Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

अभिभावकको पहलमा स्कुल खाजा

आइतबार, २१ असोज २०७५

काठमाडौं २१ असोज / सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।

‘करिब ५० प्रतिशत श्रमिकका बालबालिका अध्ययनरत छन्,’ प्रधानाध्यापक रवीन्द्रकुमार थापाले भने, ‘विद्यालयमा बालबालिकाको उपस्थिति खाजासँग जोडिएको छ ।’ 

विद्यालयमा बालबालिकाको उपस्थितिलाई निरन्तरता दिन पूर्वप्राथमिक (ईसीडी) मा खाजा खुवाउने व्यवस्था गरेको जनाएको छ । ‘विद्यालयमा बालबालिकालाई टिकाउन शिक्षकको तलब कटाएर खाजाको व्यवस्था गर्दै आएका छौं,’ उनले भने। 

गणेश माविले ईसीडीमा अध्ययरत ६८ बालबालिकालाई दिनहुँ दुईपल्ट खाजा खुवाउने व्यवस्था मिलाएको छ । ‘प्री प्राइमरी खाजा सेडुल’ मा दिउँसो १२ र २ बजे छुट्टाछुट्टै परिकार राखेको छ । बालबालिकालाई १२ बजे पाउरोटी, बिस्कुट र दूध खुवाउने गरेको छ भने २ बजे भात/तरकारी, जाउलो, खीर, चिउरा/तरकारी लगायतको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

ज्याला मजदुरी गर्ने अभिभावकसँग बालबालिकालाई खाजा बनाउने समय नहुने, खाजा खर्च बचाउन र बालबालिकालाई पोषणयुक्त खाना खुवाउन विद्यालयले पूर्वप्राविका विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था गरेको प्रधानाध्यापक थापाले बताए । त्यस्तै, जोरपाटी माविका शिक्षकहरूले करिब दस वर्षअघि तलब काटेर विद्यार्थीलाई खाजा खुवाउन सुरु गरे । 

स्थानीय तहले विद्यालय व्यवस्थापनको नेतृत्व थालेपछि भने शिक्षकले मात्र नभई अभिभावकको थोरै सहयोगमा ईसीडीका बालबालिकालाई खाजा खुवाउने व्यवस्था मिलाएको प्रधानाध्यापक हरिप्रसाद ढकालले बताए । ‘ईसीडीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई दैनिक खाजाको व्यवस्था मिलाएको छ,’ उनले भने। खाजाका लागि विद्यालयको आन्तरिक स्रोतबाट कर्मचारी नियुक्त गरेको समेत जनाएको छ । दिवा खाजाले बालबालिकाको सिकाइमा प्रभाव परेको उनी बताउँछन् ।
न्यून आयस्रोत भएका अभिभावकको बालबालिकालाई विद्यालयमा टिकाउन खाजा अनिवार्य रहेको प्रधानाध्यापक ढकाल बताउँछन् । सामुदायिक विद्यालयमा मौसमी विद्यार्थी धेरै भएको शिक्षकहरू बताउँछन् । ‘इँटाभट्टा सञ्चालनको मौसममा विद्यार्थीको संख्या वृद्धि हुन्छ,’ उनले भने, ‘इँटाभट्टा उत्पादनको समय सकिनेबित्तिकै अभिभावकसँगै बालबालिका उपत्यका बाहिर जान्छन् ।’

भक्तपुर नगरपालिका तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालय जिल्लाको उदाहरणीय विद्यालयका रूपमा परिचित छ । मेधामा ५७७ विद्यार्थी अध्ययनरत छन् । ‘संस्थागत विद्यालय सँगसँगै जान खाजा, शिक्षाको गुणस्तरलाई महत्त्व दिएका छौं,’ प्रधानाध्यापक गंगाधर हाडाले भने, ‘पूर्वप्राविमा बालबालिका तान्न खाजा नै महत्त्वपूर्ण साधन बन्यो, सानो बिरुवा राम्रो भयो भने मात्र राम्रो रूख बन्छ ।’

नदिए अनियमित

काठमाडौं (कास)– काठमाडौं महानगरको ३२ वडा कार्यालयसँगैको मनोहरा नदीछेउको सुकुम्बासी बस्तीका अधिकांश बालबालिका नजिकैको सर्वेश्वर आधारभूत विद्यालयमा पढ्छन् । अढाई सय विद्यार्थी रहेका विद्यालयमा दैनिक उपस्थिति भने २ सय पनि हुँदैन । विद्यार्थी अनियमित हुने समस्याबारे प्रधानाध्यापक शान्ता पराजुली भन्छिन्, ‘धेरैजसो ज्यामी काम गर्छन् । ‘कोहीचाहिँ आमाबुवा दुवै काममा गएकाले दिनभरि स्कुलमै बिताउँछन्,’ पराजुलीले भनिन् । 

आर्थिक अवस्था कमजोर भएका परिवारकी सदस्य हुन् ११ वर्षीय नैशा थापामगर । उनी कक्षा ४ की प्रथम विद्यार्थी हुन् । यही वर्षातमा निकै पुरानो उनको घर भत्कियो । अहिले छिमेकमा टहरामा बस्छिन् । बुवा मजदुरी गर्छन्, आमा भने छैनन् । बुवाले कमाएर कहिले घरमा दिन्छन्, कहिले रक्सीमै उडाउँछन् । ‘धन्न कापी/कलम भने ल्याउँछिन्,’ पराजुली भन्छिन्, ‘पढाइमा निकै अब्बल छिन् । 

तर घरको अवस्थाले जहिले पनि पढाइ छोड्न सक्ने अवस्था छ ।’ धेरै बालबालिका खाना नखाई आउँछन्। विद्यालयका सहप्रधानाध्यापक पराजुली भन्छन्, ‘धेरै पहिले उपत्यकाका सरकारी विद्यालयका विद्यार्थीलाई चना, दूध आदि खाजा दिने चलन थियो । त्यसपछि बाहिरी जिल्लामा थियो । अब त्यो पनि हटाइयो ।’ तर त्यसको आवश्यकता अझै रहेको उनको भनाइ छ ।

कान्तिपुरबाट 

प्रतिक्रिया