काठमाडौं - 'आधारभूत सक्षमताहरुको प्राप्तिमा शिक्षक सदा प्रयत्नरत रहनुपर्छ । आफूलाई पेसामा अब्बल सावित गर्न र विद्यालयको शैक्षिक गुणस्तरलाई उच्चतम् विन्दुमा पु¥याउन अहिलेको कार्य संस्कृतिमा नै रुपान्तरणको जरुरी छ ।'
विश्व शिक्षक दिवसका अवसरमा शिक्षकहरुको छाता संगठनद्धारा दुई दिन अघि आयोजित कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्धारा ब्यक्त यी धारणासँगै प्रश्न उब्जेको छ के नेपालका शिक्षक रुपान्तरणका लागि तयार छन् ?
त्यसो त समयक्रम सँगै सिकाइका स्वरुप मात्र फेरीएन सिक्ने र सिकाउनेहरूको सम्बन्धमा पनि फेरबदल आएको छ । सिकाइका विषयवस्तु र सिकाइका स्वरुप अनि तरिकाहरुमा धेरै परिवर्तन भइसकेको छ । सिकारु सिकाउने भन्दा अगाडि हिँडिसकेको अवस्था छ । तथापि शिक्षकको खाँचो त अझै छदैँछ । शिक्षकको भूमिका सकिने त कुरै छैन, बदलिने संघारमा उभिएको भने पक्कै हो ।
विडम्बना पछिल्ला दिनहरुमा नेपाली शिक्षकको भूमिका माथि भने धेरै प्रश्न उठिरहेको छ ।
अक्टोबर ५ अर्थात् शुक्रबार परेको यस बर्षको विश्व शिक्षक दिवसका दिन हामी पनि यही प्रश्नमा केन्द्रित भएर चर्चा गर्दै छौं । निर्मम समिक्षा विना सुधार सम्भव छैन भन्ने आधारमा टेकेर यो विषयमा विश्लेषण गरिएको छ ।
ज्ञान सिकाउने कुरामा शिक्षक कमजोर भएको तथ्य विभिन्न परीक्षाका नतिजाबाटै पुष्टि भएको छ । व्यवहार सिकाउने कुरामा पनि शिक्षकको भूमिका कमजोर हुँदै गएको छ । सोही कमजोरीले गर्दा शिक्षक प्रतिको श्रद्धा, सम्मान घट्दै गएको छ । विद्यार्थीमा न्यूनतम सिकाइ उपलब्धि हासिल नहुँदा शिक्षकप्रतिको आलोचना बढ्दै गएको छ । खासगरी सार्वजनिक विद्यालयमा सिकाइको अवस्था कमजोर छ । व्यवहार सिकाउने पद्धति त विकास हुन सकेकै छैन । झण्डै एक प्रतिशतमात्र शिक्षकहरू होलान्, जसले ज्ञान र व्यवहार दुवै सिकाउँछन्, त्यसैको प्रतिफल सिकारुको श्रद्धा र मायामा रमाएरै जिन्दगी विताईरहेका छन् ।
नेपालमा शिक्षक प्रतिको श्रद्धा एकै दिन वा रातबाटै खस्केको हैन । यस्तो किन भयो ? राज्यका नीति, राजनीतिक प्रणाली र शिक्षकका पेसागत संघ संगठनका भूमिकाले पनि भागशान्ति जिम्मेवारी त लिनु पर्छ, तर स्मरणीय कुरा के हो भने यसको मुख्य हिस्सा शिक्षक स्वयंमको भागमा पर्छ । अर्थात् शिक्षक आफु सम्मानित हुन नसक्नुका पछाडि उ स्वयंको कारण प्रधान हो ।
'शिक्षाको गुणस्तर शिक्षकको गुणस्तर भन्दा माथि हुन सक्दैन' मन्त्री पोखरेलले 'उक्त कार्यक्रममा भनेका थिए, बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षक आफू योग्य, दक्ष, सक्षम हुनु को साथै आफ्नो क्षमतालाई वास्तविक कार्य थलोमा उतार्न सक्नु पर्छ ।'
तर, राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्ने राजनीतिक दल र सरकार कहिल्यै पनि शिक्षा र यसका महत्वपूर्ण अवयव शिक्षकको सवालमा जिम्मेवार भएनन् । तिनै राजनीतिक दलको दौराको फेरो समाउँदैमा गर्व गर्ने शिक्षकको संख्या बढ्दै गयो । दलहरूले आफ्ना कार्यकर्तालाई शिक्षक बनाउन पाइने अवस्थामा यो पेशालाई कार्यकर्ता भर्तीकेन्द्र बनाइरहे । कार्यकर्ता भएकैले शिक्षक भए पछि उसले पढाउन भन्दा राजनीति गर्न रुचि गर्नु स्वभाविक भयो । यसको सिधा प्रभाव शिक्षण र गुणस्तरमा पर्यो । कक्षा कोठाको शिक्षण सिकाइ र विद्यार्थीको सिकाइमा पर्यो ।
दलको दौरा समाएर विद्यार्थीको सिकाइलाई प्राथमिकता नदिनेहरु शिक्षकलाई सम्मान भएन, राज्यले दोस्रो दर्जाको व्यवहार गर्यो भनेर कोकोहोलो मच्चाईरहेका भेटिन्छन् । उनीहरुको हल्ला खल्लामा ज्ञान र व्यवहार सिकाउन ब्यस्त, आफ्नो पेशागत इमान्दारीता निभाइरहेकाहरु हराईरहेका छन् । उनीहरूलाई पनि समाज र विद्यार्थीको बहुसंख्याले उही दलको दौरा समाएर होहल्ला साथ दगुरीरहेकाहरुकै रुपमा ब्याख्या गरिरहेको छ । भलै उनीहरु निष्ठा कायम राखेको खुसी मनमौजी अनुभुत गरिरहेका किन नहुन्, उनीहरुलाई न पुरस्कारको खाँचो छ, न राज्यको सम्मान पत्र !
त्यसो त शिक्षक र दलका प्रसंगका पछिल्तिर केही गौरवशाली ईतिहास सुरक्षित छ । राजनितक अधिकारका लागि शिक्षकको भूमिका नेपालको शासन प्रणाली परिवर्तनमा केन्द्र विन्दुमा छ । आउँदा हरेक युगको पुस्ताले उनीहरुको त्यो भूमिकाको स्मरण शान्दार तरिकाले गर्ने छ ।
तर समय बदलिएको छ, कुनै बेला समाजमा राजनीतिक चेत भर्न आवश्यक रहेको भूमिका राजनीतिक अधिकार प्राप्त भएसँगै बदल्नु पर्नेमा त्यो गर्न नसक्दा शिक्षकले आफ्नो तस्बिरमा आफैंले 'ध्वाँसो' पोतिरहेको छ ।
शिक्षकले आफूलाई विद्यार्थीको सिकाइ सुधार, सिकाइ वातावरण निर्माण, सिकाइलाई गुणस्तरीय बनाउनका लागि आन्दोलन गर्नु पर्ने समय हो यो । तर, त्यस्तो हुन सकेन ।
विगतको अस्थिर राजनीतिक ब्यवस्थाको फाईदा उठाउँदै हरेक बर्ष जस्तो बदलिएको सत्ताको गठजोडमा हरेक दलले आआफ्ना कार्यकर्तालाई आआफ्ना तरिकाले शिक्षक बनाउने क्रम चरम विन्दुमा पुर्याए । बर्षौ सम्म शिक्षकलाई ढोकाबाट नभई झ्यालबाट छिराएरै राजनीतिक दलले शिक्षामा सुधारको कल्पना गरिरहे । अस्थायी शिक्षक समस्या शिक्षा क्षेत्रको क्यान्सरको रुपमा परिचित बन्यो । शिक्षकका पेशागत संघ सङ्गठनहरूले त्यसैमा राजनीति गरे, समाधानका लागि रचनात्मक भएनन्, सधैँ प्रतिपक्ष बनिरहे । सिकाइका कुरा कसैले गर्यो भने सुन्नै चाहेनन् । अभिभावकलाई, विद्यार्थीलाई, राज्यलाई दोष दिएर चोखो बन्ने प्रयास गरिरहे ।
सामुदायिक विद्यालयको कमजोर नतिजाका लागि हामी जिम्मेवार होइनौ राज्यको शिक्षा नीति हो भन्ने झुटो बोल्दा समेत उनीहरुको मन पोलेन !
स्विकार्नै पर्ने तथ्य के हो भने, सामुदायिक विद्यालयको सिकाइ उपलब्धि कमजोर छ । पठनपाठनको अवस्था कमजोर छ र वार्षिक परीक्षाहरूमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । तर हाम्रै देशमा सबैभन्दा लामो समयदेखि चलिरहेको पेशाकर्मीहरूको आन्दोलनमा शिक्षक आन्दोलन पर्छ । शिक्षक आन्दोलन निरन्तर चलिरहेको छ कुनै न कुनै रूपमा । यसको अन्त्य कहिले हुन्छ भनेर भनिहाल्न सकिने अवस्था छैन ।
राज्यको नीति ठिक नभए कस्तो नीति चाहिएको हो ? मुर्त माग गरेर विकल्प दिएको अवस्था छैन । तलव भत्ता, तालिम र भत्ता, अनुगमन निरीक्षण, पुरस्कार, प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, परीक्षा प्रणाली, पाठ्यक्रम शिक्षा नीति सबैमा समस्या भएर सामुदायिक विद्यालयको सिकाइ कमजोर भएको हो, हामी त सारै राम्रो गरेका छौँ भन्ने शिक्षकको आवाज नै चर्को सुनिन्छ । समस्याका यती धेरै कारणको फेहरिस्त बनाउन सक्षम शिक्षकहरू त्यसको समाधानका लागि पहल गर्न तयार भएको देखिदैन ।
परीक्षा प्रणाली ठिक छैन भने कून प्रणाली अपनाउँदा राम्रो हुन्छ ?
तलब भत्ता थोरै भएको हो भने कति दिए पुग्छ वा पर्याप्त हुन्छ ?
कस्तो पाठ्यक्रम चाहिएको हो ?
विकल्प प्रस्तुत नगरी गरिने यस्ता कुराले आफ्नो कमजोरी लुकाउने बाहेक अरु केही गर्दैन, हाम्रा शिक्षक संगठनहरु त्यही बाटोमा यात्रारत छन् ।
भवन, फर्निचर, पुस्तकालय, छात्रा शौचालय, समयमा पाठ्यपुस्तक, प्रयोगशाला चाहियो, नियमित शिक्षक आयोग खुल्नुपर्यो, जथाभावी विद्यालय अनुमति रोक्नु पर्यो , CAS ले राम्रो गरेन, हटाइदेउ सिकाउने ग्यारेण्टी हामी लिन्छौँ भन्ने कुरा शिक्षकका मुखबाट विरलै सुनिन्छ ।
कक्षा छोड्ने र दोहोर्याउने दर घटाउन उदार कक्षोन्नति हो कि, अरु केहि हो ? चाहेको के हो ? उपाय के हो ? हुने भए इमान्दारीपूर्वक कार्यान्वयन गर्न लाग्नु परयो । नभए हटाउनका आधार दिन सक्नु पर्यो । तर अमूर्त कुराबाट माथि भने उठ्नै प्यो ।
तालिम ठिक भएन, कस्तो तालिम चाहिएको हो ?
कस्तो बढुवा प्रणाली चाहिएको हो ?
तलब भत्ता, विमा, सञ्चयकोषका सुविधा त सरकारी कर्मचारी सबैको बराबर छ ।
पेशाको चरित्र र आवश्यकता अनुसार कसैलै भत्ता बढी खालान् ? कसैले रासन भत्ता पाउँछन् । कसैले हप्तामा एक दिन 'मासु' पनि पाउँछन् । यसका छुट्टै पाटा छन् । शिक्षकका सुविधा के के हुन्छन् भन्ने थाह पाएरै पेशामा आएको हैन र ? अनि सधैँ यो भएन र त्यो भएन भनेर आन्दोलन कहिलेसम्म गरिरहने ? सिकाइका लागि मलाई यो चाहिन्छ भनेर शिक्षकले माग्ने दिन कहिले आउँछ ? कुनै राजनीतिक दललाई प्रश्न गर्ने दिन कहिले आउँछ ?
सबै शिक्षक कमजोर छन्, सबै दलकै दौरा समातेर कुदेका छन्, सबै सिकाइमा ध्यान दिन्नन् भन्ने पटक्कै हैन, तर बहुसंख्याको अवस्था यही हो ।
सबैभन्दा कमजोरले शिक्षा विषय पढ्ने अनि शिक्षा विषय पढ्नेहरू मात्र शिक्षक हुने राज्यको यो नीतिगत त्रुटी नसच्चाई सामुदायिक शिक्षा सुधार स्वैरकल्पना भन्दा बढी केही हुन सक्दैन ।
शिक्षा मन्त्री पोखरेलले सोही कार्यक्रममा शिक्षा शास्त्रमा अब्बल प्रतिभाहरुलाई आकर्षण गर्न नसकिएको स्विकार गर्दै क्याम्पसमा पनि पठनपाठनको प्रक्रियामा सुधार हुन नसकेको पनि बताए ।
'यथावत रुपमा न त शिक्षा शास्त्र संकायको उत्पादन अघि बढाउन सकिन्छ न त विद्यमान तल्ला ग्रेड हासिल गरेकाले शिक्षा शास्त्र अध्ययन गर्न दिने व्यवस्थाको निरन्तरता दिन सकिन्छ' मन्त्री पोखरेलले भनेका छन् 'शिक्षक बन्नका लागि सबै विषयका अब्बल ठहरिएकाहरुलाई शिक्षण पेसामा आकर्षित गर्ने गरी नीतिगत रुपान्तरण नै जरुरी भैसकेको छ ।'
पक्कै पनि गुणस्तरीय शिक्षकको सुनिश्चितता नगरी गुणस्तरीय शिक्षा फगत कोरा कल्पना हो । शिक्षक तयारी प्रणाली परिवर्तन यसको पहिलो शर्त हो । एउटा कक्षामा ४ सय जना विद्यार्थी राखेर शिक्षण तालिम दिने र त्यो तालिम पनि सबैभन्दा तल्लो स्तरको सिकाइ हासिल गरेका विद्यार्थीका लागि दिने व्यवस्थाले गुणस्तरीय शिक्षक उत्पादन गर्न सक्दैन ।
शिक्षकहरु सम्मानीत र श्रद्धेय हुन पेशागत नैतिकता र आचरण मात्र होइन ज्ञान र व्यवहार सिकाउन निपुण हुनु आवश्यक छ । हरेक व्यक्तिका फरक फरक क्षमता हुन्छन्, सबै व्यक्ति शिक्षक हुने गुण लिएर जन्मेका हुँदैनन्, जो शिक्षक हुने गुणले युक्त छन् त्यस्ता व्यक्तिलाई मात्र शिक्षक बनाउनु आवश्यक छ । ब्यक्तिको यो गुण शिक्षक तयारी, शिक्षक छनौट, पेशागत उत्तरदायित्व, जवाफदेहिता र उत्प्रेरणाका पक्षमा सुधार गर्ने प्रणाली विकास गर्दा पत्ता लाग्छ । यो प्रणाली विकास नगरी गरिने अरु सबै सुधारका कुरा भने गफ मात्रै हुन्, चाहे शिक्षा मन्त्रीको होस् वा दलका दौरा समात्नमै गर्व गर्ने शिक्षक नेताको नै किन नहोस् !
प्रतिक्रिया