काठमाडौं २५ कात्तिक / नेपाली विद्यार्थी नेपाली विषयमै कमजोर देखिएका छन् । निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि गरिएको एक अनुसन्धानले उनीहरू नेपालीमा औसतभन्दा कमजोर रहेको देखाएको हो ।
नयाँ पत्रिकाका अनुसार शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले यसै वर्ष गरेको अध्ययनअनुसार नेपाली विषयमा अधिकांश प्रदेशका विद्यार्थीले औसत अंक पनि प्राप्त गरेका छैनन् । चारवटा प्रदेशका विद्यार्थी औसतभन्दा कमजोर देखिएका छन् भने तीनवटा प्रदेशले औसत अंक बल्लतल्ल कटाएका छन् ।
अध्ययन अनुसार गणितभन्दा पनि नेपालीमा विद्यार्थी कमजोर छन् । गणितमा तीनवटा प्रदेश औसत अंक ल्याउन चुकेकोमा नेपालीमा चारवटा प्रदेश असफल देखिए । विज्ञानमा भने पाँचवटा प्रदेशले औसत अंक ल्याउन सकेका छैनन् ।
इआरओको कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) प्रतिवेदनले सिकाइको अवस्था कमजोर हुँदा नतिजा पनि कमजोर भएको निष्कर्ष निकालेको छ ।
इआरओले सातै प्रदेशका गरी करिब ४५ हजार विद्यार्थीमाथि अध्ययन गरेको थियो । प्रदेश १ बाट ६ हजार ७६३, प्रदेश २ बाट ५ हजार ९४२, प्रदेश ३ बाट ८ हजार ५४८, गण्डकी प्रदेशबाट ५ हजार ४४९ विद्यार्थी सहभागी थिए । त्यस्तै, प्रदेश ५ बाट ९ हजार ६३६, कर्णालीबाट ४ हजार ३०६ र सुदूरपश्चिमबाट ५ हजार ६२२ विद्यार्थी सहभागी थिए ।
सन् २०१३ मा गरेको अध्ययन र अहिले अध्ययन तुलना गर्दा समग्रमै नेपालको शैक्षिक गुणस्तर झन् खस्किएको निष्कर्षसमेत निकालेको छ । शिक्षा मन्त्रालयले दातृ निकायले भनेजस्तै नीति तथा कार्यक्रम ल्याए पनि गुणस्तर नबढेको इआरओको ठहर छ ।
कतिपय विद्यार्थीले आठ कक्षासम्म पढ्दा पनि आफ्नो नामसमेत शुद्ध लेख्न नसक्ने अवस्था रहेको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् ।
घरमा नेपाली भाषा प्रयोग नहुने घरका बालबालिका नेपाली विषयमा कमजोर देखिएका छन् । घरभित्र नेपाली भाषामै कुराकानी हुने परिवारका बालबालिकाको नतिजा राम्रो छ । नेपाली भाषा प्रयोग हुने घरका बालबालिकाको उपलब्धि अंक ५१० रहेकोमा अन्य भाषा प्रयोग हुने घरका बालबालिकाको उपलब्धि ४८२ छ ।
यस्तै, कामै नगर्ने र धेरै काम गर्ने विद्यार्थीको तुलनामा एक–दुई घन्टा काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । घरमा कामै नगर्नेले नेपाली विषयमा ४९६, एक घन्टाभन्दा कम काम गर्नेले ५०३, एकदेखि दुई घन्टासम्म काम गर्नेले ५०७, दुईदेखि चार घन्टासम्म काम गर्नेले ४९४ र चार घन्टा वा सोभन्दा माथि काम गर्नेले ४६९ अंक प्राप्त गरेका छन् ।
सबै विषयको राष्ट्रिय औसत ५०० अंक निर्धारण गरेर गरिएको अध्ययनमा नेपाली विषयमा प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका विद्यार्थीले औसत अंकसमेत पाउन सकेनन् । प्रदेश १ को ४९२, प्रदेश २ को ४७८, कर्णालीको ४९२ र सुदूरपश्चिमको औसत उपलब्धि अंक ४९६ देखिएको छ ।
तीनवटा प्रदेशका विद्यार्थीको उपलब्धि भने जेनतेन औसत नाघेको छ । प्रदेश ३ को ५१८, गण्डकीको ५११ र प्रदेश ५ को उपलब्धि ५०१ अंक रहेको अध्ययनको निष्कर्ष छ ।
गणित विषयमा प्रदेश १, कर्णाली र सुदूरपश्चिम कमजोर पाइएका छन् । प्रदेश १ को ४८६, कर्णालीको ४६७ र सुदूरपश्चिमको ४८० अंक छ । औसतभन्दा माथि अंक प्राप्त गर्नेमा प्रदेश २, ३, गण्डकी र ५ छन् । विज्ञान विषयमा प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिमले औसत अंक पनि प्राप्त गरेका छैनन् । प्रदेश १ ले ४८३, प्रदेश २ ले ४८८, प्रदेश ५ ले ४९८, कर्णालीले ४८४ र सुदूरपश्चिमले ४८८ अंक प्राप्त गरेका छन् । विज्ञानमा प्रदेश ३ र ४ ले मात्र औसतभन्दा बढी अंक प्राप्त गरेका छन् । प्रदेश ३ को ५२९ र ४ ले ५१८ अंक छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया