काठमाडौं ४ मंसिर / प्रभातकिरण मावि लापु गोरखाको कक्षा ७ मा पढ्ने सोनिका गुरुङ भर्खर १५ वर्ष लाग्नु भयो । उहाँले विवाह गरेको ६ महिना भयो । ‘यहाँ त सबैले सानैमा बिहे गर्छन्’ सोनिकाले भन्नुभयो ‘त्यसैले मैले पनि विवाह गरेको हो । ’
धार्चे गाउँपालिका ७ लापुकी सोनिकाले गत
जेठमा विवाह गरे पनि विद्यालय आउन भने छोड्नुभएको छैन । श्रीमान् र घरपरिवारले कुनै अवरोध सिर्जना नगरेकाले उहाँले पढाइलाई निरन्तरता दिइरहनुभएको छ । ‘सकेसम्म त पढ्ने हो, सबैले पढ भनेका छन्’ उहाँले भन्नुभयो ‘आमाले पढ्ने खर्च दिनुहुन्छ, काकाले मात्र हो नपढ् भनेको । ’
सोही विद्यालयको कक्षा १० मा पढ्ने चसुरा गुरुङ पनि गत असारमा वैवाहिक बन्धनमा बाँधिनुभयो । एसइई परीक्षाको तयारीमा रहेकी चसुरालाई प्रेम सम्बन्धले विवाह गर्न बाध्य बनायो । भिरकुनाका एक युवकसँग प्रेम विवाह गर्नुभएकी उहाँले पढाइ भने छोड्नु भएको छैन । ‘उहाँ मन प¥यो अनि बिहे गरेँ, एक दिन गर्नै पर्छ क्यारे’ चसुराले भन्नुभयो ‘बिहे गरे पनि पढ्न भने छोड्दिन । ’
सोनिया र चसुरा दुवैले आफ्नो श्रीमान् र घरपरिवारका बारेमा खुलाउन चाहनुभएन । उक्त विद्यालयमा पढ्ने छात्रा मात्र होइन छात्रहरू पनि सानैमा विवाह गर्छन् । ‘सँगै हिँडेको बोलेको देखेर सबैले नराम्रो रूपमा हेर्न थाले, उसलाई घरपरिवारले अनेक टेन्सन दिएछ’ कक्षा १० मा पढ्ने सरोज गुरुङले भन्नुभयो ‘अनि हामीले विवाह ग¥यौँ । ’
बालविवाहको उच्च समस्या रहेको त्यहाँ धेरै जसोले आफूखुसी प्रेम विवाह नै गर्ने गरेको पाइन्छ । धेरैले आफ्नै विद्यालयमा पढ्नेहरूसँग विवाह गरेका छन् । अझ रोचक कुरा के छ भने उपल्लो कक्षामा पढ्ने छात्राहरूले आफूभन्दा सानो उमेरको तल्लो कक्षामा पढ्नेहरूसँग पनि विवाह गर्छन् ।
बालविवाहका कारण विद्यालयहरूमा विद्यार्थी सङ्ख्या पनि न्यून छ । तल्ला कक्षाहरूमा राम्रो सङ्ख्यामा विद्यार्थी भए पनि माथिल्ला कक्षामा पुगेपछि एकाएक यो सङ्ख्या घटेर जाने गरेको विद्यालय स्रोतको भनाइ छ । ‘यहाँको संस्कार नै सानोमा विवाह गर्नुपर्छ भन्ने खालको छ’ प्रभातकिरण माविकी सहायक प्रधानाध्यक सन्सरी गुरुङले भन्नुभयो ‘किशोरावस्थामा हुने प्रेम सम्बन्ध अर्को कारण हो । ’
फेसनको रूपमा रहेको बालविवाहलाई देखासिखीको रूपमा लिने क्रम बढेकाले पनि यो समस्या भएको उहाँ बताउनुहुन्छ । उक्त विद्यालयमा मात्र बर्सेनि एक दर्जन भन्दा बढी बालबालिकाले विवाह गर्ने गरेका छन् । १६० विद्यार्थी रहेको त्यहाँ बालविवाहका कारण विद्यालय छोड्ने क्रम उच्च रहेको विद्यालय प्रशासनको भनाइ छ । ‘बिचैमा पढाइ छोड्ने समस्या यहाँ उच्च छ’ विद्यालयका प्रधानाध्यापक जितबहादुर गुरुङले भन्नुभयो ‘त्यसको मुख्य कारण बालविवाह हो । ’
विद्यार्थीले धमाधम विवाह गर्न थालेपछि विद्यालयले थुपै्र सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको तर सफलता मिल्न नसकेको प्रधानाध्याक गुरुङ बताउनुहुन्छ । ‘घर दैलो, अभिभावकका लागि अभिमुखिकरण जस्ता विभिन्न कार्यक्रम ग¥यौँ’ उहाँले भन्नुभयो ‘जे गर्दा पनि बालविवाह रोक्न सकिएन । ’ विवाह गरेका अधिकांश विद्यार्थी २/४ महिना विद्यालय आउने र बीचैमा पढाइ छोड्ने गरेको विद्यालय प्रशासनको भनाइ छ ।
मनास्लु पदमार्गको छेवैमा पर्ने उक्त विद्यालयका कतिपय विद्यार्थी पढाइ छोडेर पर्यटकको भारी बोक्ने, खच्चड गोठालो बन्ने, होटलमा काम गर्न, सवारी साधनको सहचालक बन्ने गरेको प्रधानाध्यक गुरुङ बताउनुहुन्छ । ‘छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना अभिभावकमा छैन’ उहाँले भन्नुभयो । विद्यालयको प्रयासले मात्र विद्यार्थी रोक्न सकिँदो रहेनछ । भौगोलिक रूपमा विकट, थोरै जनसङ्ख्या रहेको उत्तरी गोरखाका विद्यालयहरूमा अन्य ठाउँको तुलनामा थोरै सङ्ख्यामा विद्यार्थी छन् । त्यसमा पनि बालविवाह, रोजगार अन्य विविद्य कारणले बीचमा पढाइ छोड्नेहरू बढ्दै गएका छन् । नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई गैरकानुनी मानेको छ । लापुलगायत उत्तरी गोरखामा बालविवाहले कानुनी उपचार पाउन सकेको देखिँदैन ।
गोरखापत्रमा नरेन्द्र ढकालले लेखेको खबर ।
प्रतिक्रिया