शिक्षा जीवनको साधन र सारथी हो । शिक्षा विनाको जीवन गुणस्तरहीन, निरस र समस्या युक्त पट्यार लाग्दो हुन्छ । एक्काईशौं शताव्दिमा जीवनको गोरेटो शिक्षामय हुनु जरुरी छ । सन् २०१५ सम्म नेपालको मात्र नभै विश्वकै ध्यान शिक्षामा पहुँचमा थियो भने अहिले यो एउटै गन्तव्य गुणस्तरमा केन्द्रित भएको छ । मूल मर्म गुणस्तरीय जीवन यापनका लागि हो । जीवनस्तरमा सुधार कै लागि हो । अपेक्षित अवस्थाको प्राप्ति, चाहना र उपलब्धता बीचको दूरी शुन्य हुनु गुणस्तर हो । गुणस्तरीय शिक्षाले नै व्यक्तिगत जीवनमा सफलता, सामाजिक भूमिकामा सक्रियता र सहकार्यात्मकता, राष्ट्रिय उन्नयन, विकास र समृद्धिमा टेवा पुर्याई मानव विकासको सूचकमा उकालो लगाउँछ ।
गुणस्तर महंगो (Expensive) हुन्छ । गुणस्तरको तुलनात्मक लाभ (Comparative advantage) बढी हुन्छ । गुणस्तरले बढी लगानी (Input) खोज्छ । जुन लगानी आर्थिक मात्र नभै मानवीय, भौतिकका अतिरिक्त समय र सकारात्मक प्रवृत्तिको हन्छ । जुन लगानीको मियो (Centre) को रुपमा रहन्छ । गुणस्तर सापेक्षिक (Relative) हुन्छ । गुणस्तर समय र प्रविधिको विकाससँगै परिवर्तनशील रहन्छ र रहनु पर्छ । हिजोको गुणस्तर आज गुणस्तरीय नहुन पनि सक्छ । आजको गुणस्तरले भोलि काम नगर्न पनि सक्छ । गुणस्तरको सर्वस्वीकार्य मानक छैन र हुन्न पनि ।
शिक्षाको दियो र मियो भनेकै अभिभावक, शिक्षक सहकार्य हो । जसले विग्रिएको अवस्थामा पनि प्रकाश दिन नसके पनि ताप दिन्छ । यो दुवै पक्षको पवित्र लक्ष्य बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्नु सँग जोडिन्छ । उत्पादित जनशक्तिको व्यक्तिगत र सामुहिक जीवनमा रहेको सफलतासँग गुणस्तरीय शिक्षाको मन जोडिन्छ ।
विद्यार्थीले परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क वा ग्रेडको आधारमा मात्र गुणस्तर हेर्नु साँघुरो सोच र गरीब बुझाइ हो । सैद्धान्तिक ज्ञान र व्यवहारिक कार्य जोडिनु र समदिशाबाट लक्ष्योन्मुख हुनु गुणस्तरको अवस्था हो । अभिभावकको सहयोग, समन्वय र सहकार्यबाट मात्र शैक्षिक लगानी, प्रक्रिया र प्रतिफल गुणस्तरीय बनाउन सकिन्छ । त्यसैले गुणस्तरीय शिक्षा भनेको गुणस्तरीय लगानी, गुणस्तरीय प्रक्रिया र गुणस्तरीय प्रतिफलको गुणन हो ।
भनिन्छ Quality of education system cannot exceed the quality of its teachers यसको मर्म हो शिक्षकको गुणस्तर शिक्षा प्रणालीको गुणस्तर र विद्यार्थीको सिकाइ उपलब्धि बीच सह सम्बन्ध ( Co-relation) छ । शिक्षक नै महत्वपूर्ण पक्ष हो र हुनु पर्छ ।
शिक्षाको अन्तिम लाभ भनेको नागरिकमा खुशिपन ल्याउनु हो । यो नै समृद्ध नेपाल, सुखी नेपाली Prosperous Nepal, Happy Nepalese को अवस्था हुन्छ । विश्व खुशिपन सूचक ( world happiness index ) २०१७ को प्रतिवेदनमा नेपाल १०१ औं स्थानमा रहेको छ । यो खुशिपनको वृद्धि गर्नु नै समृद्धि तर्फको यात्रा हो । जुन प्रत्यक्ष गुणस्तरीय, जीवनोपयोगी शिक्षासँग जोडिन्छ ।
गुणस्तरीय शिक्षाको सुरुवात हरेक घर परिवार र विद्यालयको कक्षा कोठाबाट सुरु हुन्छ । जसको व्यवस्थापनमा शिक्षक अभिभावक सहकार्य नै साधन हो । केवल अध्ययनरत विद्यार्थीका अभिभावक मात्र विद्यालय र विद्यार्थीका अभिभावक नभै स्थानीय सरकार, जनप्रतिनिधिहरू, प्रदेश सरकार, नेपाल सरकार, विभिन्न संघ संस्थाहरु अभिभावकको भूमिकामा रहनु पर्छ । यो अवस्था हाम्रो लागि संघीयताको कार्यान्वयन सँगै नेपालले प्राप्त गरेको अवसर हो । जसका लागि समृद्धिको सारथी शिक्षा बन्नु पर्छ र प्राप्तिका लागि शिक्षामा लगानी बढाउने, मितव्ययी प्रयोग गर्ने, प्रतिफलमा गुणस्तरीयता दिन सक्ने अभिभावक नै वास्तविक अभिभावक ठहर्छ ।
विद्यालयलाई बोल्ने भन्दा गर्ने अभिभावक, शिक्षक चाहिएको छ । सकारात्मक सोच, व्यवहार र प्रवृत्ति भएका अभिभावक, शिक्षक विद्यालयको सम्पत्ति हुन् र यिनीहरू नै प्रगति ल्याउने साधन हुन् । सहकार्यले लगानी, उपलब्धिलाई सिनर्जी दिन्छ । जहाँ २ र २ जोड्दा ४ भन्दा बढी हुन्छ । सहकार्य विनाको एकांकी कार्यशैलीले २ र २ को जोड शुन्य (Zero) गराउँछ । सामुदायिक विद्यालयहरु जहाँ सहकार्य सिनर्जाइज (synergize) भएको छ त्यहाँ सिकाइ गुणस्तरीय छ र अभिभावकको सहयोग प्राप्त भएको छ । जहाँ शिक्षक, अभिभावक दलगत रुपमा विभाजित छन्, सहकार्यको संस्कार जन्य अभाव छ त्यहाँ विद्यार्थीको खडेरी छ र समाजमा शिक्षकलाई शिक्षकको रुपमा उभिन लाज मर्दो अवस्था भएको छ । विद्यालय शिक्षाको गुणस्तरसँग जोडिएका विभिन्न पक्षहरु छन् तर यस लेखमा शिक्षक अभिभावकको मात्र कुरा उठाइएको छ । शिक्षक –अभिभावक सहकार्य नै अहिलेको आवश्यकता, चाहना र अनिवार्यता हो । सहकार्यको विकल्प भनेकै सहकार्यलाई थप वलियो,गहिरो, सार्थक र निरन्तर वनाउनु हो । सहकार्य मार्फत विद्यालयको अवस्थामा सुधार ल्याउन तथा गुणस्तरको माध्यमबाट शिक्षालाई जीवनोपयोगी र व्यवहारिक बनाउने बिभिन्न उपायहरु अंगाल्नु पर्छ ।
१. सहकार्यलाई स्वीकार गर्ने । विद्यार्थीका लागि हौं, विद्यार्थी भएको कारण रोजगारीको अवस्था भएको हो भनी पवित्रताका साथ विद्यार्थीलाई सिकाउने । अभिभावकलाई अभिभावकको रुपमा स्वीकार गर्ने ।
२. अभिभावक, शिक्षक दुबैले जित्ने ( Win-Win ) अवस्था सिर्जना गर्ने । जितिन्छ त्यति बेला जति वेला विद्यार्थीले सिक्छन् र अभिभावकको विद्यालय प्रतिको अपनत्व वढ्छ, सहयोग रहन्छ, शिक्षकको सम्मान हुन्छ ।
३. इन्द्रेणी व्यवस्थापन (rainbow management ) लाई मन्त्रको रुपमा लिने । शिक्षकले विद्यार्थी माथि आग्रह, पूर्वाग्रह, दूराग्रह नराखि सिकाउने । अभिभावकले शिक्षकलाई राजनीतिक चस्माले नहेरी शिक्षकको क्षमता र दक्षताको आधारमा मूल्याङ्कन गर्ने । विद्यालय समाजको लघु रुप हो भनी शिक्षकलाई सहयोग गर्ने र सहयोगी संस्कारको नक्कल गर्न शिक्षकलाई बाध्य पार्ने । अभिभावकले असल र सफल शिक्षकलाई पुरस्कार सामाजिक सम्मान तथा असफल कमजोर शिक्षकलाई सुधारको लागि सामाजिक दवाव सिर्जना गर्ने ।
४. निरन्तर सुधार ( continuous reform) खोज्ने । सुधार खहरे जस्तो होइन यो निरन्तर बग्ने हिमनदी जस्तो हो र हुनु पर्छ भनी कार्य गर्ने । भत्काउने भन्दा बनाउने मानसिकताबाट मात्र विद्यालयमा प्रवेश गर्ने ।
५. बहुविविधता (multi-diversity) लाई सम्मान गर्ने । विद्यालय रङ्गी चङ्गी फूलको बगैचा हो, सामाजिक, सांस्कृतिक, भौगोलिक, जातीय, धार्मिक आदि विविधताको संगम स्थल हो भनी स्वीकार गर्ने । विद्यालयमा सय थरी वाजा सय थरी ताल नभै सय थरी वाजा एउटै ताल,सय थरी फूलको एउटै माला वनाउने । विविधतालाई सम्मान गरी विभेदको पुस्तान्तरण रोक्ने । होवार्ड गार्डनरले भने जस्तै विद्यार्थीको विशेषता अनुसार सिकाइको वातावरण निर्माण गर्ने र अवसर प्रदान गर्ने ।
६. शिक्षक, अभिभावक अध्ययनशील वन्ने । भनिन्छ leadership demands readership विद्यार्थीलाई पढ्ने, सिकाइको वातावरणलाई पढ्ने, अभिभावकले शिक्षक र शिक्षकले अभिभावकलाई पढ्ने, निरन्तर अध्ययनमा समय दिने । हिजोको साक्षर आज पढन् छाड्यो भने भोलिको निरक्षर हो भन्ने कुरा मनन् गर्ने । सिक्नेले नै सिकाउन सक्छ भनी स्वीकार गर्ने ।
७. विद्यालयको लागि स्रोतको खोजी गर्ने । खोलाको पानी खेतमा ल्याउन कुलो चाहिन्छ भन्ने स्मरण गर्ने । विद्यार्थीको हितका लागि खर्च गर्ने । सदुपयोगमा ध्यान दिने । जसले जे दिन सक्न उही स्रोत विद्यालयको उन्नतिका लागि स्वीकार गर्ने ।
८. सबै शिक्षकले अभिभावक हौं भन्ने वुझ्ने र विद्यार्थीलाई आफ्ना वालवालिका जस्तै सोचका साथ व्यवहार गरी सिकाउने । यसको अनुभूति अभिभावकमा दिलाउने ।
९. अनुशासनहिनता र सजाय लिनको लागि नभै विद्यार्थी विद्यालयमा सिक्न आएका छन् र हुन् भन्ने व्यवहार देखाउने ।
१०. शिक्षण सिकाइमा किताव, जनज्ञान र प्रविधि वीच मितेरी लगाउने । अभिभावकलाई जनज्ञानका लागि प्रयोग गर्ने ।
११. One size does not fit all भन्ने मानसिकता तथा मनोविज्ञानबाट निर्देशित भई शिक्षण सिकाइमा विविधता ल्याउने र कक्षा कोठामा प्रयोग गर्ने ।
१२. विद्यालय प्रतिको विकर्षण सँगैको राजनीतिक गुरुत्व र नियमतोड स्वभावलाई वदल्ने । क्षणक्षणमा वालबालिको सिकाइलाई सम्झने ।
१३. अभिभावक तथा शिक्षकबाट विद्यालयको यथार्थ अवस्था र अपेक्षित वातावरण सम्बन्धमा सरोकारवालाहरुलाई जानकारी दिने । सोको समिक्षा गर्ने ।
१४. भनिन्छ जस्ले जिम्मेवारी निभाउन सक्छ उसलाई जिम्मेवारी दिइन्छ । शिक्षक र अभिभावकको जिम्मेवारी सधैं पाइन्न । जिम्मेवारीलाई अवसरको रुपमा लिइ कर्तव्यवोध गर्ने ।कर्तव्यलाई क्रियाकलापमा वदल्ने । सिकाइमुखी क्रियाकलाप पश्चात मात्र अधिकारको वकालत गर्ने ।
१५. विद्यालयमा प्रकाश छर्ने । प्रकाशले सिकाइ विरोधि किटाणु मार्छ । पारदर्शिता अपनाउने । पारदर्शिताले विश्वास सिर्जना गर्छ । विश्वासले सहकार्य कसिलो र बलियो हुन्छ ।
१६. विद्यार्थीलाई बालबालिका भएर बाँच्न दिने । आफु बालबालिका हुँदाको दिन सम्झने । के रुचि हुन्थ्यो ? स्मरण गरी बालबालिकालाई क्रियाकलापमा सहभागी गराउने । खेल मैदानको व्यवस्था गर्ने । खेलको नियमलाई भन्दा गोल गर्नमा विद्यार्थीलाई जोड दिने ।गोल्डोनीले भनेको भनाइ “ बालबालिकालाई खेल मैदान नभएको विद्यालय भन्दा विद्यालय नभएको खेल मैदान मन पर्छ ” स्मरण गरी अतिरिक्त क्रियाकलापमा जोड दिने ।
१७. बालबालिका स्वभावैले प्रविधि प्रेमी हुन्छन् । प्रविधि र उपकरणले अंग्रेजी र सीप खोजे जस्तै बालबालिकालाई सूचना र प्रविधिको प्रयोग गरी सिकाउने । भनिन्छ ICT teaches mind, touches heart and transforms into life सिकाइलाई प्रविधिको प्रयोगसँग जोडि व्यवहारिक वनाउने ।
१८. अभिभावकले साक्षर वन्न प्रयत्न गर्ने । साक्षर अभिभावकले नै राजनीतिक इच्छा भन्दा नीति इच्छा राख्छ र विद्यालयलाई सिकाइ संगठनको रुपमा लैजान सहयोग गर्छ । शिक्षक, अभिभावकले सहकार्यबाट भेंडा भेंडासित र विद्वान विद्वानसँग भन्ने उक्तिलाई साक्षरतासँग जोड्ने ।
सिकाइलाई व्यवहारिक बनाउने थलो कक्षा कोठा र विद्यालय नै हो । सोचाइको विश्वव्यापीकरण र कार्यान्वयन स्थानीयकरण हुने स्थान विद्यालय हो । प्रत्यक्ष जोडिएका पक्ष शिक्षक, अभिभावक बन्धन बलियो, कसिलो र दिगो बनाउनु नै सहकार्य हो । यो नै गुणस्तरको पाटो हो । कक्षा कोठा भाषण गर्ने, ज्ञान बेच्ने स्थान नभै ज्ञान जन्माउने स्थल हो भनी स्वीकार गर्नु नै गुणस्तर हो । यो शैक्षिक गुणस्तरको गन्तव्य हो । अभिभावक, शिक्षक, विद्यार्थीको चाहना तथा समग्र शिक्षा प्रणालीको सार हो । पेशा प्रति उत्प्रेरित र समर्पित शिक्षक, सहयोगी र जिम्मेवार अभिभावक तथा मायालु विद्यालय वातावरण नै बालबालिकाको वर्तमान र भविष्य हो ।
भट्टराई, घोराही उप महानगरपालिका,दाङका उपसचिव हुन् ।
प्रतिक्रिया