Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

शिक्षकलाई भारतबाट तलब !

बुधबार, ०५ मंसिर २०७५

काठमाडौं ५ मंसिर / बाजुराको बुढीगङ्गा नगरपालिका १० सिगाडमा रहेको मष्टेश्वरी आधारभूत विद्यालयमा दुई कोठामा एकदेखि तीन कक्षाको पढाइ हुँदै आएको छ । २०६६ सालमा स्थापना भएको एकमात्र जिल्लाको दलित विद्यालय भनेर चिनिने मष्टेश्वरी आधारभूत विद्यालयमा कुनै पनि सरकारी तथा गैरसरकारी निकायले भौतिक पूर्वाधारमा सहयोग नभएको र आफैँले ठूलो भौतिक संरचना निर्माण गर्न नसकेकोले दुइटा कोठामा तीनवटा कक्षा सञ्चालन गर्नुपर्ने भएको विद्यालयका प्रधानाध्यापक शङ्कर विकले बताउनुभएको छ । 

२०६६ सालदेखि हालसम्म एक जना पनि पनि शिक्षकको दरबन्दी छैन । भारतमा रोजगारी गर्दै पठाएको रकमले नीजि क्षेत्रबाट तीन जना शिक्षकलाई तलब खुवाउने गरिएको छ । शिक्षकलाई निजी स्रोतबाट पाल्नुपर्ने समस्या भएकोले विद्यालयको भौतिक निर्माण कार्य गर्न नसकेको र अन्य कुनै पनि निकायले सहयोग नगर्दा विद्यालयको स्थिति नाजुक भएको समेत विद्यालयका शिक्षकले बताएका छन् । 

जिल्लाको एकमात्र दलितको विद्यालय भनेर चिनिने गरेको मष्टेश्वरी आधारभूत विद्यालय २०६६ सालमा सिगाडाका ८५ घरपरिवारले स्थापना गरिएको थियो । 

गरिब, विपन्न तथा रोजगारीका लागि भारत जाने अधिकांश दलित समुदायका विद्यार्थीका लागि गाउँमा एउटा विद्यालय स्थापना गरी बालबालिकाको शैक्षिक क्षेत्रमा टेवा पुगाउने उद्देश्यका साथमा स्थापना गरिएको स्थानीय सीता लुहारले बताउनुभयो । 

२०६६ सालदेखि स्थापना भएको यो विद्यालयमा शिक्षण गर्दै आएको शिक्षकले समेत कम तलबमा अध्यापन गराउने गरिएको शिक्षक शङ्कर विकले बताउनुभयो । उहाँले भन्नुभयो, हामीलाई महिनाको चार हजार रुपियाँ मात्र तलब तोकिएको छ त्यो पनि नखाएको चार वर्ष जति भयो प्रधानाध्यापक शङ्कर विकले बताउनुभयो । 

७५ देखि १२५ जना छात्र छात्रा भएको यो विद्यालयमा न त राम्रो शौचालय छ न त पठनपाठन गर्नेका लागि राम्रा कोठा छन् । गुणस्तरीय शिक्षाका लागि जिल्लामा विभिन्न निकायले चर्को नारा लगाउने गरेको भए पनि मष्टेश्वरी आधारभूत विद्यालयमा भने वर्षाद्को समयमा ओभानोमा बस्न ठाउँ नभएको प्रष्ट देखिन्छ । 

बाजुराका शिक्षकलाई भारतबाट तलब ! शिर्षकमा गोरखापत्रमा प्रकाशित । 

प्रतिक्रिया