Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

विद्यालय तहमै नवीकरणीय ऊर्जाको पाठ्यक्रम

सोमबार, १२ कार्तिक २०७५

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्व सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने बताएका छन् । २०७५/२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने तयारीमा लागेको मन्त्री पोखरेलले बताए ।  

त्रिभुवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरुपमा आयोजित तीन दिने ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जा सम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मन्त्री पोखरेलले दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको दावी गरे ।  ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न उनले अन्तराष्ट्रिय दातृ निकाय सित आह्वान पनि गरे ।

नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा साना÷लघु विद्युुत परियोजनाबाट ३० मेगावाट विद्युत, आठ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाख भन्दा बढी बायोग्यास प्लान्ट, १४ लाख सुधारिएको चुलो, १० हजार सुधारिएको पानीघट्ट, जडान गरिसकेको छ । साथै साना÷लघु जलविद्युत् र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत् र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।

सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैङ्गिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यस अघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौंमा भएको थियो । साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा झण्डै २ सय ५० ऊर्जाविद्को सहभागिता छ ।

प्रतिक्रिया