काठमाडौं - हालै शिक्षा मन्त्रालयले गरेको सरुवा प्रति असहमति जनाउँदै उपसचिव ईश्वरी प्रसाद पोखरेलले उक्त निर्णय अस्विकारको घोषणा गरेका छन् । नेपाल सरकारले विधि, प्रक्रिया र मापदण्ड अनुसार उपसचिव हैसियतको जिम्मेवारी जेष्ठता, पदीय योग्यता र कार्य क्षमतामा कुनै आँच नपुग्ने गरी खटाउनु पर्नेमा त्यसो नगरिएको भन्दै उनले उक्त घोषणा गरका हुन् । स्थान विशेष प्रतिको कुनै आग्रह र विमति नभएको जनाउँदै उनले कर्मचारी खटनपटन र छनौटका आधार, विधि, प्रक्रिया र कार्य शैली प्रति गम्भीर असहमति रहेको जनाएका छन् ।
'शिक्षा उपसचिवको पदीय हैसियत अनुरूपको मान, शाख, जिम्मेवारी र जवाफदेहिता के हो ?' प्रश्न गर्दै उनले सामाजिक सञ्जाल मार्फत् घोषणा गरेका छन्, 'स्थानीय तहको प्रशासकीय प्रमुख जेष्ठ र अनुभवी नै हुनु पदर्छ भन्ने भएकाले, यो प्रावधान लागू नभए सम्म आफूले शिक्षा मन्त्रालयको उक्त निर्णय अस्वीकारेको सार्वजनिक गर्न चाहन्छु ।'
उक्त सरुवामा पोखरेललाई नवलपुरको देवचुली नगरपालिकामा खटाईएको छ । साविकको शैक्षिक जनशक्ति विकास केन्द्रमा कार्यरत पोखरेल सरुवा अघि तीन निकाय गाभेर बनाईएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा फाजिलमा थिए ।
'जहाँ खटाए पनि व्यक्तिगत रूपमा आँफूलाई कुनै आपत्ति नहुने' उल्लेख गर्दै उनले भनेका छन् 'नेपालमा बनेका केन्द्र, प्रदेश र स्थानीय तह गरी ३ किसिमका ७६१ वटै सरकार मातहतको जुन सुकै जिम्मेवारी बहन गर्न तयार छु ।'
स्थानीय तहका २५ हजार भन्दा बढी जनसंख्या भएका नगरपालिकामा शिक्षा सेवाका उपसचिवलाई कुनै विधि, प्रक्रिया र मापदण्ड विना टाँस्ने र खटाउने निर्णयलाई जीवन भरको पेसागत पद सोपान र पदीय मर्यादाको शाख र मानलाई तिलाञ्जली दिएको उनको निष्कर्ष छ ।
यस अघि उनले विहीबार सरुवाको मापदण्ड स्पष्ट पार्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका थिए ।
देश संघीयतामा गए सँगै विद्यालय तहको शिक्षाका अधिकार स्थानीय सरकार मातहत हुँदा पनि कर्मचारी खटन पटन गर्न नसकेको भन्दै शिक्षा मन्त्रालयको आलोचना हुँदै आएको थियो । स्थानीय तहमा खटिने कर्मचारीको वरिष्ठ र कनिष्ठको विवादका कारण पनि कर्मचारी खटनपटनको काम पेचिलो बन्दै आएको थियो ।
दशैं विदा शुरु हुनु अघि सरुवाको निर्णय गरिएको बताए पनि विदा सकिएको पर्सिपल्ट बल्ल उक्त सरुवाको लिष्ट सार्वजनिक गरिएको थियो ।
पढ्नुहोस् : शिक्षाका उपसचिवले पाए मुकाम, सरुवाको निर्णय एक साता पछि बल्ल सार्वजनिक
प्रतिक्रिया