Edukhabar
शनिबार, २७ पुस २०८१
विचार / विमर्श

गणितमा जति जिपिए आए पनि ११ पढ्न पाहिन्छ, किन पढ्ने गणित ?

शनिबार, १० कार्तिक २०७५

कुनै पनि देशको विकास त्यति बेला मात्र सम्भव छ जब सचेत , क्रियाशील र सिर्जनशील नागरिक तयार हुन्छन् । ती नागरिकलाई देश विकास प्रति आदर्श प्रकट गराउने भनेको नै देशको शिक्षा नीतिले हो । जति पनि विकसित देशहरुका विकासक्रम हेर्यौं भने त्यहाँका जनताको सहभागीता विना सम्भव भएको देखिदैंन । विकासमा जनताहरुको मन , वचन र कर्मको मिलन विन्दु हुनु पर्छ । 

नेपालमा विकास हुन नसक्नुको पछाडि सही र मार्गदर्शक शिक्षा नीति र त्यसको उचित कार्यान्वयनको अभाव नै हो । जो जो शिक्षाको नीति निर्माण कार्यान्वयन गर्ने थलोमा पुगेका छन् उनीहरुले सही तरिकाको शिक्षा नीति निर्माण गरी कार्यान्वयन गर्नै सकेनन् । नसके पछि जिम्मेवारीबाट हट्न पनि चाहेनन् । काम पनि नगर्ने, पद पनि नछाड्ने क्रम लामो समय देखि जारी छ । त्यसैले नीतिगत तहमा रहेका हरेक ब्यक्तिले ब्यक्तिपरक शिक्षा होइन, दलगत शिक्षा होइन, देशलाई आमुल परिवर्तन गरी एक्काइसौं शताब्दिसंग प्रतिस्पर्धा गर्ने शिक्षाको विकास गरी लागु गर्नु पर्छ होइन भने विकल्प दिनु पर्छ । 

अहिले राष्ट्रले चासो रुपमा लिएको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा हो । नतिजा बढ्न नसक्नुको दोष शिक्षकलाई थुपार्छ सरकार । विगार्ने चाँही उही हो । अक्षराङ्कन पद्धतीबाट मुल्यांकन गर्न हतार गरियो, बढेको प्रतिशत देखाउन तम्सियो सरकार तर गृहकार्य राम्ररी गरेन । अस्तव्यस्त बनायो शिक्षा क्षेत्र । गणित, ऐच्छिक विषयहरुमा तोकिएको जिपिए नआए पनि कक्षा एघारमा अध्ययन गर्न पाउने नियम राखेपछि कसरी विद्यार्थी अनुशाशित र मिहेनती हुन्छन् त ? उनीहरुले कुन विषय पढ्दा फाइदा र कुन विषय पढ्दा वेफाइदा भन्ने कुरा जानेका हुँदैनन् । विद्यार्थी भन्छन् गणितमा जिपिए जति नै आए पनि कक्षा एघार पढ्न पाइहालिन्छ, किन पढ्ने गणित ? अन्य विषयहरुमा पनि पच्चिस अंकको प्रयोगात्मक  अंक हुन्छ तर गणितमा प्रयोगात्मक अंक पनि हुदैन । जुन विषय कठिन छ त्यसलाई सहज हुने गरी पठन पाठन र मुल्यांकन पद्धतीलाई परिवर्तन गर्नु पर्नेमा सरकारले गणितलाई जबरजस्ती पाठयक्रमबाट हटाउन नै चाहेको देखिन्छ । एक त अन्य विषयहरुको तुलनामा पक्षपात पुर्ण मुल्यांकन पद्धती अपनाइयो भने अर्को पक्ष गणित पढे पनि हुन्छ नपढे पनि हुन्छ त्यस्तो वेकम्मा विषय जस्तो बनाइ दियो ।

सिधा भाषामा भन्नु पर्दा गणितले विद्यार्थीको तर्क शक्तिमा वृद्धि गर्दछ । गणितले कुनै पनि विषयमा गहिरो चिन्तन गर्ने सिपको विकास गराउँदछ साथै चित्रात्मक प्रस्तुती हुनाले अन्य विषयहरुको अध्ययन गर्नमा धेरै सहजता ल्याउँदछ । गणितको अध्ययनले मानिसलाई समाजमा एउटा अनुशासित व्यक्तित्वको रुपमा विकास गराउनमा सहयोग गर्दछ । गणितका धेरै व्यवहारिक प्रयोगहरु छन् तर आफु विद्यालयमा रहँदा गणितमा कमजोर भएको महसुस गरेको र सवैले कठिन भएको भनाईको कारण गणितलाई पाठयक्रमबाट हटाउनु अथवा विभेदकारी नीति लिनु राज्यको लागि तथा समृद्धि नेपालको लागि दुर्भाग्यपुर्ण निर्णय हो । 

गणितलाई कि त कक्षा आठ सम्म मात्र अनिवार्य त्यस पछि ऐच्छिक रुपमा नै राख्नु पर्छ होइन भने कक्षा वाह्रसम्म नै अनिवार्य गर्नु पर्छ । अनिवार्य गणितको अहिलेको पाठ्यक्रम समय सापेक्ष छैन । व्यवहारिक गणितले दैनिक जीवनयापनको लागि प्रत्यक्ष सहयोग गर्नु पर्दछ । गणितको पाठ्यक्रममा विषयवस्तु आवश्यकता भन्दा बढी राखिएको छ । 

प्रश्न निर्माणमा कस्तो व्यक्तिको छनोट गरिन्छ कुन्नि ! चौध, पन्ध्र वर्षका कलिला बालकहरुले दिने परीक्षामा स्नातक वा स्नाकोत्तर उत्तीर्णको तहको प्रश्नपत्र निर्माण गर्दछ । कतिपय परीक्षामा सोधेका प्रश्नहरुको उत्तर विषय शिक्षकलाई कठिन लाग्ने हुन्छ अनि विद्यार्थीले के लेख्छन् ! 

खै , .बालमनोविज्ञान ? प्रश्नपत्र निर्माणका चरणहरु कता गए ? 

गणितलाई अनिवार्य र ऐच्छिक रुपमा विभाजन गरी पठन पाठन गर्नु पर्छ । अनिवार्य गणितमा दैनिक जीवनसंग सम्बन्ध राख्ने समस्याहरु मात्र हुनु पर्छ भने ऐच्छिक गणितमा गणितका मुख्य विषयवस्तु समावेश गरिनुपर्छ जो भोली गणित पेशाा रुपमा अपनाउन सक्दछ । प्रयोगात्मक कुराले मात्र होइन व्यवहारमा अनिवार्य लागु हुनु पर्दछ । विषयगत शिक्षक दरबन्दि अनिवार्य रुपमा मिलान गरिएको हुनु पर्छ र छैन भने थप गर्नु पर्छ ।

गणितलाई कक्षा आठ सम्म मात्र अनिवार्य बनाई कक्षा नौबाट कक्षा एघारको तरिकाले विषय छनौट गरी एकल पथबाट अघि बढाउनु पर्यो , होइन भने कक्षा ९ देखि वाह्रसम्म नै गणितलाई अनिवार्य पठन पाठन गराउनु पर्ने देखिन्छ । 

गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् भनेर हटाउनु हुदैन । किन अनुत्तीर्ण भए अनुसन्धान गर्नु पर्छ । गणितलाई रोचक र व्यवहारमुखी बनाउनको लागि देशव्यापी खोज अनुसन्धान गर्नु पर्छ, समस्याहरुको पहिचान गरी निराकरण गर्नु पर्छ । 

तसर्थ जो विद्यार्थी गणितमा कमजोर छ उसलाई दैनिक जीवनसंग सम्बन्धित गाणितीय ज्ञान मात्र प्रदान गर्ने र जो विद्यार्थी सक्षम छ उसलाई गणितीय विषयवस्तु सम्बन्धि धेरै ज्ञान सिप दिने गर्नु पर्छ । 

विगत २५ बर्ष देखि शिक्षण पेशामा आवद्ध राई, श्री गोकुण्डेश्वर बालमन्दिर मावि, धनकुटाका गणित शिक्षक हुन् । 

 

प्रतिक्रिया