाषाका जाति विशिष्ट र सांस्कृतिक पक्षलगायत विषय समेटिने छन्,’ समाजले भनेको मुलुकमा बोलिने भाषाहरू धिमाल, चेपाङ, बराम, भुजेल, नेवार, दुमी, नेपाली, तामाङ, मैथिली, भोजपुरी, मागधी, संस्कृत, हायु, गुरुङ, चाम्लिङ, उर्दू, उराव, मगर, दुरा, कुकी, दार्चुलेली, बान्तवा, लिम्बू र कुलुङ भाषाबारे कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा जर्मनीको किल युनिभर्सिटीका प्राध्यापक जोन पिटर्सनले ‘पूर्वी केन्द्रीय दक्षिण एसियाका विशेष सन्दर्भमा दक्षिण एसियामा प्राग ऐतिहासिक कालमा अस्ट्रो एसियाली परिवारका भाषाहरूको विस्तार’ शीर्षकमा मूल प्रवचन दिनेछन् ।

भाषा आयोगका तर्फबाट सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक विशेष सत्र सञ्चालन हुने पनि समाजले जनाएको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया