Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

थापाथली क्याम्पस कीर्तिपुर सारिँदै

आइतबार, ११ कार्तिक २०७५

काठमाडौं ११ कात्तिक / राजधानीको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालय रहेको कीर्तिपुर क्षेत्रमा सारिने भएको छ । ठाउँ साँघुरो भएकाले स्थानान्तरण गर्न लागिएको क्याम्पस प्रशासनले जनाएको छ ।
सडक विभागले क्याम्पस परिसरसँग जोडेर फ्लाइओभर (गाडी गुड्ने आकाशेपुल) बनाउने योजना तयार पारेपछि क्याम्पस प्रशासनले स्थानान्तरण गर्ने निर्णय लिएको हो। विभागले जापानी सहयोग नियोग (जाइका) को सहयोगमा गरेको अध्ययनअनुसार क्याम्पसको १० रोपनी जग्गा आकाशे पुलले ओगट्ने छ।

बाँकी जग्गामा क्याम्पसलाई पूर्वाधार बनाउन साँघुरो हुने भएकाले कीर्तिपुर सार्ने गुरुयोजना बनेको इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न वज्राचार्यले बताए। क्याम्पसमा कक्षाकोठा, पुस्ताकालय, ल्याबलगायत पूर्वाधार बनाउन आवश्यक देखिएको छ। संस्थानका अनुसार क्याम्पस सार्न कीर्तिपुरमा १ सय ५० रोपनी जग्गा प्राप्त भएको छ।

‘कीर्तिपुरमा क्याम्पस सार्ने गुरुयोजना बनिसकेको छ,’ वज्राचार्यले भने, ‘पूर्वाधार निर्माण गरेर सार्छौं।’ संस्थानको आफ्नै बजेटले पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले स्थानान्तरण गर्न समय लाग्ने उनको भनाइ छ। ‘सरकार वा कुनै सहयोगी निकायले पूर्वाधार निर्माण गर्न सहयोग गरे छिटै सर्न सक्ने अवस्था पनि छ,’ उनले भने, ‘आफ्नै बजेटको मात्र भरे परे समय लाग्छ।’

माइतीघर मण्डलाबाट थापाथली हुँदै त्रिपुरेश्वर जोड्ने फ्लाइओभर ब्रिज बनाउने योजना रहेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए। ‘पहिल्यै जाइकाको सहयोगमा पुल बनाउने गुरुयोजना बनेको हो,’ उनले भने, ‘निर्माणका लागि सरकारको प्राथमिकतामा भने पर्न सकेको छैन।’ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न यस्तो पुल आवश्यक रहेको उनले जनाए। क्याम्पसले जग्गा खाली गरे आयोजना सम्पन्न गर्न सहज हुने गौतमको भनाइ छ। विभागका अनुसार पुल निर्माणका लागि केही सरकारी र निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत ४ आंगिक र १० सम्बन्धनप्राप्त क्याम्पस छन्। थापाथली क्याम्पस आंगिक हो। राजधानीको पुल्चोकमा पुल्चोक इन्जिनियरिङ, पोखराको लामाचौरमा पश्चिमाञ्चल र धरानमा पूर्वाञ्चल क्याम्पस सञ्चालित छन्। थापाथलीसहित तीन क्याम्पसमा इन्जिनियरिङतर्फ स्नातक र स्नातकोत्तर तहको पठनपाठन हुन्छ भने पुल्चोकमा विद्यावारिधिसमेत अध्यापन गराइन्छ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया