ललितपुर - विद्यालय तहमा अध्ययनरत शहीद र द्धन्द्ध पीडितका सन्तानलाई उपलब्ध गराईने छात्रवृत्ति यकिन गर्न ललितपुर महानगरपालिकाले प्रमाण सहित विवरण संकलनको प्रकृया शुरु गरेको छ । यस अघि नै छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीका अभिभावकले यो शैक्षिक सत्रमा रकम नपाएको भन्दै सोध खोज गर्न थाले पछि महानगरको शिक्षा शाखाले तथ्याङ्क संकलनको प्रकृया शुरु गरेको हो ।
नाम नामेसी सहितको यकिन विवरण शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा उपलब्ध गराएको आधारमा केन्द्रले आवश्यक बजेट निकासा गर्ने भएकोले उक्त प्रकृया शुरु गरिएको शाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताए । शहीदका छोराछोरीको विवरण कात्तिक २७ भित्र र द्धन्द्ध पीडितको विवरण पुस २७ गते भित्र शाखामा उपलब्ध गराउन श्रोतकेन्द्र सहित विद्यालयहरुलाई जानकारी गराईएको उनले बताए ।
'राज्यले उपलब्ध गराएको सुविधा लक्षित वर्ग सम्म प्रभावकारी रुपमा पुर्याउन हामीले लगत संकलनको प्रकृया शुरु गरेका हौं' क्षेत्रीले भने, 'लक्षित बर्गका कोही पनि नछुटुन् भन्ने ध्येय सहित विवरण संकलन गर्न लागेका हौं, यस अघि पाएका मध्ये कतिपय विद्यार्थी पास आउट भएका पनि हुन सक्छन्, कतिपय नयाँ थपिएका पनि हुन सक्छन्, त्यसैले यकिन गर्न खोजेका हौं ।'
यस अघि जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेका शान्ति समितिको सिफारिसका आधारमा जिल्ला शिक्षा कार्यालय मार्फत प्रदान गरिने छात्रवृत्ति विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएसँगै महानगर अन्र्तगत भएको हो । गत बर्ष २५ जना द्धन्द्ध पिडितलाई मात्रै छात्रबृत्ति उपलब्ध गराईएको तथ्याङ्क फेला परेको क्षेत्रीले बताए ।
'कतिपय यही बर्ष मात्रै अर्को जिल्लाबाट आएर यो तह अन्र्तगतका विद्यालयमा पनि पढेका हुन सक्छन्, राज्यको सुविधा उनीहरुलाई पनि उपलब्ध गराउने जिम्मेवारी हाम्रै हो त्यही भएर हामी गम्भिरता पूर्वक तथ्याङ्क संकलनमा जुटेका छौं' उनले भने ।
उक्त छात्रवृत्ति अन्र्तगत कक्षा १ – ५ पढ्ने शहीदका छोराछोरीले बर्षको १२ हजार, ६–८ का लागि १५ हजार, ९–१० का लागि १८ हजार र ११–१२ का लागि २४ हजार रुपैंया छात्रवृत्ति रकम उपलब्ध गराईदैं आएको छ । यस्तै कक्षा १–५ मा पढ्ने द्धन्द्ध पीडितका सन्तानका लागि बर्षको १० हजार, ६–८ का लागि १२ हजार, ९–१० का लागि १४ हजार र ११–१२ का लागि १६ हजार रुपैंया छात्रवृत्ति उपलब्ध गराईन्छ ।
प्रतिक्रिया