Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

त्रिविको वार्षिक प्रणालीको नतिजा नाजुक, सेमेस्टरमा सुधार

बुधबार, ०५ मंसिर २०७५

काठमाडौं ५ मंसिर / त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको छ । नयाँ पत्रिकाका अनुसार वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण नतिजा १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको हो ।

वार्षिक प्रणालीमा सबैभन्दा कमजोर नतिजा शिक्षाशास्त्र संकायको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार बिएस्सी, बिबिएस, बिएड र बिएमध्ये सबैभन्दा कमजोर नतिजा बिएडको छ ।

सेमेस्टर प्रणालीमा पनि तुलनात्मक रूपमा शिक्षाशास्त्र संकायकै नतिजा कमजोर छ । त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गरेको स्नातकोत्तर तहको पाँच संकाय र चार अध्ययन संस्थानमध्ये शिक्षाशास्त्रको नतिजा कमजोर देखिएको हो । सो संकायमा पहिलो र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको उत्तीर्ण प्रतिशत ४५ प्रतिशतको हाराहारी मात्रै छ ।

‘एमएड पहिलो र दोस्रो सेमेस्टरमा उत्तीर्ण प्रतिशत ५० प्रतिशतभन्दा कम छ,’ शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले भने, ‘तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दामाथि छ ।’ विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले ०७२ देखि त्रिविका केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहबाट सेमेस्टर प्रणाली सुरु भएको हो ।

परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार ०७४ को परीक्षामा तीनवर्षे बिएडको नतिजा औसत २२.४२ प्रतिशत छ । ०७३ को भन्दा प्रतिशतमा यो नतिजा सुधारिएको देखिए पनि सन्तोषजनक हैन । ०७३ मा तीनवर्षे बिएडमा १७.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

पनिकाका अनुसार ०७२ मा बिएडको समग्र उत्तीर्ण प्रतिशत १५.०४ थियो । चारवर्षे बिएडमा समेत १६.७८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । चारवर्षे बिएडको पहिलो र दोस्रो वर्षको मात्र नतिजा सार्वजनिक भएको छ ।

वार्षिक प्रणालीमा पढाइ हुने चारवर्षे बिबिएसमा ०७४ को उत्तीर्ण प्रतिशत ३०.७१ प्रतिशत पुगेको छ । तीनवर्षे बिबिएसमा ०७३ मा २४.३६ प्रतिशत उत्तीर्ण भएका थिए ।

त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा बिएस्सीको नतिजा कमजोर आएको छ । नियन्त्रक जोशीका अनुसार ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०.५८ मात्रै रह्यो । सोही वर्ष बिएमा ४४.५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ ।

०७३ मा विज्ञानका विद्यार्थीको उत्तीर्ण प्रतिशत ३५.९९ रहँदा मानविकीमा ३९.५५ प्रतिशत उत्तीर्ण भए । मानविकीमा उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । ०७२ मा ३२.८ प्रतिशत उत्तीर्ण भएकामा ०७४ सम्म बढ्दै गएर ४४.५५ प्रतिशत पुगेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. त्रिरत्न मानन्धरले अहिले औसत नतिजा ७५ प्रतिशत रहेको बताए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको ९९ प्रतिशत उत्तीर्ण रहेको बताए । डिन मानन्धरका अनुसार सम्बन्धनप्राप्त क्याम्पसको नतिजा ६० प्रतिशतको हारहारीमा छ । ‘केही सम्बन्धनप्राप्त कलेजको उत्तीर्ण २० देखि ३० प्रतिशतसम्म पनि हुने गरेको छ,’ उनले भने ।

सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएको मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले बताए । केही विषयमा शतप्रतिशत पनि उत्तीर्ण भएको उनको भनाइ छ । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले स्नातकोत्तरमा औसत उत्तीर्ण ७५ प्रतिशत रहेको बताए । नियमित हाजिर हुनुपर्ने र थोरै विद्यार्थीले अध्ययनको मौका पाउने भएकाले नतिजा पहिलेभन्दा राम्रो भएको उनीहरू बताउँछन् ।

त्रिभुुवन विश्वविद्यालयको वार्षिक बजेटको आकार बढ्दो छ । त्रिविले आर्थिक वर्ष ०७५/७६ का लागि २१ अर्ब १० करोडको बजेट पारित गरेको छ । त्रिवि सभाले ११ अर्ब ३१ करोड सरकारको अनुदान र ९ अर्ब ७९ करोड आन्तरिक स्रोतबाट बेर्होने गरी तयार पारेको बजेटको प्रस्ताव पारित गरेको हो ।

उसले पुनर्निर्माण र गुणस्तर सुधारलाई आफ्नो प्राथमिकतामा राखेको छ । रजिस्ट्रार डिल्ली उप्रेतीले आव ०७५/७६ को बजेटले पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार, पाठ्यक्रम परिमार्जनलाई प्राथमिकतामा राखेको बताए ।

उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सन् २०३० सम्म विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा त्रिवि पर्ने गरी सुधारका प्रयास भइरहेको बताए । उनले विकासका लागि त्रिवि भिजन, २०३० तयार गरी कार्यान्वयन गर्न लागेको बताए ।

त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा बिएस्सीको नतिजा कमजोर आएको छ । नियन्त्रक पुष्पराज जोशीका अनुसार ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०.५८ मात्रै रह्यो । सोही वर्ष बिएमा ४४.५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ । ०७३ मा विज्ञानका विद्यार्थीको उत्तीर्ण प्रतिशत ३५.९९ रहँदा मानविकीमा ३९.५५ प्रतिशत उत्तीर्ण भए । मानविकीमा उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । ०७२ मा ३२.८ प्रतिशत उत्तीर्ण भएकामा ०७४ सम्म बढ्दै गएर ४४.५५ प्रतिशत पुगेको हो ।

वार्षिकमा भन्दा सेमेस्टर प्रणालीको नतिजा किन राम्रो ?

वार्षिक प्रणालीमा शुल्क कम भएकाले भर्ना भएर पनि पढ्न नआउने धेरै हुन्छन् । त्यसैले कसरी पढ्ने र परीक्षामा कस्तो प्रश्न आउँछ भन्ने जानकारी हुँदैन । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि कक्षामा नियमित उपस्थित नहुने विद्यार्थीको नतिजा राम्रो नभएको देखाएको छ । सेमेस्टरमा नियमित हुनुपर्ने, धेरै शुल्क तिर्नुपर्ने, शिक्षकको समेत सपोर्ट रहने र परीक्षामा आउने प्रश्नको ‘प्याट्रन’ पनि थाहा हुने भएकाले नतिजा राम्रो आएको हो - प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया