Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

संस्थापक प्रधानाध्यापकको निधन, शिक्षक संगठनका अध्यक्षलाई पितृ शोक

आइतबार, ०२ मंसिर २०७५

धादिङ् - सिद्धलेक गाउँपालिका स्थित आदमटारको सत्यवती माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माका पिता गोविन्द राज खतिवडाको निधन भएको छ । लामो समय देखि प्यारालाईसिसबाट पिडित खतिवडाको शनिबार साँझ काठमाडौं स्थित शहीद गंगालाल हृदय केन्द्रमा निधन भएको हो । आफ्नै निवासमा रहेका बेला असजिलो भए पछि उनलाई हतार हतार काठमाडौं लगिएको थियो ।

राती नै उनको शव गृह जिल्ला ल्याएर हिन्दु परम्परा अनुसार आईतबार बिहान अन्तेष्टि गरिएको छ । उनकी श्रमिती, दुई छोरी र एक छोरा छन् । उनकी कान्छि छोरी कमला शर्मा सद्धलेक गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

१९९६ सालमा धादिङ्को कल्लेरीमा जन्मेका खतिवडाले २०२२ सालबाट शिक्षण शुरु गरेका थिए । शुरुमा कल्लेरीकै प्राथमिक विद्यालयबाट पढाउन शुरु गरेका उनले २०२३ सालमा हाल नुवाकोटको चारघरेमा पर्ने महेन्द्र प्रावि त्यस पछि धादिङ्कै उत्तरी क्षेत्र हालको वेत्रावती पालिकाको चौतारा प्राविमा पढाए ।

आफ्नो क्षेत्रका बालबालिका पढ्न कै लागि टाढा जानु पर्ने र जान नसक्नेहरुले बीचमै पढाई छाड्नु पर्ने वाध्यताको अन्त्यका लागि उनले २०३२ सालमा सत्यवती प्राविको स्थापना गरेका थिए । विद्यालय उमेर भन्दा पाका तथा टाढाका विद्यालय जान नसक्ने बालबालिकालाई रुखको फेदमा राखेर पठन पाठन शुरु गरेको उक्त विद्यालय हाल देशका राम्रा विद्यालयहरु मध्ये एक भएको छ ।

२०४६ साल सम्म प्रधानाध्यापक भएका खतिवडाले विद्यालयमा कक्षा थप भएर माध्यमिक भएसँगै आफ्नै छोरा लक्ष्मण शर्मालाई प्रधानाध्यापकको कुर्चि हस्तान्तरण गरेका थिए । काठमाडौंमा बसेर बिएस्सी सकेका शर्मालाई गाउँलेकै आग्रहमा विद्यालयमा लगिएको थियो ।

आफू प्रधानाध्यापक भएकै विद्यालयमा छोराले नेतृत्व सम्हाले पनि खतिवडाले समेत पठन पाठन गर्न छाडेनन् । स्वास्थ्यमा खरावी आएसँगै २०५६ सालबाट उनी निवृत्त भएका थिए । शर्मा शिक्षक राजनीतिमा सकृय भएसँगै हाल उक्त विद्यालयको नेतृत्व राम बहादुर खतिवडाले सम्हाल्दै आएका छन् । शर्मा पछिल्लो समय सरकारले गठन गरेको उच्च स्तरीय शिक्षा आयोगमा सदस्यका रुपमा समेत कृयाशिल छन् ।

प्रतिक्रिया