काठमाडौं २२ असोज / एमबीबीएस अध्ययनरत विद्यार्थीबाट कलेज सञ्चालकले मनपरी शुल्क लिएको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। अन्नपूर्ण पोष्टका अनुसार, सरकारले निर्धारण गरेको शुल्क संरचना अवज्ञा गर्दै सञ्चालकले आफूखुसी शुल्क लिएको गुनासो बढेपछि यसबारे अध्ययन गर्न आइतबारको बैठकमा प्रधानमन्त्रीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्।
सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ मात्र शुल्क लिन कलेज सञ्चालकलाई निर्देशन दिएको थियो। तर उक्त निर्देशनविपरीत ६० लाख रुपैयाँसम्म कलेज सञ्चालकले लिने गरेको गुनासो आएको थियो।
‘यस विषयमा मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो। सम्बन्धित विश्वविद्यालयका डिनसँग छलफल गरेर सत्य पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउँछौं’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने। मन्त्रिपरिषद् बैठकको निर्देशनअनुसार शिक्षामन्त्रीले आइतबार साँझ नै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवालसँग छलफल गरेका थिए। ‘शिक्षामन्त्रीज्यूसँग सामान्य कुराकानी भयो’, अग्रवालले भने, ‘सोमबार पदाधिकारीसँग पनि बसेर छलफल गर्ने कुरा भएको छ।’
त्रिविबाट सबन्धन लिएर सञ्चालित मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमा जानकारी गराउन भनिएको अग्रवालले बताए। ‘हामीसँग लिखित उजुरी त आएको छैन। तर मौखिक गुनासो धेरै आएको छ’, उनले भने, ‘तर शुल्क बढाएर लिएको प्रमाण केही छैन। कसैले उजुरी दिन्छ भने हामी कलेजलाई कारबाही गर्छौं।’
अन्नपूर्ण पोष्टमा प्रकाशति खबर
प्रतिक्रिया