काठमाडौं - विद्यालय तहको शिक्षाको गुणस्तर घट्दो क्रममा रहेको छ । केन्द्रिय बाल कल्याण समितिले सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिती प्रतिवेदन २०७५ ले उक्त अवस्थाबाट पाठ सिकेर आउँदो वर्षहरुमा विद्यालय शिक्षाको गुणस्तर बढाउन निकै प्रयास गर्नुपर्ने सुझाव दिएको छ ।
शैक्षिक अवस्था सुधारका लागि के गर्ने भन्ने ठोस सुझाव नदिईए पनि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनलाई उदृत गर्दै प्रतिवेदनमा सिकाइको गुणस्तरबारे लिने गरेको परीक्षाको नतिजा खस्किँदै गएको उल्लेख गरिएको छ ।
कक्षा ३ मा नेपाली विषयको विद्यार्थी सिकाइ उपलब्धि राष्ट्रिय औसत सन् २०१२ मा ६३ प्रतिशत रहेकोमा सन् २०१५ मा ५२ मा झरेको छ भने गणितमा क्रमशः ६० बाट ४५ मा झरेको छ । यसैगरी कक्षा ५ को नेपालीमा सिकाइ उपलब्धि सन् २०१२ मा ६० रहेकोमा २०१५ मा ४६, गणितमा क्रमशः ५३ र ४८ तथा अंग्रेजीमा ५४ र ४७ प्रतिशत हुन आउनुले शिक्षाको गुणस्तर खस्कँदै गएको पुष्टि भएको उक्त प्रतिवेदनमा उल्लेख छ । संस्थागत भन्दा सामुदायिक विद्यालयमा र शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका विद्यालयमा सिकाइ उपलब्धि तुलनात्मक रुपमा कमी रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कक्षा ५ र ८ मा सिकाइको गुणस्तरबारे लिने गरेको परीक्षाको नतिजा खस्किँदै गएको भन्दै प्रतिवेदनमा कक्षा ५ का विद्यार्थीमा लिने गरिएको गणित, नेपाली र अंग्रेजी तीनैवटा विषयमा सिकाई उपलब्धि अघिल्लो तीन वर्षहरुमा समान रहेको देखिए पनि शैक्षिक सत्र २०७४ मा सबै विषयमा उल्लेख्य रुपमा घटेको देखिनुले शिक्षाको गुणस्तर घट्दै गएको स्पष्ट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
'कक्षा ८ का विद्यार्थीमा लिने गरिएको गणित, नेपाली र सामाजिक तीनवटा विषयहरुमध्ये गणित र नेपाली विषयहरुमा सिकाइ उपलब्धि समान नै देखिएको छ भने सामाजिक विषयको सिकाई उपलब्धि खस्किएको देखिन्छ' प्रतिवेदनमा भनिएको छ, 'विद्यालयस्तरको शिक्षाको गुणस्तरीयताका लागि यो नतिजा उत्साहवद्र्धक नरहेको स्थिति हो । यसबाट पाठ सिकेर आउँदो वर्षहरुमा विद्यालय शिक्षाको गुणस्तर बढाउन निकै प्रयास गर्नुपर्ने देखिन्छ ।'
२०७२ साल बैशाखमा गएको भूकम्पका कारण ९,३५३ विद्यालयका २२,४०१ कक्षा कोठा पूर्ण रुपमा क्षति पुगेको, १४,०२४ कक्षाकोठा आंशिक रुपमा र १८,९४२ कक्षाकोठा सामान्य रुपमा क्षतिग्रस्त भएको कारणले पठनपाठनमा नकारात्मक असर पर्ने भएकोले पनि विद्यार्थीको सिकाइ उपलब्धिमा कमी आएको हुनसक्ने अनुमान गरिएको छ ।
'आर्थिक वर्ष २०७२/०७३ को अघोषित नाकाबन्दी र मधेश आन्दोलनबाट विद्यालय महिनौसम्म बन्द भई पठन पाठनमा नकारात्मक असर परेकोले समेत विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आएको हुनसक्ने देखिएको छ' प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले शिक्षामा पहुँचको बृद्धि सन्तोषजनक हुँदै गएको उल्लेख गरेको छ ।
'शिक्षा, स्वास्थ्य लगायत संरक्षणका विभिन्न आयामहरुमा र सम्बन्धित कार्यहरुमा बालसहभागिताको विषयमा बालबालिकाको पहुँचमा उत्साहजनक रुपमा बृद्धि भएको देखिएको छ' प्रतिवेदनमा भनिएको छ, 'तथापी, विविध हिंसा, दुव्र्यवहार र शोषणमा रहेका बालबालिकाको विषयलाई प्रभावकारी रुपमा समयमै सम्बोधन गर्नु आवश्यक छ ।'
निकृष्ट बालश्रम, बालविवाह, सडक बालबालिका, अनाथ बालबालिका, पहिचानबाट बञ्चित बालबालिका, पूर्ण तथा अति अशक्त बालबालिका, शारीरिक सजाय र हेपाईबाट प्रभावित बालबालिकाको समस्या उचित रुपमा सम्बोधन गर्नु समेत चुनौतिको रुपमा रहेकाृ प्रतिवेदनमा उल्लेख छ । प्रारम्भिक बाल विकास केन्द्रको संख्या बढ्दै गएको भए पनि भर्ना भएका बालबालिकाको संख्या भने कमी हुँदै आएको प्रतिवेदनले औल्याएको छ । जन्मदरमा आएको कमीलाई यसको कारण मानिएको छ ।
विभिन्न ६ परिच्छेदमा समेटिएको उक्त प्रतिवेदनमा बाल बचावट, संरक्षण, विकास, सहभागिताका विषयमा छुट्टा छुट्टै अध्ययन र निष्कर्श समेटिएको छ । सोही परिच्छेद अन्र्तगत बाल विकासमा विद्यालय स्तरको शिक्षा र गुणस्तरको अवस्थाका बारेमा उल्लेख गरिएको हो ।
प्रतिक्रिया