काठमाडौं ९ कात्तिक / वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ । जनकपुर–२१ कुर्थास्थित राजर्षि जनक माविका शिक्षक तथा विद्यार्थीले सडकमै डेस्क–बेन्च र सेतोपाटी राखेर पठनपाठन गरेका हुन् ।
विद्यालय भवन सात महिनाअघि नै भत्काइएको हो । नयाँ पत्रिकाका अनुसार वडाध्यक्ष रामेश्वर महासेठको आदेशमा सडक विस्तारका लागि भवन भत्काएपछि भवन अभाव हुनुका साथै धुलोका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए ।
कक्षा सञ्चालनका लागि सडकको दुवैतर्फ ढाट राखेर अवरोध गरिएको थियो । एकपटकमा दुईवटा कक्षा सञ्चालन गरिएको थियो । सडकमै पढाइएपछि रमित हेर्नेको भिड लागेको थियो ।
विद्यालयलाई हाल २३ कोठा आवश्यक रहेको प्रधानाध्यापक यादवले बताए । उनका अनुसार कक्षाकोठाका लागि १५ तथा शिक्षकहरू, प्रशासन, लेखा, प्रयोगशाला, कम्प्युटर कक्षालगायतका लागि थप आठ कोठा चाहिन्छ । अहिले कक्षाकोठाकै लागि कोठा नपुगेको उनले बताए ।
४२ फिट चौडा सडकलाई विद्यालयलाई समाप्त गर्ने मनसायले ७० फिट बनाइएको प्रधानाध्यापक यादवको दाबी छ । उच्च अदालत जनकपुरबाट विद्यालयको भवन नभत्काउन ‘स्टे अडर’ आए पनि वडाध्यक्ष आफैँ उभिएर भत्काइएको उनले बताए ।
यता वडाध्यक्ष महासेठले भने प्रधानाध्यापक आफैँले भवन भत्काउन लगाएको दाबी गरे । उनले भने, ‘मेरो परिवारले विद्यालयका लागि जग्गादान गरेको छ, म नै कसरी विद्यालय भत्काउँछु ? प्रधानाध्यापक आफैँले ७० हजार रुपैयाँमा टेन्डर लगाएर विद्यालय भत्काएको हो ।’ यादवले विद्यालयका कुनै पनि निर्णयमा आफूसँग समन्वय नगरेको पनि बताए ।
तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताएका छन् । केही दिनअघि सो ठाउँका स्थानीयले वडाध्यक्षविरुद्ध प्रदर्शन गर्दै जनकपुर उपमहानगरपालिका घेराउ पनि गरेका थिए ।
वडाध्यक्ष रामेश्वर महासेठ र प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले एक–अर्कालाई विद्यालय भवन भत्काएको आरोप लगाएका छन् । सडक विस्तारको नाममा वडाध्यक्षले नै विद्यालयको भवन भत्काएको प्रधानाध्यापक यादवको आरोप छ । तर, वडाध्यक्ष महासेठले भने प्रधानाध्यापकले नै ठेक्का दिएर भवन भत्काउन लगाएको दाबी गरेका छन् । तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताए ।
०१७ सालमा सो विद्यालय स्थापना हुँदा वडाध्यक्ष महासेठको परिवारले जग्गादान गरेको थियो । प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवका अनुसार ०२६ सालको नक्सामा विद्यालयको नाममा तीन बिघा १५ कट्ठा पाँच धुर जग्गा थियो । तर, २७ चैत ०२७ मा सो विद्यालयको जग्गा स्थानीय झलु महासेठ, सुवंश महासेठ, मुकुन महासेठ र मणि महासेठको नाममा नामसारी भएको मालपोत कार्यालय धनुषाको तथ्यांक छ । विद्यालयका तत्कालीन प्रधानाध्यापक महासेठ परिवारकै रामवृक्ष महासेठ थिए । वडाध्यक्ष रामेश्वर महासेठले पटक–पटक विद्यालयलाई अन्तै सार्न दबाब दिने गरेको प्रधानाध्यापक यादवको भनाइ छ ।
नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन् ।
प्रतिक्रिया