काठमाडौं - शिक्षा क्षेत्रमा कृयाशिल मोरङ् केन्द्रित संस्था जीवन विकास समाजले ३ करोड रुपैंया (३ लाख डलर) को अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । दीगो विकासका १७ मध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षाका क्षेत्रमा गतिलो काम गरेको आधारमा प्रतिस्पर्धात्मक विधिबाट समाजले पुरस्कार जितेको हो । "AGFUND International Prize 2017" साउदी अरवको रियाद स्थित 'The Arab Gulf Program for Development (AGFUND)' ले प्रदान गरेको हो । सन् १९८० मा स्थापना भएको यो संस्था क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय संस्था हो ।
गत असोज ३१ गते संयुक्त राष्ट्रसंघको जेनेभा स्थित कार्यालयमा आयोजित कार्यक्रममा स्पेनकी महारानी सोफिया तथा साउदीका राजकुमार तलाल विन अब्दुल अजिजले समाजका अध्यक्ष योगेन्द्र मण्डललाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कारका बारेमा जानकारी दिन आईतबार समाजले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले उक्त पुरस्कार आफ्नो संस्थाले प्राप्त गरे पनि राष्ट्रकै गौरव भएको बताए । प्राप्त पुरस्कारलाई राज्यले शिक्षा क्षेत्रमा लिएको नीति लाई सघाउने तर्फ केन्द्रित गर्ने उनले प्रतिवद्धता जनाए ।
'हाम्रो संस्थाको लक्ष्य त गरिबी मुक्त समाज हो, यसका लागि पनि शिक्षामा ध्यान दिनु जरुरी छ भन्ने हाम्रो बुझाई छ' उनले भने, 'यो पुरस्कार राशीलाई हामी त्यही दिशामा केन्द्रित गर्ने योजना बनाएका छौं ।'
प्राप्त पुरस्कार राष्ट्रिय महत्व र गौरवसँग समेत गाँसिएकोले एक स्थायी कोष स्थापना गरी भावी दिनमा सरकारसँगको सहकार्यमा शिक्षामा दीगो विकासका क्षेत्रमा कार्य गर्ने योजना बनाएको उनले जनाए ।
'पुरस्कार वापत प्राप्त तीन लाख डलरमा जीवन विकास समाजले आवश्यक रकम थप गरी रु. ६ करोड बराबरको एक स्थायी कोष बनाउने घोषणा समेत गर्न चाहन्छौ' पुरस्कारका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वितरित दस्तावेजमा भनिएको छ, 'उक्त कोषलाई शैक्षिक विकासका क्षेत्र तथा दीगो विकासका क्षेत्रमा परिचालन गरिने योजना छ ।'
उक्त कोषको ब्याजबाट शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने सरकारी, गैरसरकारी संघसंस्था, पत्रकार तथा ब्यक्तिहरुलाई वार्षिक रुपमा रु. १० लाख बरावरको पुरस्कार प्रदान गर्ने योजना बनाएको पनि मण्डलले बताए ।
पत्रकार सम्मेलनमा संस्थाका परामर्शदाता ओम शर्माले समाजका कृयाकलापलाई शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्ति तथा संस्थासँगको सहकार्यसँग जोडेर आगामी दिनमा शैक्षिक विकासका लागि थप केन्द्रित गरिने बताए ।
उक्त संस्थाले विभिन्न ४ क्षेत्रमा वार्षिक रुपमा १० लाख डलर वराबरको पुरस्कार वितरण गर्दै आएको छ । जस अन्र्तगत पहिलो ४ लाख डलर बराबरको पुरस्कारका लागि संयुक्त राष्ट्रसंघसँगको साझेदारीमा काम गर्ने अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । समाजले जितेको ३ लाख डलर बराबरको दोश्रो पुरस्कारका लागि सम्बन्धित मुलुकमा स्थापित गैरसरकारी संस्थाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । २ लाख डलर बराबरको तेश्रो पुरस्कारका लागि सम्बन्धित मुलुकको सरकारी निकाय र सार्वजनिक तहमा काम गर्ने व्यावसायिक संस्था समेतले प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । चौथोमा १ लाख डलरको पुरस्कारका लागि संस्थापक वा व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको छ ।
दोश्रो क्षेत्र अन्र्तगतको उक्त पुरस्कारका लागि प्रतिस्पर्धा गर्नु अघि संस्थाले तत्कालिन शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय तथा युनेस्को नेपालको मनोनयन सहित आवेदन पेश गरेको शर्माले उल्लेख गरे । उक्त पुरस्कारका लागि विभिन्न देशका ७६ वटा प्रतिष्पर्धिलाई उछिन्दै समाजले उक्त पुरस्कार प्राप्त गरेको हो ।
२०५४ सालमा “गरिबी रहित नेपाल” निर्माणको अभियानका साथ मोरङको दक्षिणी ग्रामीण क्षेत्र अमाही वरियाती गाविसमा स्थापना भएको समाजले हाल मोरङ् सहित सिन्धुली, उदयपुर, धनकुटा, सुनसरी, ईलाम र झापामा शिक्षा, स्वास्थ्य, कृषि, लघुवित्त जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ । मोरङको कटहरी गाउपालिकामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले उक्त ७ जिल्लामा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरी झण्डै ६ सय जना कर्मचारी मार्फत करिव २ लाख विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, उर्जा लगायतका सामाजिक सेवाहरु प्रदान गरिरहेको मण्डलले बताए ।
पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी समाजले मोरङको धनपालथान गाउपालिकामा माध्यमिक तह सम्मको जीवन विकास पब्लिक स्कूल सञ्चालन समेत गरिरहेको छ । विद्यालयमा पिछडिएको समुदायका झण्डै १२ सय बालबालिकाले शिक्षा हासिल गरिरहेका छन् । समाजले सामुदायिक विद्यालयको व्यवस्थापकीय एवम् गुणस्तर वृद्धिमा सहकार्य,अति विपन्न समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम, सामुदायिक विद्यालयमा किशोरी लक्षित नव विहानी कार्यक्रम तथा उद्यमशील युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसाियक तालिम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया